Sunday, July 3, 2016

ब्रेक्जिटले बीमाबजारमा के अर्थ राख्छ ?

पदमराज अवस्थी
प्रजातान्त्रिक धर्तीमा देश र जनताको भविष्यको फैसला गर्ने सर्वेसर्वा स्वयम् जनताभन्दा अरू कोही राजनीतिक नेता हुन सक्दैन भन्ने गतिलो पाठ जुन २४ मा भएको बेलायती जनमतसङ्ग्रहको नतीजाले सिकाएको छ । बहुसङ्ख्यक, झण्डै ५२ प्रतिशत जनताले यूरोपेली युनियनको साङ्गठनिक सदस्यबाट बिदा लिने ऐतिहासिक निर्णय देश र यूरोपेली राष्ट्रहरूलाई सुनाए । अधिकांश बेलायती नागरिक घरको छतबाट रङ्गीविरङ्गी साना–ठूला बेलुनहरू बेलायती अनन्त आकाशसम्म उडाइरहेका छन् । हरेक पानीपँधेरो, दोबाटो र चौबाटोमा विजयको सिम्रिक घसिरहेका छन् । शायद शिल्पकारहरू एक्लो बेलायतको मनमोहक चित्र कुँदेर लण्डनमा भव्य प्रदर्शन गर्ने तयारी गरिरहेका छन् । अर्कोतिर भने प्रधानमन्त्री डेभिड क्यामरुनले नतीजा आउनेबित्तिकै राजीनामा दिने घोषणा गरेको क्षणबाटै विश्व अर्थतन्त्र अन्योलमा प्रवेश गर्‍यो ।

