Wednesday, June 15, 2016

विदेशी कम्पनीले घटाएनन् पुनर्बिमा शुल्क

मुना कुँवर
काठमाडौं, १ असार – गत वर्षको भूकम्प र त्यसपछिका विभिन्न अध्ययनहरूबाट नेपाल भूकम्पीय दृष्टिकोणले उच्च जोखिममा रहेको देखिएपछि अन्तरराष्ट्रिय पुनर्बिमा कम्पनीहरूले नेपाली बिमा कम्पनीको जोखिम लिँदा उच्च बिमा शुल्क लिन थालेका छन् । जोखिमका आधारमा बिमाशुल्क निर्धारण गर्ने कम्पनीहरूले समय समयमा शुल्कमा पुनरावलोक गर्ने गरेकोमा यसपटक भने एक वर्षसम्मपनि शुल्क नघटाएको बिमा कम्पनीका उच्च अधिकारी बताउँछन् ।

नेपालको जटिल भौगोलिक बनावटको कारण प्राकृतिक प्रकोप र भूकम्पको जोखिम धेरै देखिएको भन्दै पुनर्बिमा कम्पनीहरूले बिमाशुल्कको दर बढाएको सिद्धार्थ इन्स्योरेन्स कम्पनीका निमित्त महाप्रवन्धक वीरेन्द्र बैदावर क्षेत्रीले बताए । “कुनै पनि क्षेत्रमा जोखिम उच्च हुने वित्तिकै पुनर्बिमा कम्पनीले शुल्क दर बढाउँछन् । जोखिम कम हुँदै गएमा पुनः घटाइन्छ,” उनले भने । तर, भूकम्प पछि डेढ प्रतिशतले बढाइएको बिमाशुल्क दरमा अहिलेसम्म पुनर्विचार नगरिएको उनले बताए ।
बिमा भनेको जोखिमको हस्तान्तरण गर्नु हो । जोखिमको आधारमा नै बिमाशुल्क निर्धारण गरिन्छ । अर्थात् जति धेरै जोखिम भयो बिमाशुल्क दर पनि त्यति नै उच्च हुन्छ । क्षेत्रीका अनुसार नेपालको बिमा व्यवसाय काठमाडौंमा मात्रै केन्द्रित रहेको र काठमाडौंमा भूकम्पको जोखिम उच्च रहेको अध्ययनहरू आइरहेकाले बिमाशुल्क बढी भएको हो ।

त्यस्तै, कम्पनीहरूले पुनर्बिमाबापत बिमा कम्पनीहरूलाई दिँदै आएको कमिसन रकम पनि घटाएको बिमकहरूले बताएका छन् । सगरमाथा इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर बस्नेत पुनर्बिमा कम्पनीले दिँदै आएको पुनर्बिमा कमिशन २० प्रतिशतले घटाएको बताए । “गत वर्ष ठूलो भूकम्प गयो । त्यसपछि पनि पराकम्पन जाने क्रम रोकिएको छैन । त्यसैले नेपालमा जोखिम बढी रहेको भन्दै पुनर्बिमाशुल्क दर नबढाए पनि कमिसनको दर भने घटाएका छन्,” उनले भने ।
बिमाशुल्क दर सधैं जोखिममा आधारित हुन्छ । बढी जोखिमयुक्त काम गर्ने व्यक्ति वा वस्तुको बिमा गर्दा बिमाशुल्क दर बढी भुक्तानी गर्नुपर्छ । नेपालमा जोखिम बढ्ने बित्तिकै अन्तरराष्ट्रिय पुनर्बिमा कम्पनीले बिमाशुल्क दर बढाउनु स्वाभाविक रहेको बिमा समितिका अध्यक्ष प्रा.डा फत्तबहादुर केसीले बताए । “तर यो सधैं यथावत् रहँदैन । जोखिम घट्दै गएपछि पुनर्बिमा कम्पनीले यसमा पुनर्विचारसमेत गर्छन्,” उनले भने ।

यसअघि पनि नेपालमा धेरै हवाई दुर्घटना भएको भन्दै अन्तरराष्ट्रिय पुनर्बिमा कम्पनीले हवाई क्षेत्रको पुनर्बिमाशुल्क दर वृद्धि गरेका थिए । केही कम्पनीले विमाशुल्क दर नै वृद्धि गर्छन् भने केही पुनर्बिमा कमिसन घटाउने गर्छन् । तर, केही कम्पनीले भने बिमाशुल्क दर पनि बढाउने र कमिशन पनि घटाउने गरेको विमकहरू बताउँछन् ।
बिमा कम्पनीहरूले आफ्नो क्षमताभन्दा माथि रहेको जोखिम अर्को कम्पनीलाई हस्तान्तरण गर्छन् । यसरी बिमा कम्पनीहरूले अर्को कम्पनीलाई जोखिम हस्तान्तरण गर्ने प्रक्रियालाई पुनर्बिमा भनिन्छ । यसरी बिमा कम्पनीहरूले जोखिम बहन गर्ने कम्पनीलाई पुनर्बिमा कम्पनी भनिन्छ । नेपालका बिमकले भारत, जापान, अष्ट्रेलिया, अफ्रिका, श्रीलंका, मलेसिया, बेलायत, अमेरिकालगायतका पुनर्बिमा कम्पनीसँग पुनर्बिमा गराउँदै आएका छन् ।
- See more at: http://np.karobardaily.com/2016/06/88612/#sthash.WOMOM7gF.dpuf

No comments:

Post a Comment