Tuesday, July 19, 2016

बाली तथा पशुपन्छी निर्देशिका परिमार्जन, झुठो सिफारिस गर्ने प्राविधिकलाई निलम्बन

कारोबार संवाददाता
काठमाडौं, ४ साउन
बिमा समितिले बाली तथा पशुपन्छी बिमा निर्देशिका ०६९ परिमार्जन गरेको छ । समितिले कृषि बिमाअन्र्तगत बिमा दाबी उजुरी अवधि, पशुको अधिकतम बिमांक रकम, बाच्छा–बाच्छीलगायतको बिमांक रकममा परिमार्जन गरेको छ । समितिले साउनदेखि नै लागू हुने गरी बिमांक मूल्यांकन तथा अनुगमनसम्बन्धी नयाँ व्यवस्थासमेत थप गरेको छ ।
संशोधित निर्देशिकाअनुसार बिमकले गरेको दाबीसम्बन्धी निर्णयमाथि बिमितलाई चित्त नबुझेमा बिमा समितिमा उजुरी गर्न सकिने भएकोे छ । तर, बिमकले निर्णय गरेको ६० दिन भित्रमा नै उजुरी गर्नुपर्नेछ । साविकमा उजुरी दिने प्रावधान रहे पनि कहिलेसम्म दिन सक्ने भन्ने प्रष्ट खुलाइएको थिएन ।

त्यस्तै, निर्देशिकाको १४ औं बुँदामा स्थानीय बजार मूल्य, प्राविधिक, बिमित र बिमितको आपसी सहमतिका आधारमा पशुको अधिकतम बिमांक रकम तोक्न सकिने व्यवस्था गरिएको छ । यसअघि गाई–भैसींको बिमांक रकम अधिकत्तम तोकिने व्यवस्था गरिए पनि त्यसको आधार खुलाइएको थिएन ।
पशु बिमाअन्तर्गत बाच्छा–बाच्छीलगायत कलिला जनावरको पनि बिमा गर्न सुविधा भए पनि दाबी भुक्तानीको विषयमा पनि निर्देशिकाले स्पष्ट पारेको थिएन । तर, परिमार्जित निर्देशिकाले दाबी भुक्तानी गर्दा बाच्छा–बाच्छीको उमेरको आधारमा गर्नुपर्ने व्यवस्था गरेको छ ।
बिमा समितिले कृषि विकास मन्त्रालयको समन्वयमा ०६९/७० देखि कृषि बिमा योजना सुरु गरेको हो । विगत तीन वर्षको अवधिमा लक्ष्यभन्दा बढी कृषि बिमा जारी भएको समितिले जनाएको छ । सो अवधिमा देखिएका कमीकमजोरीलाई सम्बोधन गर्न निर्देशिका परिमार्जन गरिएको समितिका उपनिर्देशिक कुन्दन सापकोटाले बताए । “कृषि बिमालाई समय सापेक्षा परिमार्जन गर्न निर्देशिका संशोधन गरिएको हो,” उनले भने ।
यसका साथै बिमा कम्पनीहरूमा कृषि बिमासम्बन्धी झुठो दाबी आउने क्रम बढेपछि समितिले नयाँ व्यवस्था गरेको छ । प्राविधिकले नै झुठो बिमांक रकम सिफारिस गरेको प्रमाणित भएमा निजलाई बिमाको कार्य गर्नबाट रोक लगाइने भएको छ । त्यस्तै, बिमकले अनुगमन गर्दा बिमालेखमा उल्लेख गरिएको शर्तअनुसार कृषकले पशु वा बालीको उचित स्याहार सम्भार नगरेको भेटेमा सात दिनको सूचना दिई बिमालेख रद्द गर्न सक्नेछ । तर, सोको प्रमाण राखी १५ दिनभित्रमा बिमा समितिमा जानकारी गराउनुपर्ने शर्त परिमार्जित निर्देशिकामा राखिएको छ ।
- See more at: http://np.karobardaily.com/2016/07/93235/#sthash.veq3jbgx.dpuf

No comments:

Post a Comment