बेलायत बाहिरिएपछिको यूरोप–बेलायत सम्बन्ध कसरी अघि बढ्छ र यसको भूअर्थ राजनीतिक प्रभाव के हुनेछ ? भन्ने निक्र्योल हुनुअगावै विश्वबजारमा विभिन्न हल्ला फैलिए, जसको प्रभावस्वरूप बेलायती मुद्रा विनिमय दरमा ८ प्रतिशतको गिरावट देखाप¥यो भने विश्व शेयरबजार जस्तै निक्केइ २२५ मा ७ दशमलव ९ प्रतिशत, कोस्पी र एएसएक्समा ३ प्रतिशत र डीएएक्समा ६ प्रतिशतको भारी गिरावट आयो । बजारमा व्याप्त यही अनियन्त्रित प्रक्षेपित हल्लाका कारणले विश्व बीमाबजारमा समेत ठूलो तरङ्ग पैदा भएको छ । विभिन्न अन्तरराष्ट्रिय बीमा सङ्घसङ्गठनले विज्ञप्ति जारी गर्ने लहर चलेको छ ।
संयुक्त अधिराज्य व्यावसायिक बीमासम्बन्धी गतिविधिका लागि सर्वाधिक रुचाइएको केन्द्र मानिन्छ । यूरोपेली युनियनको स्वतन्त्र व्यापारनीतिले संयुक्त अधिराज्यबाट अरू यूरोपेली राष्ट्रहरूमा कारोबार गर्न एकदमै सहज बनाएको थियो, जसका कारण यूरोपेली राष्ट्रहरूलाई लक्षित गरेरसमेत लण्डन सेरोफेरोमा सहायक कम्पनी खोल्ने चलन व्यापक रूपमा फैलिएको थियो । संयुक्त अधिराज्यको वित्तीय क्षेत्रको कुल गार्हस्थ्य उत्पादनमा पर्ने योगदानको करीब १० प्रतिशत बीमाक्षेत्रले पूर्ति गरिरहेको छ । नतीजा आएकै दिन शुक्रवार मात्रै जायण्ट इन्सुररहरू अभिभा १५ प्रतिशत, प्रुडेन्सियल फाइनान्सियल ७ प्रतिशत र अमेरिकन इण्टरनेशनल ग्रूप ४ दशमलव ७ प्रतिशतले बजारशेयर मूल्यमा गिरावटको सामना गरेका छन् । यी कम्पनीले दायित्व पूर्ति प्रयोजनार्थ ठूलो आकारमा बोण्ड जारी गरेका छन् । तर, धितोपत्रको बजारमूल्यमा आएको गिरावटले अल्पकालमा कम्पनीको सोल्भेन्सी अनुपातमा असर पर्ने देखिन्छ । त्यस्तै, जीवन बीमा कम्पनीहरूमा अझ भयानक असर परेको देखिन्छ ।
सामान्यतया संयुक्त अधिराज्य बाहिरिएसँगै उसको यूरोपसँगको व्यापार सम्बन्धमा प्रतिकूल असर पर्न सक्ने आकलन गरिएको छ र यसबाट क्रश बोर्डर व्यापार प्रभावित बन्ने हल्ला चलाइएको छ । क्रश बोर्डर व्यापारमा बाधा आउन सक्ने आकलन गरिएसँगै निर्जीवन बीमा कम्पनीहरूले संयुक्त अधिराज्यबाट कम्पनी स्थानान्तरण गर्ने वा सहायक कम्पनी यूरोपेली राष्ट्रहरूमा खोल्ने चर्चा सतहमा ल्याएका छन् । लण्डनस्थित लियोड्स बीमाबजार धेरै बीमा कम्पनी र ब्रोकर्सको रोजाइको पहिलो बिन्दु बन्ने गरेको छ । लियोड्स आफैमा भने कम्पनी नभई विभिन्न विज्ञ, कम्पनी र ब्रोकरहरूका लागि तयार पारिएको एउटा बजार व्यवस्था हो, जहाँ विभिन्न व्यक्ति एकत्रित भई जोखीमाङ्कनसम्बन्धी कार्य निर्वाह गर्छन् भने कम्पनी तथा ब्रोकरहरूले बीमाशुल्क सङ्कलन गरी जोखीम वित्तीयकरण गर्ने गर्छन् । यस बजारको सदस्य बनेमा यूरोपेली देशहरूमा गरिने कारोबार यही बजारबाट सम्पन्न गर्न सकिने र ‘पार्सपोर्ट राइट’को प्रयोगबाट यूरोपेली राष्ट्रहरूमा सहायक कम्पनी खोल्न पनि आवश्यक हुँदैन । तर, शुक्रवार लियोड्सलाइ प्राप्त पासपोर्ट राइट रद्द भएको छ । उसलाई कुल बीमाशुल्कको ११ प्रतिशत अंश यूरोपबाट प्राप्त हुँदै आएको छ । तर, उसका सदस्य कम्पनीहरूले यूरोपमै सहायक कम्पनी स्थापना गरे भने यो बीमाशुल्क प्राप्त गर्नबाट उसले वञ्चित हुनुपर्ने निश्चित छ ।
