Tuesday, May 3, 2016

ओटीसी बजारले गर्‍यो ग्रोमोरको कारोबार

मुना कुँवर

  • ग्रोमर मर्चेण्ट बैङ्करकोे ७४ हजार कित्ता संस्थापक शेयर खरीद
  • प्रतिकित्ता रू. १ सय ५५ मा कारोबार
  • सरकारलाई रू. ५ लाख ९९ हजार पूँजीगत लाभ कर प्राप्त
     
वैशाख २०, काठमाडौं । सोमवार ओटीसी (ओभर दि काउण्टर)मार्पmत ग्रोमोर मर्चेण्ट बैङ्कर लिमिटेडको शेयर कारोबार भएको छ । कम्पनीको ७४ हजार कित्ता संस्थापक शेयर खरीद विक्री भएको ओटीसी बजारका सहायक प्रबन्धक नारायणप्रसाद तिमिल्सिना बताए । ओटीसी बजारमा कारोबार हुने कम्पनीमध्ये यो चौथो कम्पनी हो ।
कम्पनीको सम्पत्तिको मूल्याङ्कनपछि शेयर मूल्य प्रतिकित्ता १ सय ५५ तोकिएको थियो । उक्त शेयर लगानीकर्ताहरूबीच नै खरीद विक्री भएको ओटीसी तिमिल्सिनाले बताए । ओटीसी बजारमा पहिलोपटक लगानीकर्ताहरूबीच नै शेयर खरीद विक्री भएको हो । यसअघि भएका कम्पनीहरूको शेयर कारोबार पारिवारिक सदस्यहरूबीच नै हुँदै आएको थियो । उक्त कारोबारबाट सरकारलाई करीब रू. ५ लाख ९९ हजार रकम पूँजीगत लाभ कर प्राप्त भएको उनले बताए । उनले भने ‘ओटीसी बजारमा अहिलेसम्म भएको कारोबारमध्येबाट प्राप्त भएको पूँजीगत लाभ करमध्ये यो रकम सबैभन्दा धेरै हो ।’ यसअघि काठमाडौं फरेष्ट्री कलेजको कारोबारबाट सरकारलाई करीब रू. १४ हजार रकम पूँजीगत लाभ कर प्राप्त भएको थियो ।  

ओटीसी बजारमा कारोबार हुने कम्पनीहरूमध्ये मारुती सिमेण्ट सबैभन्दा पहिलो कम्पनी हो । उक्त कम्पनीको ६ लाख ९३ हजार २ सय कित्ता शेयर खरीद विक्री भएको थियो । त्यस्तै, नेपाल हाइड्रो डेभलभर कम्पनीको ६० हजार कित्ता शेयर खरीद विक्री भएको छ भने काठमाडौं फरेष्ट्री कलेज पब्लिक कम्पनीको १ सय ८४ कित्ता शेयर खरीद विक्री भइसकेको तिमिल्सिनाले बताए । उनले भने, ‘हाथवे इन्भेष्टमेण्ट कम्पनी पाइप लाइनमा छ । अन्य थुप्रै कम्पनीले पनि दर्ता प्रक्रिया अगाडि बढाउन थालेका छन् ।’
ओटीसीमा बजारमा नेप्सेमा सूचीकृत नभएका वा नेप्सेको सूचीबाट हटाइएका पब्लिक कम्पनीहरूको शेयर कारोबार हुने गर्छ । ओटीसी बजारमा कारोबार गर्न सम्बन्धित कम्पनी दर्ता हुनुपर्छ । बजारमा निःशुल्क रूपमा कम्पनी दर्ता गर्न सकिने व्यवस्था रहेको छ । तर, शेयर खरीद विक्री भएको अवस्थामा भने नेपाल धितोपत्र बोर्ड र धितोपत्र बजारलाई निश्चित शुल्क बुझाउनुपर्छ । त्यस्तै, नेपाल सरकारलाई पूँजीगत लाभकर बुझाउनुपर्छ । ओटीसी बजारको विनियम ७ अनुसार विक्रेता प्राकृतिक व्यक्ति भए ५ प्रतिशत र विक्रेता अप्राकृतिक व्यक्ति भए १० प्रतिशत सरकारलाई पूँजीगत लाभकर बुझाउनु पर्छ ।

No comments:

Post a Comment