Tuesday, May 24, 2016

सार्क बीमा सम्मेलनका मुद्दा

पदमराज अवस्थी
सार्क देशहरूका नियामक निकायहरूको वार्षिक बीमा सम्मेलनको तेस्रो संस्करण वैशाख ३०–३१ गते काठमाडौमा सम्पन्न भयो । ‘क्षेत्रीय सहयोगबाट दक्षिण एशियाली बीमाबजारको विस्तार गरौं’ भन्ने नारा बोकेको उक्त सम्मेलनमा सार्क सदस्य देशहरूका अतिरिक्त विभिन्न देशका नियामक निकायका प्रतिनिधि र बीमाविज्ञहरू सहभागी थिए । विभिन्न विज्ञका प्रस्तुतिमा जलवायु परिवर्तन, प्राकृतिक प्रकोप र मानवजनित क्रियाकलापबाट सार्क देशहरूले बेहोर्नु परिरहेको क्षति र जनस्तरमा परेको प्रभावका साथसाथै वित्तीय स्थिरता, देश विकास र गरीब निवारणमा बीमाक्षेत्रको भूमिकाबारे चर्चा गरिएको थियो । बङ्गलादेशको ढाका र पाकिस्तानमा सम्पन्न पहिलो र दोस्रो सम्मेलनपछि तेस्रो सम्मेलन पोहोर साल नै हुुने भनिए पनि भूकम्पका कारण १ वर्षका लागि सारिएको थियो ।

