Thursday, June 30, 2016

कृषि बिमा कृषकलाई अपुरो

मुना कुँवर
काठमाडौं, १६ असार

काठमाडौंका भूपेन्द्रमान सिंहले चितवनमा व्यावसायिक रूपमा नै ‘जनकपुर गोट फार्मिङ’ सञ्चालन गरेका छन् । ६५ वर्षीय सिंहले ०७० सालदेखि बाख्रा पालन व्यवसाय सुरु गरेका हुन् ।
उक्त फार्ममा उनले करिब ८ करोड रुपैयाँ लगानी गरेका छन् । २०० बाख्राबाट व्यवसाय सुरु गरेका सिंहले अहिले विभिन्न जातका ५४० बाख्रा पालिरहेका छन् । उनीसँग ३ लाख ७५ हजार रुपैयाँ पर्ने २ वटा बयर जातका बाख्रा छन्, जसलाई उनले अफ्रिकाबाट आयात गरेका हुन् । त्यस्तै, ३२ हजार रुपैयाँ पर्ने सिरोही जातिका ३० ओटा बाख्रा छन्, जुन उनले भारतबाट ल्याएका हुन् । अन्य सामान्य जातका बाख्रा छन्, जसको मूल्य प्रति बाख्रा करिब १० देखि १५ हजार रुपैयाँसम्म पर्छ ।

सुरुको वर्ष उनले शिखर इन्स्योरेन्स कम्पनीबाट २ सय ४० वटा बाख्राको बिमा गरेका थिए । बाख्राको मूल्य लाखभन्दा बढी परे पनि सबै खालका बाख्रालाई कम्पनीले १०/१० हजारमा मात्र बिमा गरेको उनले गुनासो गरे । त्यस्तै, पहिलो वर्ष उनको ३० वटा ब्राखा मरे । मरेका बाख्राको कम्पनीले करिब डेढ बर्षपछि मात्रै दाबी भुक्तानी गरेको उनले बताए । “कम्पनीले तपार्इंको थोरै मूल्यको दाबी छ, केही समय पर्खनुहोस भन्दै कुरायो,” उनले भने ।
सिंहले अर्को वर्ष सगरमाथा इन्स्योरेन्स कम्पनीसँग ४ सयभन्दा बढी बाख्रा बिमा गराए । सगरमाथाले पनि उनका सबै खालका बाख्रालाई १०/१० हजारमा मात्रै बिमा ग¥यो । बिमा समितिले नै १० हजारमात्रै बिमा गर्न निर्देशन दिएको कम्पनीले बताएपछि सिंहको केही जोर चलेन । अहिले उनको १३२ बाख्राको बिमा नवीकरण गर्ने समय भएको छ । “अहिले त झन् ५/५ हजार रुपैयाँमा मात्रै बिमा गर्न मिल्ने कम्पनीले बताएको छ,” उनले भने । आफूसँग बाख्राको मूल्य प्रमाणित गर्ने रसिद र स्वास्थ्य परीक्षण गरिएको कागजपत्र हुँदाहुँदै पनि कम्पनीले बास्तविक मूल्यमा बिमा गर्न नमानेको उनको गुनासो छ । “बिमा कम्पनीले किसान भन्नेबित्तिकै हेप्छन्, दाबीको प्रक्रियामा पनि अनावश्यक रूपमा धेरै कागजपत्र माग गर्छन्,” उनले भने ।
रोल्पाका भोलानाथ आचार्यले केही समयअगाडि धादिङबाट बयर जातिको बाख्रा खरिद गरेका थिए । व्यवसायका लागि उनले १ लाख १६ हजार रुपैयाँमा उक्त बाख्रा खरिद गरेका हुन् । बाख्राको बिमाका लागि उनी विगत एक महिनादेखि नेसनल इन्स्योरेन्सको स्थानीय कार्यालयमा धाइरहेका छन् । तर, कम्पनीले भने ७० हजार रुपैयाँभन्दा बढीमा बिमा नगर्ने बताएपछि उनी अलमलमा परेका छन् । बाख्रा खरिद गरेको रसिद देखाउँदा समेत कम्पनीले थोरै मूल्यमा मात्रै बिमा गर्न सकिने बताएको उनले गुनासो गरे । “कम्पनीले बिमा समितिको नियम अनुसार ७० हजार रुपैयाँ भन्दा बढीको बिमा गर्न नसिकने बतायो,” उनले भने ।
सिंह र आचार्य त प्रतिनिधि पात्र मात्रै हुन् । यस्ता खालका समस्या थु्रपै कृषकको छ । पशुको वास्तविक मूल्यभन्दा कममा बिमा गर्दा उल्टो आर्थिक भार बढ्ने कृषकहरूको गुनासो छ ।

पशुको वास्तविक मूल्य प्रमाणित हुने आधार र स्वास्थ्य परीक्षणपछि मात्रै पशुको बिमांक रकम तोक्ने सकिने सगरमाथा इन्स्योरेन्स कम्पनीका नायव महाप्रबन्धक चन्की क्षेत्रीले बताए । “केही कृषकले कृषिको बिमा अनुदानको दुरुपयोग गर्न नियतवश नै पशुको मूल्य बढाउँछन्,” उनले भने । त्यसैले यस्ता जोखिमलाई कम गर्न कम्पनीले कम मूल्यमा विमा गर्ने गरेको उनले बताए । त्यस्तै, अन्य मुलुकबाट ल्याइएका पशुहरूमा बढी जोखिम हुन्छ । नेपालको वातावरणमा उनीहरू घुलमिल हुन सक्दैनन् । मृत्यु हुने खतरा बढी हुन्छ । त्यसैले पनि बिमांक रकम घटाएर बिमा गर्ने गरेको उनले स्पष्ट पारे । “हामीले बिमा गर्दिनँ भन्न त मिल्दैन,” उनले भने, “तर गलत प्रक्रियाबाट धेरै दाबी आउने अवस्था देखिएमा हामीले पनि आफ्नो जोखिमको सुरक्षा गर्नुपर्छ ।”
हालसम्म पशु बिमांक रकम तोक्ने कुनै वैज्ञानिक आधार छैन । यद्यपि कृषकले पशुको मूल्य प्रमाणित हुन सक्ने आधार देखाएमा सोहीअनुसार बिमांक रकम तोकिनुपर्ने बिमा समितिका उप–निर्देशक कुन्दन सापकोटाले बताए । “यथेष्ट प्रमाण हुँदाहुँदै कम मूल्यमा विमा गर्न मिल्दैन,” उनले भने । बिमांक रकममध्ये कृषकले ५ प्रतिशत मात्रै बिमा शुल्क भुक्तानी गर्नुपर्छ । उक्त बिमाशुल्कमा पनि सरकारले ७५ प्रतिशत अनुदान दिएको छ ।
कृषि क्षेत्रलाई व्यवसायीकरण गर्न सरकारले २०६९ देखि कृषि बिमा लागू गरेको हो । मन्त्रालयले सुरुवात गरेको कृषि बिमालाई सफल बनाउन समितिले आव ०७०/७१ देखि कृषि बिमालाई अनिवार्य गरेको छ । कृषकलाई बिमाका लागि प्रेरित गर्न सरकारले अनुदानसमेत दिएको छ ।
- See more at: http://np.karobardaily.com/2016/06/90682/#sthash.4dYeEA1Z.dpuf

No comments:

Post a Comment