मुना कुँवर
काठमाडौं, १२ जेठ , बजेट आउने दिन नजिकिँदै गर्दा बिमा कम्पनीहरूको सेयर मूल्य उच्चदरले बढेको छ । सो समूहको रेखाचित्रले परिसूचक ओभरबट क्षेत्र (अत्याधिक खरिद चाप भएको क्षेत्र) मा पुगेकाले अब केही घट्न सक्ने संकेत देखाएको छ । यसलाई प्राविधिक विश्लेषणका आधारमा सेयर बिक्री गर्ने (सेल) संकेतका रूपमा लिइने गरिन्छ ।
एक वर्षको अवधिमा बिमा समूहको परिसूचक ३ हजार ९१५ अंकले बढेर मंगलबार ७ हजार ८०९.६६ बिन्दुमा पुगेको छ । गत वर्ष सोही अवधिमा सो समूहको परिसूचक ३ हजार ८७७ बिन्दुमा थियो । बिमा समूहको परसूचकले दुई महिना अगाडि ‘गोलाकार न्यूनत्तम बिन्दु’ अर्थात् राउन्डिङ बटमको आकृति निर्माण गरेको थियो । प्राविधिक विश्लेषणअनुसार रेखाचित्रले यस्तो आकृति निर्माण गरेमा परिसूचक बढ्ने गर्छ । फागुनको दोस्रो सातादेखि बिमाको सेयरमूल्य वृद्धिले यसलाई पुष्टि गरेको छ । बिमा समूहको परिसूचक उच्च अंकले बढिरहेको छ । तर, पछिल्लो दुई महिनाको अवधिमा बिमा समूहको परिसूचक बुलिस टे«न्डमा देखाएको छ । परिसूचकले पनि प्रत्येक पटक नयाँ उचाइ कायम गर्दै गएको छ । तर, प्राविधिक विश्लेषणअनुसार बुलिस बजारले कुनै पनि समयमा बाटो परिवर्तन गर्न सक्छ । जसलाई बढ्दो बजारको ‘ब्रेक थु्र’ भनिन्छ ।
उता सो समूहको रिलेटिभ स्टे«न्थ इन्डेक्स (आरएसआई) ९० स्केलको नजिक छ । यसले परिसूचक ओभरबट जोनमा रहेको बुझाउँछ । यसलाई सेल सिग्नल पनि भनिन्छ । त्यसैले यतिबेला बिमाको सेयर खरिद गर्नुभन्दा पनि बिक्री गर्नु उपयुक्त समय मानिन्छ । प्रत्येक दिन नयाँ रेकर्ड कायम गर्दै गएको सेयर बजार परिसूचक नेप्सेले कुनै पनि समयमा बाटो परिवर्तन गर्न सक्ने एक लगानीकर्ताले बताए । “अहिलेको बजार खहरे खोला हो,” उनले भने, “यसले अधिकांश नयाँ लगानीकर्ताको घर–गोठ बगाउनेछ ।” बजारमा अनभिज्ञ लगानीकर्ता बढ्दै गएको र केही पुराना टाठाबाठा लगानीकर्ताले यसको फाइदा लिन खोजिरहेको उनले बताए । उनका अनुसार बजारमा बिमा व्यवसायका विषयमा थप बढाइ चढाइ गरी सेयरमूल्य बढाउने काम भइरहेको छ । “बिमा कम्पनीको सेयर तातो आलु हो,” उनले भने, “यसले कति जनाको हातको छाला खुइलाउने हो त्यो हेर्न बाँकी नै छ ।” करिब एक वर्षको अवधिमा अधिकांश बिमा कम्पनीहरूको सेयर मूल्य बढेको छ । व्यापारमा आएका बिमा कम्पनीमध्ये प्रभु इन्स्योरेन्स, हिमालयन जनरल इन्स्योरेन्स, नेको इन्स्योरेन्स, प्रभु इन्स्योरेन्स, प्रिमियर इन्स्योरेन्स, शिखर इन्स्योरेन्स कम्पनीको सेयर मूल्य तीन गुणाभन्दा धेरैले बढेको छ । त्यस्तै, लुम्बिनी जनरल इन्स्योरेन्स, नेपाल इन्स्योरेन्स, एनएलजी इन्स्योरेन्स, सगरमाथा इन्स्योरेन्स, सिद्धार्थ इन्स्योरेन्स, युनाइटेड इन्स्योरेन्सको सेयर मूल्य दुई गुणाभन्दा धेरैले बढेको छ । बिमा कम्पनीहरूको चुक्ता पुँजी बढ्ने निश्चित प्रायः भइसकेकाले कम्पनीको सेयर मूल्य बढेको सेयर विश्लेषक अमृतनाथ रेग्मीले बताए । कम्पनीले चुक्ता पुँजी बढाउनकै लागि थप बोनस सेयर तथा हकप्रद सेयर जारी गर्ने अपेक्षाले बिमा कम्पनीतर्फ लगानीकर्ताको आकर्षण बढ्न थालेको हो । त्यस्तै, बिमा व्यवसाय विस्तार हुने समाचारले बिमा कम्पनीहरूको सेयर मूल्य बढेको सेयर विश्लेषक रवीन्द्र भट्टराईले बताए । - See more at: http://np.karobardaily.com/2016/05/86269/#sthash.rjirlCm9.dpuf
No comments:
Post a Comment