मुना कुँवर
काठमाडौं, १९ जेठ – लामो समयको पर्खाइपछि सरकारले आगामी आर्थिक वर्ष ०७३/७४ मा कमोडिटी डेरिभेटिभ बजारसम्बधी ऐन जारी गर्ने घोषणा गरेपछि कमोडिटी बजारका व्यवसायी उत्साहित देखिएका छन् । गत शनिबार अर्थमन्त्री विष्णु पौडेलले बजेट प्रस्तुत गर्दै आगामी वर्ष यससम्बन्धी विधेयक सांसदमा प्रस्तुत गरिने बताएका थिए । नेपालमा ९ वर्षदेखि सञ्चालित कमोडिटीज बजार अझै पनि नियमनविहीन अवस्थामा चलिरहेको छ ।
नेपालमा सन् २००६ देखि कमोडिटी बजारको सुरुवात भएको हो । सुरुमा बजारमा एक्सचेन्ज र ब्रोकर कम्पनी दर्ता हुने क्रम उच्च थियो । तर, बजार अपारदर्शी भएको महसुस गरी लगानीकर्ताको लगानी डुब्नसक्ने भन्दैै सरकारले नयाँ कम्पनी दर्ता गर्न रोक लगाएको थियो । त्यस्तै, बजारलाई नियमन गर्न नेपाल धितो बोर्डलाई जिम्मा दिइएको थियो । तर, यससम्बन्धी ऐनको अभावमा बोर्डले पनि नियमन गर्न सकेन । कानुनी अभाव हटाउन बोर्डकै अगुवाइमा कमोडिटी बजारसम्बन्धी अध्ययन भएको थियो । अध्ययनपछि बोर्डले ऐनको मस्यौदा बनाएर अर्थ मन्त्रालयमा पठाएको थियो ।
ढिलै भए पनि बजारसम्बन्धी विधेयक सांसदमा ल्याउने सरकारको घोषणाले कमोडिटीज व्यवसायीमा नयाँ आशा जागेको छ । सरकारले गरेको यो घोषणा अत्यन्तै उत्साहजनक र सकारात्मक रहेको मर्कन्टाइल एक्सचेन्ज (मेक्स) का प्रमुख कार्यकारी अधिकृत जितेश सुरेन्द्रनले बताए । “सरकारले जतिसक्दो छिटो ऐन जारी गरी हामीलाई नियमन गरिदेओस्,” उनले भने । सम्भवत आगामी आवमा नै ऐन कार्यान्वयनमा आउने बोर्डका कार्यकारी निर्देशक एवं प्रवक्ता निरज गिरीले बताए । “ससंद्बाट पास हुनासाथ विनियमावली बनाएर कार्यान्वयनमा ल्याउने छौं,” उनले भने ।
सरकारले दार्तामा रोक लगाउने समयसम्म ५० वटा कमोडीटी एक्सचेन्ज दर्ता भएका थिए भने आठ वटा सञ्चालनमै आएका थिए । तर, अहिले जम्मा तीन एक्सचेञ्ज मात्रै अस्तित्वमा छन् । त्यस्तै, २ सय ब्रोकर कम्पनी र करिब २० हजार लगानीकर्ता रहेको कमोडिटीज बजार अहिले शून्यप्रायः छ । अधिकांश ब्रोकरहरू विलय भइसकेका छन् भने लगानीकर्ता ऐनको अभाव बजारमा प्रतिढुक्क हुन सकेका छैनन् । कारोबार गर्न इच्छुक लगानीकर्ता पनि ऐन नभएकै कारण निरुत्साहित भएको सेलेक्टनेट सेक्युरिटीज एन्ड इन्भेस्टमेन्टका निर्देशक राहुल गाडियाले बताए । तर, अब भने बजारले गति लिनेमा उनी विश्वस्त छन् । “सरकारले ढिलै भए पनि बजारको समस्या सम्बोधन गर्ने भनेको छ, आशा गरौं ऐन छिट्टै जारी हुनेछ,” उनले भने ।
कमोडिटी बजारका विषयमा नकारात्मक सूचना प्रवाह हुँदा लगानीकर्ताको आत्मबल कमजोर भए पनि पछिल्लो दुई वर्षदेखि भने बजारमा लगानीकर्ताको संख्या बढ्न थालेको छ । अहिले यो बजारमा करिब १० हजार लगानीकर्ता रहेको मेक्सका रिलेसनसिप म्यानेजर नरेन्द्रप्रसाद भट्टले बताए । “लगानीकर्ता परिपक्क बन्दै गएका छन्,” उनले भने, “बजारको विषयमा आफैं विश्लेषण गर्ने सक्ने भएकाले पनि बजारप्रति उनीहरूको आकर्षण बढ्न थालेको हो ।” बजारमा जोखिम र अवसर दुवै रहने तर सुझबुझका साथ कमोडिटी बजारमा लगानी गर्ने लगानीकर्ताले अतिरिक्त समयमा पनि ठूलो आम्दानी गर्न सक्ने उनले बताए ।
- See more at: http://np.karobardaily.com/2016/06/87036/#sthash.twQgflSr.dpuf
No comments:
Post a Comment