मुना कुँवर
काठमाडौं, ४ जेठ – आर्थिक अवस्था कमजोर भएकै कारण बिमा गर्न नपाएका व्यक्तिले अबदेखि भने न्यून रकममा नै बिमा गर्न पाउने भएका छन् । बिमा समितिले आर्थिक रूपमा पिछडिएका व्यक्तिलाई लक्षित गरी लघुबिमा योजना सार्वजनिक गरेपछि न्यून आयका भएका व्यक्तिले पनि बिमा योजना गरिद गर्न पाउने भएका हुन् ।
बिमा समितिले सबै व्यक्तिलाई बिमाको दायरामा ल्याउन लघुबिमा योजना ल्याएको हो । जसअन्तर्गत समितिले दुइटा जीवन बिमा र तीन वटा निर्जीवन बिमा योजना सञ्चालनमा ल्याएको छ । लघु निर्जीवन बिमाअन्तर्गत स्वास्थ्य लघुबिमालेख, गार्हस्थ्य लघुबिमालेख र व्यक्तिगत दुर्घटना बिमालेख सञ्चालनमा ल्याएको छ । लघु जीवन बिमाअन्तर्गत सावधिक लघु जीवन बिमालेख र म्यादी लघु बिमालेख सञ्चालनमा ल्याइएको छ । समितिले योजनाहरूको रूपरेखा तयार पारी लक्षित समूहमा योजना जारी गर्नसमेत बिमा कम्पनीहरूलाई निर्देशन दिइसकेको समितिका उप–निर्देशक कुन्दन सापकोटाले बताए ।
लघुबिमा निर्देशिका २०७१ अनुसार १५० रुपैयाँमा दुर्घटना लघुबिमा योजना खरिद गर्न सकिनेछ । यस योजनाको बिमांक रकम भने १ लाख ५० हजार रुपैयाँ छ । बिमितले बिमांक रकमको ०.१ प्रतिशत बिमा शुल्क भुक्तानी गर्नुपर्नेछ । त्यस्तै, ५०० रुपैयाँमा गार्हस्थ्य लघुबिमा योजना खरिद गर्न सकिनेछ । यो रकम बिमांक रकमको ०.२५ प्रतिशत हो । यस योजनाको बिमांक रकम २ लाखसम्म हुनेछ । यस योजनाले बिमितको सम्पत्तिको जोखिम बहन गर्छ । स्वास्थ्य लघुबिमा योजनाको बिमा शुल्क १ हजार ४०० रुपैयाँ छ । यो रकम बिमांक रकमको ४ प्रतिशत हो । यस योजना खरिद गरेबापत्त एकापरिवारका ५ जना सदस्यले ३५ हजार रुपैयाँसम्मको स्वास्थ्य उपचार प्राप्त गर्न सक्नेछन् । लघुजीवन योजनाको बिमाशुल्क भने तय भई नसकेकको समितिले जनाएको छ ।
बिमाशूल्क न्यून भएकै कारण लघुबिमाले धेरै व्यक्तिलाई समेट्न सक्ने लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत विनोदकाजी श्रेष्ठको अनुमान छ । तर, तल्काल यसलाई सञ्चालनमा ल्याउन भने कम्पनीहरूलाई अप्ठेरो भएको उनले बताए । त्यस्तै, एनएलजी इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत विजयबहादुर शाहले लघुबिमाको अवधारणा सकारात्मक भए पनि नेपालको परिप्रेक्ष्यमा कार्यान्वयन गर्न भने कठिन हुने बताए । “सभ्रान्त व्यक्तिमा नै बिमासम्बन्धी चेतना नभएको अवस्थामा पिछडिएको वर्गलाई यस विषयमा जानकारी गराउनु चुनौतीपूर्ण छ,” उनले भने । लघुबिमा जारी गरेसँगै लक्षित वर्गमा व्यापक प्रचार–प्रसार गर्नुपर्ने सुझाव उनको छ ।
समावेशी बिमा तथा आम जनतामा बिमाको पहुँच बढाउने उद्देश्यले लघुबिमा योजनाको अवधारणा आएको हो । यस अवधारणाअनुसार लघुबिमाले न्यून आय भएका र ग्रामीण भेगमा रहेका मानिस समेट्ने छ । बिमांक रकम अति न्यून हुनु, बिमा प्रक्रिया सरल र सहज हुनु, आमको व्यक्तिको सहज पहुँच हुनु यस योजनाका मुख्य विशेषता हुन् ।
- See more at: http://np.karobardaily.com/2016/05/85251/#sthash.lyRaF87O.dpuf
No comments:
Post a Comment