मुना कुँवर
काठमाडौं, ५ जेठ – सरकारले काठमाडौं उपत्यकाका घरधनीले आफ्नो घरको बिमा अनिवार्य गराउने पर्ने व्यवस्था ल्याउन लागेको छ । सहरी क्षेत्रमै न्यूनले मात्र घर बिमा गरेकाले नियामक निकाय बिमा समितिले यसलाई अनिवार्य गर्न लागेको हो । यसका लागि समितिले नीतिगत तयारी गर्दैछ ।
अहिले सवारीसाधनको तेस्रो पक्ष बिमा र वैदेशिक रोजगारमा जानेको म्यादी बिमा अनिवार्य गरिएको छ । भूकम्पलगायतका प्राकृतिक प्रकोपबाट हुने क्षतिलाई कम गराउन समितिले घरको बिमालाई पनि अनिवार्य बनाउन लागेको हो ।
उपत्यकाभित्र घर निर्माण गर्दा सम्बन्धित महानगरपालिका वा नगरपालीकाबाट स्वीकृति लिनुपर्छ । तोकिएको मापदण्डअनुसार निर्माण गरिसकेपछि स्वीकृति दिने कार्यालयले निर्माण सम्पन्न भएको प्रमाणपत्र प्रदान गर्छ । समितिले घरको बिमा गरेको प्रमाण पेस गरेपछि मात्रै निर्माण सम्पन्न भएको प्रमाणपत्र प्रदान गर्ने व्यवस्था गर्न खोजेको छ । त्यस्तै, नीति जारी गर्नुअघि निर्माण भइसकेका घरको हकमा भने कर बुझाउँदा बिमा अनिवार्य गर्ने समितिको योजना छ ।
घरधनीलाई बिमाप्रति आकर्षित गर्न बिमा शुल्कमा छुटको समेत व्यवस्था गरिने समितिले जनाएको छ । गत वर्ष वैशाखमा गएको भूकम्पले ठूलो जन धनको क्षति भयो । भूकम्पको परकम्पन आउने क्रम अझै पनि जारी छ । भूगर्भविद्हरूले काठमाडौं भूकम्पीय दृष्टिकोणबाट अझै जोखिमपूर्ण रहेको बताइरहेका छन् । त्यसैले भोलिका दिनमा घट्न सक्ने सम्भावित दुर्घटनाबाट सुरक्षित हुन घर बिमालाई अनिवार्य गर्नु आवश्यक रहेको बिमा समितिका निर्देशक श्रीमान् कार्कीले बताए । “मानिसले स्वतस्फुर्त रूपमा बिमा गर्दैनन्,” उनले भने, “त्यसैले यसलाई अनिवार्य गर्ने लागिएको हो ।”
समितिले तयारी गरेको योजना उत्कृष्ट रहेको काठमाडौं महानगरपालिका प्रवक्ता बद्री खड्काले टिप्पणी गरे । घरको बिमा गर्दा घरधनीलाई केही आर्थिक भार बढ्ने भए पनि जोखिम न्यूनीकरणका लागि यो आवश्यक रहेको उनले बताए । “विपद्को अवस्थामा बिमा आवश्यक छ,” उनले भने, “त्यसैले ढिलोचाँडो मानिसहरूले यसलाई स्वीकार गर्नेछन् ।”
गत वर्ष गएको भूकम्पले करिब ५ लाख भवन क्षतिग्रस्त भएको तथ्यांकले देखाएको छ । क्षतिग्रस्तमध्ये जम्मा २ लाख घरमात्रै बिमा योग्य रहेको सगरमाथा इन्स्योरेन्स प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर बस्नेतले बताए । त्यसमध्ये पनि भूकम्पपछि बिमा कम्पनीहरूमा करिब १७ हजार भवनको मात्रै बिमा दाबी परेको छ । अर्थात् बिमा योग्य घरमध्ये जम्मा ८ प्रतिशतको मात्रै बिमा भएको देखियो । त्यसमा पनि अधिकांश घरहरू बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिनका लागि बिमा गरेको देखिएको छ । हाल स्वतःस्फुर्तभन्दा पनि बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिनका लागि मात्रै घरहरूको बिमा गर्ने प्रचलन रहेको बिमकहरू बताउँछन् । केन्द्रीय तथ्यांक विभागका अनुसार काठमाडौं महानगरपालिका भित्र करिब २ लाख ५० हजार घर छन् ।
- See more at: http://np.karobardaily.com/2016/05/85428/#sthash.PXBOKlpX.dpuf
No comments:
Post a Comment