Thursday, May 19, 2016

जीवन बिमा कम्पनीको बिमाशुल्क आम्दानी ३६% बढ्यो

मुना कुँवर 
काठमाडौं, ६ जेठ 
चालू आर्थिक वर्ष ०७२÷७३ को तेस्रो त्रैमासिक अवधिमा जीवन बिमा कम्पनीहरूको बिमा शुल्क आम्दानी ३६ प्रतिशत बढेको छ । हालसम्म प्रकाशित वित्तीय विवरणअनुसार सात जीवन बिमा कम्पनीले चैतसम्ममा ५६ अर्ब ५६ करोड रुपैयाँ बिमा शुल्क आम्दानी गरेका छन् । कम्पनीहरूले गत आवको सोही अवधिमा ४१ अर्ब ४३ करोड रुपैयाँ आम्दानी गरेको थिए । गत वर्षको भूकम्पले मुलुकको अन्य क्षेत्रमा नकारात्मक असर पारे पनि बिमा व्यवसायमा भने सकारात्मक प्रभाव पारेको छ । फलस्वरूप चालू आवको पहिलो नौ महिनामा बिमा कम्पनीहरूले ३२ लाख २१ हजार ८७ बिमालेख जारी गरेका छन् । यो संख्या गत वर्षको सोही अवधिको तुलनामा २१ प्रतिशत बढी हो । गत वर्षको सोही अवधिमा बिमा कम्पनीहरूले २६ लाख ६० हजार ४७३ बिमालेख जारी गरेका थिए । 
भूकम्पपछि बिमाप्रति आकर्षण बढ्न थालेको छ । भूकम्पीय दृष्टिले नेपाल अझै पनि जोखिमयुक्त भएकाले बिमाको महत्व बढ्दै गएकोे गुराँस लाइफ इन्स्योरेन्सका नायब महाप्रबन्धक नारायणकुमार भट्टराईले बताए । बिमा कम्पनीहरू बजारमा आक्रामक तरिकाले उत्रिएका छन् । यसले पनि बिमा व्यवसाय बढ्नमा थप टेवा पुगेको उनले बताए । “तर भारतले लगाएको अघोषित नाकाबन्दीले बिमा व्यवसायको वृद्धि केही खुम्चिएको छ,” भट्टराईले भने । बिमा कम्पनीहरूको बिमा शुल्कमात्रै वृद्धि भएको छैन, दाबी भुक्तानी हुने क्रम पनि बढ्दै गएको छ । कम्पनीहरूको वित्तीय विवरणअनुसार नौ महिनाको अवधिमा कम्पनीहरूको दाबी भुक्तानी ३३ प्रतिशत बढेको छ । चालू आवको चैतसम्ममा सात बिमा कम्पनीले २ अर्ब ८३ करोड रुपैयाँ दाबी भुक्तानी गरेका छन् । गत वर्षको सोही अवधिमा यस्तो रकम २ अर्ब ११ करोड रुपैयाँ थियो । वित्तीय विवरणअनुसार गत आवको तुलनामा चालू आवको नौ महिनामा गुराँस लाइफ इन्स्योरेन्स कम्पनीको बिमा शुल्क आम्दानीको वृद्धिदर सबैभन्दा धेरै छ । सो अवधिमा कम्पनीले २ अर्ब ७३ करोड रुपैयाँ बिमा शुल्क आम्दानी गरेको छ, जुन गत आवको सोही अवधिको तुलनामा ४५ प्रतिशत बढी हो । त्यस्तै, चैतसम्ममा सूर्या लाइफ इन्स्योरेन्सको बिमालेख जारी वृद्धिदर सबैभन्दा धेरै छ । - See more at: http://np.karobardaily.com/2016/05/85533/#sthash.UpEp1xHA.dpuf

No comments:

Post a Comment