हुुुन त, सार्कका हरेक निकायका सम्मेलनहरू भव्यताका साथ सम्पन्न भइरहेका हुन्छन् । तर, सम्मेलनको औचित्यबारे सम्पूर्ण देश बेखबर बन्दै आएका छन् । यो भन्दा अगाडि पनि बीमासम्बन्धी दुईओटा सम्मेलन भइसकेका छन् । तर, ती सम्मेलनको उपलब्धि खोज्न निस्किने हो भने दुईओटा कुरा हामी फेला पर्न सक्छौं, एउटा घोषणापत्र र अर्को आगामी सम्मेलन आयोजना हुने मिति र स्थान । हरेक वर्ष हामीले कोटमा फुलीको चिनारी राख्दै उपस्थिति जनाउँदै आयौं तर सम्मेलनको प्रगति सम्बन्धमा आत्मसमीक्षा गरी प्राप्त उपलब्धिमाथि गर्वका साथ छाती फुलाएर फुली लगाउने कोट कसिलो पार्न सकेनौं ।
विज्ञहरूले आफ्नो विषयविज्ञताका आधारमा प्रस्तुतीकरण–पत्र/कार्यपत्र/अनुसन्धानपत्र आदिबाट सहभागीहरूलाई अवश्य पनि नयाँ कुरा सिक्न मद्दत गरिरहेकै हुन्छन् । विद्वान् र राम्रा मान्छेका कुरा त जहिले पनि राम्रा नै हुने गर्छन् तर कतिओटा  राम्र्रा कुराहरू गरिएभन्दा पनि कति राम्रा कुराहरूलाई हामीले व्यवहारमा ढाल्न सक्छौं भन्नेचाहिँ महत्वपूर्ण हो ।
क्षेत्रीय सहयोगको कुरा गरिरहँदा सार्क देशहरूबीचमा फैलिएको कूटनैतिक तिक्तता भुल्ने चेष्टा गरिएको छ । उदाहरणका लागि पाकिस्तान–भारत सम्बन्ध नै पर्याप्त छ । यतिले मात्रै चित्त नबुझे पछिल्ला केही महीनायता सतहमा आएको नेपाल–भारत सम्बन्ध आलो नै छ । बीमा विशुद्ध व्यापार हो तर क्षेत्रीय र अन्तरराष्ट्रिय मैदानमा प्रवेश गर्दा यो कूटनीतिबाट अलग रहन कदापि सक्दैन । क्षेत्रीय साझा बीमा कार्यक्रमको उदाहरणका रूपमा यूरोपेली राष्ट्रहरूले कार्यान्वयनमा ल्याएको ग्रीन कार्ड सिष्टमलाई लिन सक्छौं ।
ग्रीन कार्ड सिष्टमअन्तर्गत एक देशका माल÷यात्रुवाहक सवारीसाधन दोस्रो देशमा दुर्घटनामा प¥यो वा दोस्रो देशमा दुर्घटना निम्त्यायो भने घट्ना भएकै देशमा दाबी भुक्तानी प्रक्रिया सम्पन्न गरिन्छ । यदि यस्तै पद्धति सार्क क्षेत्रमा लागू गर्ने हो भने के अहिलेकै अवस्थामा यो कुरा सम्भव छ त ? सम्भव छ भने कतिओटा गाडी दैनिक निर्बाध रूपमा आठओटै देशमा गुडिरहेका छन् । आठआटै देश जोड्ने बाटो कुन हो ? दिनैपिच्छे आयातित/निर्यातित सामान बन्दरगाहमा अड्किरहेका छन् कि छैनन् ? किन कोरो मित्रताको नाममा यतिका मुुद्दा ओझेलमा पारिन्छन् ? र, के कुरामा हामीले क्षेत्रीय सहयोगका लागि बहस गर्दै छौं ?   
सार्क क्षेत्रीय साझा सङ्गठन नै हो । तर, पछिल्ला दिनहरूमा यो साङ्गठनिक ढाँचा बिर्सिएको सङ्गठन बनेको छ । अरू क्षेत्रीय सङ्गठनको नक्कल गरेर मात्रै हामीले विभिन्न कार्यक्रम आयोजना गर्दै आएका छौं । क्षेत्रफलका हिसाबले देश सानो/ठूलो हुन सक्छ । आर्थिक गतिविधिको हिसाबले अर्थतन्त्रको आकार साँघुरो÷फराकिलो हुन सक्छ । तर, राष्ट्रियता नाप्ने प्यारामिटर अझै फेला परेको छैन र सार्वभौमिकता सबैको बराबर नै हुन्छ । यो क्षेत्रमा राजनीतिक निकास नखोजी साझा कार्यक्रम लागू गर्दै देश विकासलाई अघि बढाउँछु भन्नु जलभण्डार भएको देशमा मृगतृष्णासिवाय अरू केही पनि होइन ।
यदि कूटनैतिक सम्बन्धको स्पष्ट ढाँचा निर्र्धारण गर्ने हो भने प्रविधि हस्तान्तरण, सफल प्रयासहरूको स्थानान्तरण र सहयोग आदानप्रदान गर्न कठिन बन्ने छैन । सम्मेलनमा यी कुराको छलफल गहन रूपमा हुन सकेको भए क्षेत्रीय सहयोगका लागि सहजमार्ग फेला पार्न सहयोग पुग्ने थियो ।
