Tuesday, June 7, 2016

बिमालेख धितोमा कर्जाको माग न्यून

मुना कुँवर 
काठमाडौं, २५ जेठ 
जीवन बिमा कम्पनीमा बिमालेख धितोबापत प्राप्त हुने कर्जाको माग अत्यन्तै न्यून हुने गरेको छ । बिमा कम्पनीमा मुस्किलले ५ देखि १० प्रतिशत बिमितले मात्रै बिमालेख धितोबापतको कर्जा प्रयोग गर्ने गरेको बिमकहरू बताउँछन् । चालू आर्थिक वर्षको चैत मसान्तसम्ममा ७ अर्ब ९० करोड रुपैयाँ बिमालेख धितोमा कर्जा प्रवाह भएको छ । अघिल्लो आवको सोही अवधिको तुलनामा यो रकम ४४ प्रतिशतले बढी हो । गत आवको चैतसम्ममा यस्तो कर्जा ५ अर्ब ४५ लाख कर्जा वितरण भएको कम्पनीहरुले प्रकाशित गरेको वित्तीय विवरणमा उल्लेख छ । कम्पनीहरूले वितरण गरेको कर्जा अत्यन्तै न्यून भएको नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत विवेक झाले बताए । “यस्तो कर्जाप्रति बिमितहरूको आकर्षण नै छैन,” उनले भने । मुस्किलले १० प्रतिशत बिमितले कर्जाको माग गरेको उनले बताए । कम्पनीहरूले न्यून ब्याजदर र सहज प्रक्रियाबाट कर्जा प्रवाह गरे पनि बिमितहरूमा यससम्बन्धी जानकारी कम हुँदा माग नभएको हुने सक्ने एसियन लाइफ इन्स्योरेन्सका कामु उपप्रबन्धक सुनिल बज्राचार्यले बताए । “सम्पत्ति धितो नराखी बिमालेखको आधारमा कर्जा पाउँदा पनि माग भने न्यून छ,” उनले भने । गुराँस लाइफ इन्स्योरेन्समा पनि करिब ५ प्रतिशतले बिमितले मात्रै यस्तो कर्जा माग गरेका छन् । कम्पनीका नायब महाप्रबन्धक नारायणप्रसाद भट्टराईका अनुसार बिमाको उद्देश्यभित्र कर्जा नपर्ने भएकाले पनि बिमितहरूले कर्जा प्रयोग नगरेका हुन् । “बिमितहरू एकमुस्ट रकम लिन चाहन्छन्,” उनले भने, “तर, कर्जा लिए भने त्यो उद्देश्य पूरा हुन सक्दैन ।” त्यसैले पनि कर्जा माग नगरेको हुन सक्ने उनले स्पष्ट पारे । बिमालेख धितो कर्जा भनेको बिमितहरूले बिमा कम्पनीहरूबाट खरिद गरेको जीवन बिमालेख धितो राखी लिइने कर्जा हो । यसको लागि बिमितले कम्तीमा पनि दुइटा किस्ता प्रिमियम बुझाएको हुनुपर्नेछ । कर्जा लिँदा बिमितले बिमालेखका अतिरिक्त अन्य कुनै धितो वा जमानी राख्नुपर्दैन । बिमितले कम्पनीमा बुझाएको बिमाशुल्ककोे आधारमा कम्पनीहरूले कर्जा वितरण गर्दै आएका छन् । बिमा समितिको प्रावधानअनुसार बिमाशुल्कको समर्पण मूल्यांकनपछि कम्पनीहरूले अधिकत्तम ९० प्रतिशतसम्म कर्जा दिन सक्छन् । यस्तो कर्जामा कम्पनीहरूले १० देखि ११ प्रतिशत ब्याज लिने गर्छन् । बिमा अवधिभित्र कुनै पनि समयमा कर्जा भुक्तानी गर्न सकिन्छ । भुक्तानीको नभएको अवस्थामा बिमाशुल्कबाट नै कम्पनीले कर्जा असुल गर्छन् । कम्पनीहरूको वित्तीय विवरणअनुसार नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले यस्तो कर्जा सबैभन्दा धेरै वितरण गरेको छ । चालू आवको चैतसम्ममा कम्पनीले ३ अर्ब २९ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । यो रकम गत आवको सोही अवधिको तुलनामा ७१ प्रतिशतले बढी हो । तर, राष्ट्रिय बिमा संस्थान र अमेरिकन लाइफ इन्स्योरेन्सले भने यस्तो कर्जा प्रवाह नै गरेका छैनन् । यस्तो कर्जाबाट चैतसम्ममा कम्पनीहरूले ५० करोड ७० लाख रुपैयाँ आम्दानी गरेका छन् । यो रकम गत आवको सोही अवधिको तुलनामा ३७.५६ प्रतिशतले धेरै हो । गत आवको सोही अवधिमा यस्तो कर्जाबाट कम्पनीहरूले ३६ करोड ८५ लाख रुपैयाँ आम्दानी गरेका थिए - See more at: http://np.karobardaily.com/2016/06/87707/#sthash.gmEIv0by.dpuf

No comments:

Post a Comment