Sunday, May 1, 2016

स्वास्थ्यबीमा योजना : कैलालीका १ हजार ५ सय सहभागी

मुना कुँवर

वैशाख १८, काठमाडौं । नेपाल सरकारले सञ्चालन गर्न लागेको स्वास्थ्यबीमा योजनाको पहिलो चरणमा कैलालीका १ हजार ५ सय व्यक्ति सहभागी हुने भएका छन् । गत चैत २५ देखि ३० गतेसम्म सरकारले नाम दर्ताको प्रक्रिया शुरू गरेको थियो । उक्त ५ दिनको अवधिमा उक्त सङ्ख्याका व्यक्तिहरूले नाम दर्ता गराएको सामाजिक स्वास्थ्य सुरक्षा विकास समितिका कार्यकारी निर्देशक गुणराज लोहनीले बताए । उनले भने, ‘योजनाप्रति स्थानीय बासिन्दा निक्कै उत्साहित छन् ।’
गत मङ्सिरदेखि नै सञ्चालन गर्ने भनिएको स्वास्थ्यबीमा योजना कार्यक्रम २०७२ चैत २५ गतेदेखि शुरू भएको हो । स्थानीय स्वास्थ्य उपचार केन्द्र, स्वास्थ्य चौकी तथा अस्पतालहरूमा पर्याप्त जनशक्ति तथा पूर्वाधार अभाव भएपछि कार्यक्रम सञ्चालनमा ढिलाइ हुन पुगेको समितिले बताएको छ । समितिका अनुसार सो अवधिमा नाम दर्ता गराउने बीमितहरूले आगामी जेठदेखि सेवा (स्वास्थ्योपचार) पाउन सक्नेछन् ।

ढिलो गरी शुरू भएको बीमा योजना कार्यक्रमलाई विभिन्न चरणमा विभाजन गरिएको छ । प्रशासनिक कठिनाइका कारण समितिले कार्यक्रमलाई निरन्तर लैजान नसकेको समितिले बताएको छ । वैशाख, जेठ र असार (तीन) महीनामा नाम दर्ता गराएका बीमितले १ महीना ढिलो गरी सेवा लिन पाउनेछन् । अर्थात् वैशाखदेखि असार मसान्तसम्ममा नाम दर्ता गराएका बीमितले भदौ महीनादेखि मात्रै स्वास्थ्योपचार सेवा प्राप्त गर्न सक्नेछन् । त्यस्तै, साउन, भदौ र असोज महीनामा नाम दर्ता गराएका बीमितले मङ्सिर महीनादेखि मात्रै स्वास्थ्य सेवा प्राप्त गर्न सक्नेछन् । एवम् रीतले प्रत्येक ३ महीना नाम दर्ता गरेका बीमितलाई १ महीनापछि मात्रै सेवा प्रदान गरिनेछ । उक्त १ महीना प्रशासनिक कामका लागि छुट्याइएको समितिले बताएको छ ।
योजना सञ्चालनका लागि सरकारले इलाम, बाग्लुङ र कैलालीलाई पहिलो चरणमा छनोट गरेको थियो ।
उक्त छानिएका जिल्लामध्ये कैलाली जिल्लाबाट कार्यक्रमको शुरुआत हुन लागेको हो । नाम दर्ताका लागि समितिले कैलालीमा करीब १ सय २४ जना दर्ता सहयोगी परिचालन गरेको छ । सहयोगीहरूले बीमितहरूको घरघरमा नै पुगेर नाम दर्ता गरिरहेका छन् ।
नाम दर्ता प्रक्रिया अनलाइनबाट नै गरिन्छ । दर्ता सहयोगीले सामसुङ एण्ड्रोइड मोबाइलका माध्यमबाट बीमितको फोटो खिची अनलाइन फारम भरेर नै स्पटबाट नै बीमा गराउँछन् । यसका लागि आईएमआईएस (इन्स्योरेन्स म्यानेजमेण्ट इन्फरमेशन सिष्टम) मोबाइल एप्लिकेशनको प्रयोग गरिएको समितिले बताएको छ । त्यस्तै, नाम दर्ता गराएका बीमितलाई परिचय कार्ड प्रदान गरिनेछ । उक्त परिचय कार्डको आधारमा नै उनीहरूले स्वास्थ्योपचार सेवा प्राप्त गर्न सक्नेछन् । बीमा योजनाको अवधि १ वर्ष मात्रै हुनेछ । १ वर्षपछि उक्त योजना स्वतः खारेज हुनेछ ।

No comments:

Post a Comment