सम्मेलनको चिनारी स्वरूप बीमा समितिले स्मारिकासमेत प्रकाशन गरेको थियो । यस अघिका सम्मेलनमा पनि देशको बीमा चिनारी प्रस्तुुत गर्न र आर्थिक सहयोग सङ्कलन गर्न यस्ता सामग्री प्रकाशित भएका थिए । समितिबाट प्रकाशित उक्त स्मारिकामा छापिएका अनुसन्धान पत्रहरूले धेरै जानकारी दिएका पनि छन् । तर, बीमाक्षेत्रमा खारिएर कपाल सेतै भएका व्यक्तित्वहरूको विचार पनि समेटिएको भए स्मारिका अझै जानकारीमूलक भएर आउँथ्यो होला । उक्त स्मारिकाको आधाजति भागमा देशको सुन्दरताको मात्रै बखान लेखिएको छ । तर, देशमा मौलाइरहेको जोखीमलाई पूर्णरूपमा बेवास्ता गरिएको छ ।  फूल सुक्छ कि भन्ने डरले बीमा गर्नेभन्दा पनि फूलको समीपमा रहेका काँडाले दुर्घटना निम्त्याउँछ कि भनेर बीमा गर्ने हो ।
पोखराका प्राकृतिक छटाहरूको वर्णन छ । तर, जमीन भासिँदै गएको कुरा लेख्न लोभ गरिएको छ । कर्णालीको चित्र छ तर जलवायु परिवर्तनले खडेरीमा चिरिएको जाजरकोटको मर्म छैन । देशले सामना गरिरहेका जोखीमहरू एकएक गरी समावेश गर्न सकिएको भए जोखीम वित्तीयकरणका लागि नयाँ विचार बाहिर आउन सक्थे होलान् । स्मारिका पढ्दै जाँदा जो कोहीलाई पनि पर्यटन बोर्डको मुखपत्र पढिरहेको भान हुन पुग्नेछ ।
कुनै क्षेत्रमा बीमाको विकास हुन नसक्नुको कारण जनतामा बीमासम्बन्धी ज्ञान नहुनु हो । कति मान्छेसँग बीमासम्बन्धी ज्ञान भए पनि ज्ञानलाई जागरणमा परिणत गर्न नसकेको अवस्था छ । ज्ञानलाई जागरणमा परिणत गर्ने काम प्राज्ञिक संस्थाहरूले गर्न सक्छन् । यसबारे भने पटक्कै ध्यान दिन सकिएको छैन । बीमासम्बन्धी प्राज्ञिक संस्था बढी भएका देशहरूले प्राज्ञिक संस्था नभएका देशहरूमा यस्ता संस्था स्थापनाका लागि सहयोग गर्नुपर्छ र यसैलाई नै क्षेत्रीय सहयोगको उत्तम अभ्यास मान्न सकिन्छ ।
किनभने, एउटा मात्रैको पनि ढिला उपस्थ्तिि र सुस्त विकासले सारा क्षेत्रकै विकासमा असर गर्न सक्छ । सार्क क्षेत्रमा सांस्कृतिक, आर्थिक र प्राकृतिक समानता कायम छ । यसले गर्दा पनि क्षेत्रीय सहयोगका लागि सहज वातावरण उपलब्ध भएको छ । तर, सानासाना प्रयासबाट सहयोग आदानप्रदान गर्न चुक्दा पनि गेरू कपडामा राम–राम लेखिएझैं खाली क्षेत्रीय सहयोगका नाममा नतीजाविहीन बहस चलाइरहेछौं ।
यति हुँदाहुँदै पनि सम्मेलनमा उठान गरिएका विषयवस्तुहरू क्षेत्रीय परिवेशसँग मेल खाने गरी तयार पारिएका थिए ।

एशियाली क्षेत्रकै पहिलो क्षेत्रीय मासिक पत्रिका एशिया इन्स्योरेन्स रिभ्यूका दक्षिण एशिया मामिला प्रमुख जिम्मी जोनका अनुसार  सम्मेलन पूर्वनिर्धारित उद्देश्यअनुसार एकदमै सफल भएको छ । पहिलो र दोस्रो सम्मेलनलाई नजीकबाट नियालेका जोन दक्षिण एशियामा गरीबीको समस्या विकराल भएकाले अबका सम्मेलनहरूमा गरीबी निवारण र बीमाक्षेत्रलाई एउटै बग्गीमा राखेर कुुुदाउनुपर्ने धारणा अघि सार्छन् । बीमाको व्यापक विकासविना गरीबी निवारण महाअभियान सार्थक नहुने जोनको टिप्पणी थियो ।
    
                                                                                                                                                                                                                                                                                लेखक बीमा अध्येता हुन् ।
http://www.abhiyan.com.np/new/Articles/view/78909

No comments:

Post a Comment