Wednesday, July 27, 2016

लघुबिमा कम्पनी खोल्ने तयारी, चुक्ता पुँजी ५० करोड हुने

मुना कुँवर

काठमाडौं, १२ साउन

जीवन बिमा, निर्जीवन बिमा तथा पुनर्बिमा कम्पनीको संयुक्त लगानीमा लघुबिमा कम्पनी स्थापना हुने भएको छ । सरकारले अनिवार्य गरेको पाँच प्रतिशत लघुबिमा जारी गर्न बिमा कम्पनीहरूलाई कठिन हुने भन्दै विकल्पका रूपमा छुट्टै लघुबिमा खोल्ने तयारी गरिएको बिमकहरूले बताएका छन् । उनीहरूका अनुसार पुनर्बिमा कम्पनीको नेतृत्वमा ५० करोड रुपैयाँबराबर चुक्ता पुँजी भएको लघुबिमा कम्पनी खुल्नेछ ।
सरकारले चालू आर्थिक वर्ष ०७२/७३ को बजेटमार्फत बिमा कम्पनीहरूले अनिवार्य रूपमा ५ प्रतिशत लघुबिमा जारी गर्नुपर्ने प्रावधान राखेको छ । तर, बिमा कम्पनीहरूले एकै पटक पाँच प्रतिशत लघुबिमा जारी गर्न नसक्ने बताइरहेका छन् । अहिले कै अवस्थामा लघुबिमा योजना जारी गर्न कम्पनीहरूलाई असहज हुने भएकाले छुट्टै लघुबिमा कम्पनी स्थापना गर्ने बिमकहरूको निर्णय भएको प्राइम लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार भट्टराईले बताए । “जसरी बैंकहरूले लघुवित्त बैंकमार्फत विपन्नवर्गमा कर्जा लगानी गरिरहेका छन्, त्यसैगरी बिमा कम्पनीहरूले लघुबिमा कम्पनीमार्फत लघुबिमा योजना जारी गर्नेछन्,” उनले भने । कम्पनी स्थापनाको तयारी धेरै अगाडि बढिसकेको र केही कानुनी प्रक्रिया पुगेपछि बिमा समितिको सल्लाहअनुसार यसको स्थापना हुने उनले बताए ।

तर, बिमा समितिले भने लघुबिमा कम्पनी खोल्ने विषयमा औपचारिक जानकारी नभएको बताएको छ । बिमक र समितिबीच भएको छलफलमा कम्पनीहरू लघुबिमा लेख जारी गर्ने विषयमा सहमत नै भएको बिमा समितिका अध्यक्ष प्रा.डा. फत्तबहादुर केसीले बताए । “यतिबेला अस्तित्वमा नै नभएको लघुबिमा कम्पनीका बारेमा योजना बनाउनुभन्दा पनि सरकारले दिएको निर्देशनलाई जसरी कार्यान्वयन गर्न सकिन्छ त्यही गर्ने हो,” उनले भने । नीति र प्रावधान नै नभएको लघुबिमा कम्पनीलाई पर्खनभन्दा पनि जसरी सकिन्छ त्यसरी नै काम गर्दै जानुपर्ने उनले सुझाव दिए ।

बिमा विज्ञ रवीन्द्र घिमिरे भने लघुबिमा योजना जारी गर्नका लागि छुट्टै कम्पनी नै खोलिनुपर्ने बताए । “लघुबिमा भनेको व्यावसायिक बिमा लेख होइन । यो सामाजिक सुरक्षाअन्तर्गतको बिमा योजना हो । त्यसैले यस्तो बिमा योजना जारी गर्न भिन्दै कम्पनीमा स्थापना गरिनुपर्छ,” उनले भने ।

समितिले जीवन बिमाअन्र्तगत दुइटा तथा निर्जीवनअन्तर्गत तीनवटा लघुबिमा योजना जारी गरेको छ । लघुबिमा निर्देशिका २०७१ अनुसार १५० रुपैयाँमा दुर्घटना लघुबिमा योजना खरिद गर्न सकिनेछ । यस योजनाको बिमांक रकम भने १ लाख ५० हजार रुपैयाँ छ । बिमितले बिमांक रकमको ०.१ प्रतिशत बिमा शुल्क भुक्तानी गर्नुपर्ने छ । त्यस्तै, ५ सय रुपैयाँमा गार्हस्थ्य लघुबिमा योजना खरिद गर्न सकिनेछ । यो रकम बिमांक रकमको ०.२५ प्रतिशत हो । यस योजनाको बिमांक रकम २ लाख रुपैयाँसम्म हुनेछ । यस योजनाले बिमितको सम्पत्तिको जोखिम बहन गर्छ । स्वास्थ्य लघुबिमा योजनाको बिमा शुल्क १४ सय छ । यो रकम बिमांक रकमको ४ प्रतिशत हो । यस योजना खरिद गरेबापत एक परिवारका पाँच जना सदस्यले ३५ हजारसम्मको स्वास्थ्य उपचार पाउन सक्नेछन् ।
केही कानुनी प्रावधानका कारण प्रक्रिया अगाडि बढ्न नसकेको बताउँदै बिमकहरूले सोही कानुनी समस्या सुल्झाउने प्रयासमा रहेको बताएका छन् ।
- See more at: http://np.karobardaily.com/2016/07/95233/#sthash.JSe861Rc.dpuf

No comments:

Post a Comment