आन्तरिक विरोध हुँदाहुँदै पनि संयुक्त अधिराज्यले यूरोपेली युनियन संसद्बाट सोल्भेन्सी २ निर्देशिका पारित गराउन सफल भएको थियो र उक्त निर्देशिका गत जनवरी १ बाट बेलायतसहितका सम्पूर्ण यूरोपेली राष्ट्रहरूले कार्यान्वयनमा ल्याएका छन् । जोखीममा आधारित पूँजी संरचना हुनुपर्ने आशय बोकेको उक्त निर्देशिकाले बेलायतसहित सम्पूर्ण यूरोपेली राष्ट्रहरूको बीमा संरचनामा एकरूपता ल्याउने महŒवाकाङ्क्षा बोकेको थियो । तर, बेलायत युनियनबाट बाहिरिएसँगै उक्त निर्देशिकाको पालनामा अन्योल सृजना भएको छ । निर्देशिका निर्माणकै चरणमा व्यापक विरोधको सामना गरेको बेलायतले अबका दिनमा कसरी एकल प्रयासबाट उक्त निर्देशिकाको निरन्तर कार्यान्वयन गराउन सक्छ भन्ने चासो सर्वत्र उब्जन थालेको छ । यदि उक्त निर्देशिका कार्यान्वयन गराउनबाट बेलायत पछि प¥यो भने बेलायतका बीमा कम्पनीलाई यूरोपेली युनियनले यूरोपेली बीमा कम्पनीसरह मान्यता नदिन सक्छ र क्रश बोर्डर व्यापार सहजीकरणमा उपयोग गरिने बेलायती कम्पनीहरूद्वारा जारी गरिने बीमालेखहरू क्षेत्रीय र अन्तरराष्ट्रिय बजारमा मान्य नहुन सक्नेछन् ।
जनमतसङ्ग्रहको नतीजाप्रति टिप्पणी गर्दै लियोड्सका अध्यक्ष जोन नेल्सनले कम्पनीको वेबसाइटमार्फत लियोड्स सधैं विश्व बीमा तथा पुनर्बीमा विज्ञहरूको केन्द्र बन्ने र यूरोपेली देशहरूसँगको सम्बन्ध अटुट रूपमा प्रगाढ रहने विश्वास गरेका छन् । आगामी २ वर्षसम्म कुनै पनि योजनामा परिवर्तन नआउने र त्यसपछि भैपरी आउने परिस्थितिको सामना गर्न लियोड्स तयार रहेको छ । नेल्सन टिप्पणी गर्छन्, ‘विगत ७ वर्षमा लियोड्सले धेरै देशसँग साइनो जोड्न सफल भएको छ । सिङ्गापुर, चाइना, मेक्सिको, दुबई, कोलम्बियालगायत देशमा बजार विस्तार गरेसँगै लियोड्स बेलायतको मात्रै नभई विश्वका लागि नै स्थानीय बजार भएको छ ।’ जोनका अनुसार बेलायतको बहिर्गमनले बेलायती बीमाबजारमा चर्चा चलेजस्तो भयानक असर नपर्ने देखिन्छ ।
जनमतसङ्ग्रहको नतीजाले छुट्टिने प्रक्रियाको शुरुआत मात्रै गरेको छ । अबका केही वर्ष दुईपक्षीय एवम् बहुपक्षीय समानान्तर वार्तामा नै बित्नेछन् । पासपोर्टिङको मुद्दा, यूरोपेली युनियनद्वारा निर्देशित बेलायती कानुनहरू, मर्जर तथा एक्वीजिशनसम्बन्धी व्यवस्थालाई कसरी समायोजन गर्ने भन्ने अबको मुख्य विषय हो । ४३ वर्षसम्मको एकीकृत प्रयासबाट बीमाबजारका लागि प्राप्त गरिएका उपलब्धिलाई कसरी संस्थागत गर्ने भन्ने कुरा बेलायत र यूरोपेली युनियनबीचको सामानान्तर वार्ताले तय गर्नेछ । वार्ताका क्रममा यूरोपेली युनियनले हार्ड लाइनरको स्थानमा उभिए बेलायतका लागि युुरोपेली राष्ट्रहरूसँगको अन्तरदेशीय व्यापारमा बाधा सृजना हुनेछ र बेलायतले यसका लागि केही मूल्य चुकाउनुपर्नेछ । सम्पूर्ण मुद्दाको चाँजोपाँजो मिलाउन कम्तीमा पनि १ दशक लाग्न सक्छ । यसले अवश्य दुईपक्षीय व्यापारमा केही अन्योल निम्त्याउने नै छ । तर, कानूनी जटिलताबाहेक बेलायती बीमा वा बेलायत आधारित बीमा कम्पनीहरूको थोरै अंश मात्रै यूरोपेली देशहरूले ओगटेको हँुदा घरेलु तथा अन्तरराष्ट्रिय बीमाबजारमा भने प्रतिकूल असर पर्ने देखिँदैन ।

 लेखक बीमा अध्येता  हुन् ।
http://www.abhiyan.com.np/new/Articles/view/81098

No comments:

Post a Comment