काठमाडौं, २९ वैशाख – नेपाल स्टक एक्चेन्ज (नेप्से)मा सूचीकृत नभएका कम्पनीहरूले कारोबार गर्ने ओभर दी काउन्टर (ओटीसी बजार) मा सेयर खरिद बिक्री गर्ने कम्पनीको संख्या बढ्दै गएको छ । एक महिनाको अवधिमा बजारमा सात कम्पनीले सेयर कारोबार गरिसकेको र अन्य कम्पनी पनि कारोबारका लागि पाइपलाइनमा रहेको ओटीसी बजारका सहायक प्रबन्धक नारायणप्रसाद तिमिल्सिनाले जानकारी दिए ।
ओटीसी बजारमा हालसम्म मारुती सिमेन्ट कम्पनी, नेपाल हाइड्रो डेभलभर कम्पनी, काठमाडौं फरेस्टी कलेज, ग्रोमोर मर्चेन्ट बैंकर, हुलास वायर इन्डस्ट्रिज, युनाइटेड मोदी हाइड्रोपावर र सियान सिड सर्भिस कम्पनीको कारोबार भएको छ । कारोबार भएका उक्त कम्पनीबाट नेपाल स्टक एक्सचेन्जले कमिसन र करसहित २३ लाख रुपैयाँ आम्दानी गरिसकेको छ । त्यस्तै, बजारमा कारोबारका लागि रादी विद्युत् कम्पनी तथा रहिराङ हाइड्रोपावर कम्पनीले आवश्यक प्रक्रिया अगाडि बढाइरहेका छन् ।
कम्पनी रजिस्ट्रार कार्यालयले नेप्सेमा सूचीकृत नभएका पब्लिक कम्पनीहरूले सेयर कारोबार अनिवार्य रूपमा ओटीसी बजारमार्फत नै गर्नुपर्ने निर्देशन दिएपछि कम्पनीहरूलाई दबाब परेको हो ।
ओटीसी बजारमा मारुती सिमेन्ट कम्पनीको सबैभन्दा पहिला कारोबार भएको हो । उक्त कम्पनीको ६ लाख ९३ हजार २ सय कित्ता सेयर खरिद बिक्री भएको थियो । त्यस्तै, नेपाल हाइड्रो डेभलभर कम्पनीको ६० हजार कित्ता सेयर खरिद बिक्री भएको थियो भने काठमाडौं फरेस्टी कलेज पब्लिक कम्पनीको १८४ कित्ता सेयर खरिद भएको थियो । ग्रोमोर मर्चेन्ट बैंकरको ७४ हजार कित्ता, हुलास वायर इन्डस्ट्रिजको १ हजार कित्ता, युनाइटेड मोदी हाइड्रोपावरको ६ लाख ५१ हजार ७ सय १३ कित्ता, सियान सिड सर्भिसको १० हजार कित्ता सेयर खरिद बिक्री भएको छ ।
ओटीसीमा बजारमा नेप्सेमा सूचीकृत नभएका वा नेप्सेको सूचीबाट हटाइएका पब्लिक कम्पनीहरूको सेयर कारोबार गरिन्छ । यसअघि कम्पनी रजिस्ट्रार कार्यालयबाट यस्ता कम्पनीहरूको कारोबार हुँदै आएको थियो । पछिल्लोसमय नियमक निकायले ओटीसी बजारबाटै कारोबार गर्न निर्देशन दिएका छन् । बजारमा कारोबार गर्न सम्बन्धित कम्पनी दर्ता हुनुपर्छ । दर्ता निःशुल्क हुन्छ । तर, सेयर खरिद बिक्री भएको अवस्थामा भने नेपाल धितोपत्र बोर्ड र धितोपत्र बजारलाई निश्चित शुल्क बुझाउनुपर्छ । त्यस्तै, नेपाल सरकारलाई पुँजीगत लाभकर पनि बुझाउनुपर्छ ।
२५ हजार रुपैयाँसम्मको कारोबार हुँदा धितोपत्र बजारलाई २ प्रतिशत शुल्क बुझाउनुपर्छ । त्यस्तै, २५ हजारदेखि ५ लाखसम्मको कारोबार हुँदा १.५० प्रतिशत र ५ लाखदेखि माथिको कारोबार हुँदा १ प्रतिशत शुल्क बुझाउनुपर्छ । त्यस्तै, उक्त कारोबार हुँदा नेपाल धितोपत्र बोर्डलाई भने ०.१५ प्रतिशत शुल्क बुझाउनुपर्छ । साथै ओटीसी बजारको विनियम ७ अनुसार विक्रेता प्राकृतिक व्यक्ति भए १० प्रतिशत र विक्रेता संस्थागत भए १५ प्रतिशत सरकारलाई पुँजीगत लाभकर बुझाउनुपर्छ ।
के हो ओटीसी बजार
सेयर बजार व्यापारमा ब्रोकरहरूजस्ता मूल्य प्रणालीको संलग्नता बिना सिधा एक्सचेञ्जमार्फत व्यापार गर्न अपनाइएको प्रणाली ओटीसी बजार हो । यसमार्फत हुने व्यापारलाई छोटकरीमा ओटीसी अर्थात् ओभर दी काउन्टर भनिन्छ । सामान्यतया नेप्सेमा सूचीकरण हुन नसकेका, सूचीकरणबाट हटाइएका तथा सूचीकरणका लागि आवश्यक सर्त पूरा गर्न नसकेको कम्पनीहरूको धितोपत्रहरूमा तरलता कायम गरी सर्वसाधारण लगानीकर्ताको हित संरक्षण गर्ने हेतुले ओटीसीमार्फत सेयर व्यापार गर्ने गरिन्छ । सर्वसाधारणमा सेयर जारी नगरेका कम्पनीले यो प्रणालीमा आएर सेयर स्वामित्व परिवर्तन गर्न सक्छन् । ओटीसीमार्फत व्यापार गर्न कम्पनीले सर्वसारधाणमा सेयर जारी गर्नुपर्ने बाध्यता हुँदैन । ओटीसी बजारमार्फत ०६८ सालमा पहिलो पटक नेपाल बैंकको सेयर खरिद बिक्री भएको थियो ।
- See more at: http://np.karobardaily.com/2016/05/84511/#sthash.xi2yI1m3.dpuf
No comments:
Post a Comment