मुना कुँवर
काठमाडौं, ११ जेठ – चालू आर्थिक वर्षको चैत मसान्तसम्ममा निर्जीवन बिमा कम्पनीहरूको खुद नाफा १९ प्रतिशतले बढेको छ । हालसम्म प्रकाशित १४ कम्पनीको वित्तीय विवरणअनुसार नाफा १ अर्ब २२ करोड रुपैयाँ पुगेको छ । गत आवको सोही अवधिमा यी कम्पनीहरूको नाफा १ अर्ब २ करोड रुपैयाँ थियो ।
वित्तीय विवरणअनुसार चैत मसान्तसम्ममा कम्पनीहरूको आम्दानी २४ प्रतिशतले बढेको छ । सो अवधिमा कम्पनीहरूको अन्य आय तथा पुनर्बिमा बापतको कमिसनबाट आम्दानी वृद्धि भएसँगै यो शीर्षक बढेको हो । चालू आवको नौ महिना अवधिसम्ममा कम्पनीहरूको आम्दानी २ अर्ब ५२ लाख पुगेको छ । गत आवको सोही अवधिमा यस्तो आम्दानी १ अर्ब ६१ करोड रुपैयाँ मात्रै थियो ।
गत वर्षको भूकम्पपछि बिमा कम्पनीहरू सक्रिय छन् । भूकम्पले बिमा कम्पनीहरूलाई व्यवसाय विस्तार गर्न सुनौलो अवसर प्रदान गरेको बिमा समितिका अध्यक्ष प्रा.डा.फत्तबहादुर केसी बताउँछन् । यसै कारणले कम्पनीहरूको वित्तीय विवरण सकारात्मक रहेको उनको भनाइ छ । “चालू आवको अन्त्यसम्ममा कम्पनीहरूको नाफा अझै बढ्नेछ,” उनले भने, “तर संविधान जारी भए पछिको असहज परिस्थिति तथा नाकाबन्दीका कारण हामीले अनुमान गरेजस्तो कम्पनीहरूले छलाङ मार्न भने सकेनन् ।”
चैत महिनासम्ममा कम्पनीहरूले सम्भावित जोखिमबापत छुट्ट्याएको ठूलो रकम उठाउन पनि सफल भएका छन् । सो अवधिसम्ममा कम्पनीहरूको १ करोड ८३ लाख रुपैयाँ व्यवस्था फिर्ता भएको छ । यो रकम गत आवको सोही अवधिको तुलनामा करिब पौने ३ गुणाले बढी हो । गत आवको सोही अवधिमा यस्तो फिर्ता रकम ६६ लाख ५५ हजार मात्रै थियो । कम्पनीहरूले पुनर्बिमाबापत पाउने कमिसनको आय पनि १५ प्रतिशतले बढेको छ । चालू आवको नौ महिना अवधिसम्म यस्तो आय ८४ करोड ७० लाख पुगेको छ । गत आवमा भने यस्तो आय ७३ करोड ३७ लाखमा सीमित थियो ।
भूकम्पले बिमा कम्पनीहरूलाई व्यापार बढाउन सहयोग पु¥याए पनि नाकाबन्दीसँगै मुलुकका अन्य क्षेत्र धराशायी हुँदा कम्पनीहरूले लगानी भने गर्न सकेका छैनन् । वित्तीय विवरणअनुसार कम्पनीहरूले दीर्घकालीन लगानी बढाउन सफल भए पनि अल्पकालीन लगानी भने घटेको छ । तेस्रो त्रैमास अवधिसम्ममा कम्पनीहरूको दीर्घकालीन लगानी १४ प्रतिशतले बढेर २ अर्ब ३१ करोड रुपैयाँ पुगेको छ भने अल्पकालीन लगानी घटेर ८ अर्ब ७ करोडमा सीमित भएको छ । गत आवको सोही अवधिमा कम्पनीहरूको अल्पकालीन लगानी ८ अर्ब १५ करोड थियो । यस्तै, लगानीबाट प्राप्त हुने आम्दानी पनि घटेको छ । चालू आवको नौ महिना अवधिमा यस्तो आय ४७ प्रतिशतले घटेर २८ करोड १२ लाख रुपैयाँमा सीमित भएको छ । गत आवको सोही अवधिमा यस्तो आय ५३ करोड ८३ लाख थियो । लगानी विस्तार गर्न नसक्दा कम्पनीहरूको बैंकमा नगद जम्मा हुने क्रम बढेको छ । सो अवधिसम्ममा बैंकमा कम्पनीहरूको ३ अर्ब २ करोड रुपैयाँ नगद जम्मा भएको छ । यो रकम गत आवको सोही अवधिको तुलनामा ५० प्रतिशतले बढी हो ।
यस अवधिसम्ममा कम्पनीहरूको खर्च भने बढेको छ । नौ महिना अवधिमा कम्पनीहरूको खर्च ३१ प्रतिशतले बढेर ७७ करोड ८६ लाख पुगेको छ । गत आवको सोही अवधिमा भने यस्तो खर्च ५८ करोड ९९ लाखमा सीमित छ । कम्पनीहरूले खुद बिमाशुल्कको १.५ प्रतिशत रकम खर्च गर्न पाउँछन् । बिमा समितिले गरेको व्यवस्थाअनुसार कम्पनीहरूले व्यापार प्रवद्र्धन, विविध खर्च, विज्ञापन तथा अतिथि सत्कारबाहेक अन्य शीर्षकमा खर्च गर्न पाउँदैनन् ।
- See more at: http://np.karobardaily.com/2016/05/86060/#sthash.kch8mjvI.dpuf
No comments:
Post a Comment