d'gf s'Fj/
काठमाडौं, १८ जेठ – कम्पनी रजिस्ट्रार कार्यालयले अनिवार्य गरेपछि नेपाल स्टक एक्सचेन्ज (नेप्से) को सूचीबाट हटेका तथा सूचीकृत नभएका पब्लिक कम्पनीहरू नेप्सेको ओटीसी (ओभर दि काउन्टर) बजारमा धमाधम दर्ता हुन थालेका छन् । करिब दुई महिनाको अवधिमा बजारमा दर्ता हुन आउने पब्लिक कम्पनीको संख्या १५ पुगेको छ । कम्पनीहरूको दर्ता हुने क्रम बढेसँगै राजस्व संकलन पनि बढ्न थालेको छ ।
दर्ता भएका कम्पनीमध्ये सातवटा कम्पनीको मात्र कारोबार भएको छ । कारोबार भएका कम्पनीमध्ये मारुती सिमेन्टको ६ लाख ९३ हजार २ सय कित्ता सेयर, नेपाल हाइड्रो डेभलपरको ६० हजार, काठमाडौं फरेस्टी कलेजको १८५, सियान सिट सर्भिस सेन्टरको १० हजार, ग्रोमोर मर्चेन्ट बैंकको ११५, हुलास वायरको १ हजार र युनाइटेड मोदीको ६ लाख ५१ हजार ७१३ कित्ता सेयर खरिद बिक्री भइसकेकोे छ ।
त्यस्तै, आठ कम्पनी भने ओसीटीमा दर्ता मात्रै भएका छन् । ग्लोबल आईएमई क्यापिटल, हाथवे इन्भेस्टमेन्ट नेपाल, आईएमई लिमिटेड, रेशुङ्गा हाइड्रोपावर डेभलपमेन्ट कम्पनी, हुलास स्टिल इन्डस्टिज, हुलास मेटल क्राफ्ट, सीबीआईएल क्यापिटल र राँधी जलविद्युत् कम्पनी ओटीसी बजारमा दर्ता भए पनि कारोबार भने भएको छैन । कारोबार भएका सात कम्पनीबाट २७ लाख २ हजार ३७ रुपैयाँ राजस्व संकलन भएको बजारका सहायक प्रबन्धक नारायणप्रसाद तिमिल्सिनाले जानकारी दिए । जसमध्ये २४ हजार ३० रुपैयाँ नेपाल धितोपत्र बोर्डको कमिसन, ९ लाख ८९ हजार २५५ पुँजीगत लाभकर र १६ लाख ८८ हजार ६५१ रुपैयाँ नेप्सेको कमिसन छ ।
ओटीसी बजारमा कारोबार हुने कम्पनीहरूले ०.०५ प्रतिशत सेबोनलाई कमिसन बुझाउनुपर्छ भने १ देखि २ प्रतिशतसम्म नेपाल स्टक एक्सचेन्जलाई बुझाउनुपर्छ । त्यस्तै, पुँजीगत लाभ भएको अवस्थमा व्यक्तिगत भएको १० र संस्थागत भए १५ प्रतिशत कर बुझाउनुपर्छ ।
ओटीसी बजार सञ्चालन विनियमावली २०६५ अनुसार ओटीसी बजारमा धितोपत्र बजारले सूचीकरण खारेज गरेका कम्पनीका धितोपत्रहरू, धितोपत्र बजारको सूचीकरणका लागि आवश्यक सर्तहरू पूरा गर्न नसकी सूचीकरण हुन नसकेका कम्पनीका धितोपत्रहरू कारोबार गर्न सकिन्छ । तर, ओटीसी बजारमा कारोबार गराउने अभिप्रायले कुनै पनि सूचीकृत कम्पनीको सूचीकरण खारेज नगरिनेसमेत विनियमावलीमा उल्लेख छ ।
यसअघि यस्तो कारोबार कम्पनी रजिष्ट्रार कार्यालयमार्फत नै हुँदै आएको थियो । तर, गत माघमा कार्यालयले यस्ता कम्पनीहरूलाई अनिवार्य रूपमा ओटीसी बजारमा दर्ता हुन निर्देशन दिएको थियो । यस लगत्तै बजारमा कम्पनीहरू दर्ता हुने क्रम बढ्दै गएको हो ।
- See more at: http://np.karobardaily.com/2016/05/86894/#sthash.f26r6Ykz.dpuf
No comments:
Post a Comment