करोडौं युवाका मुटुको ढुकढुकी अङ्ग्रेजी गायिका मारिया क्यारीले स्टेजमा गाउँदा सारा संसार बिर्सेर हजारौं दर्शक उनमा नै लिप्त हुन पुग्छन् । प्रायजसो वस्त्रविहीन खुट्टा लिएर मञ्चमा प्रवेश गर्ने उनी कोकिलकण्ठ स्वरले दुनियाँलाई भुतुक्कै पार्न सक्छिन् । तर, उनको आवाजभन्दा उनका खुट्टाको चाल हेर्न दर्शकहरू उनलाई पछ्याउने गरेको स्वयम् क्यारी स्वीकार गर्छिन् । त्यसैले त उनले १ अर्ब अमेरिकी डलर (करीब नेपाली १ खर्ब रुपैयाँ) रकमबराबरको खुट्टाको बीमा गराएकी छन् । उनका खुट्टामा केही समस्या आइलागेमा साबिककै अवस्थामा फर्काउन १ खर्ब रुपैयाँबराबरको दाबी बीमा कम्पनीसमक्ष तेस्र्याउनेछिन् क्यारीले । यो कुरा सुन्दा अचम्म लाग्न सक्छ । तर, विकसित देशहरूमा धेरै व्यक्तिले हात, वक्ष, नितम्ब, ओठ, जिब्रो, मुस्कान र गलाको बीमा गराएर आफ्नो पेशा सुरक्षित पारेका छन् ।
यो समाचार पढेपछि केही समयअघि जुम्ला पुग्दा भेट भएकी धौली बिष्टको याद आयो । खोलीको कुङ्गेली काट्दा–काट्दा चिरा परेका हात र चप्पलविहीन पैतालाले उकाली ओराली गर्दा रोपाइँपछि खडेरीले दरा परेका उनका खुट्टाहरूको याद आइरहेको छ । झिसमिसमै तीलापारिको रानीवनमा घाँस दाउरा गर्न जाने उनी फर्कंदा साउनको भेलसँगै उर्लेर बगिरहेकी हुन्छे, तीला । हातेसाङ्लो बाँधेर जँघार तर्दा कति धौलीहरूलाई त बगाइसकेको रहेछ, तीलाले । गङ्गा तर्नुअघि धौलीले ७ हप्ताको छोरालाई सम्झिदिरहिछिन् । नरेश भण्डारीले कर्णलीवासीको यही दर्दनाक जनजीवन देखेर ‘चाँदीको घेरा’ पुस्तकमा अरू ठाउँमा पशुको पनि बीमा गरिन्छ तर कर्णालीमा मान्छेको समेत बीमा गरिएको छैन भनी लेखेका होलान् । शायद धौलीलाई पनि क्यारीलाई जस्तै बीमा उपलब्ध गराइँदो हो त दरा परेका कुर्कुच्चा निको पार्न उनले १ खर्बको दाबी गरिसक्थिन् होला । दुर्भाग्य यही छ, यो देशमा जनताको मृत्युको मूल्य छैन ।
धौली त आमनागरिक भएर उपेक्षामा परेकी होलिन् । तर, यो देशमा क्यारीजस्ता कलाकार र रोनाल्डोजस्ता खेलाडीहरू पनि उपचार नपाएर ज्यान गुमाउन विवश छन् । उपचारविना बाँच्नुको पीडा हरियाली वसन्त बहार ल्याउने गायक अरुण थापा, पोखरालाई साँच्चिकै पोखरा बनाउने पे्रमप्रकाश मल्ल, नेपाल आमालाई संसारकै राम्री बनाउने सिकिस्त बिरामी डीबी महेश र गरीब जनताको उपचारमा बैंश खर्चेर उपचार नपाएका डा. चित्रप्रसाद वाग्लेलाई थाहा होला । जब डायलाइसिस सेवा पाऊँ भन्दै मिर्गाैला पीडित सडकमा ओर्लन बाध्य बन्छ, स्तन क्यान्सरको उपचार नपाएर जिन्दगीसँगको विरक्तताले एउटी नारी पासोमा झुण्डिछे र सामान्य उपचार गराउन बेंशीको शेरी जिउलोदेखि लेकको खर्कसम्म लीलाम गर्नुपर्छ भने यो देशका लागि योभन्दा ठूलो दुर्भाग्य अरू के नै हुन सक्छ र ? नेता, प्रधान÷मन्त्रीले त अस्वस्थता महसूस गर्दा एयर एम्बुलेन्स चार्टर गर्ने हिम्मत राख्छन् तर जनताको छोरोसँग एम्बुलेन्ससम्म भाडामा लिने ताकत छैन ।
सर्वोच्च दरको मुद्रास्फीतिले मृत्युको मूल्य विस्थापित गरेको छ । एउटा मान्छेको मृत्यु बेखबर बन्छ तर दोहोरो सङ्ख्यामा मरे समाचारसम्म बन्छ । हरेक साल उसैगरी महामारी फैलिन्छ । कम्तीमा २० जनाको ज्यान गएपछि जिल्ला अस्पतालबाट शिविर सञ्चालन गर्ने चलन पुरानै हो । बैराग त त्यतिखेर लाग्छ जब रोगग्रस्त क्षेत्रबाट रित्तो हात फर्केर जिल्ला अस्पतालको बन्द कोठाभित्र प्रतिवेदन तयार पारिन्छ र सम्बन्धित निकायमा पेश गरिन्छ । सबैलाई थाहै होला, पश्चिमा देशहरू प्रिण्टिङ मेशिनको आविष्कारपछि शक्तिशाली बनेका हुन् । तर, यहाँ प्रिण्ट गरेर अभिलेख राख्ने चलन नै छैन । सम्पूर्ण जिल्ला जनस्वास्थ्य कार्यालयको वेबसाइटभित्र कुनै शीर्षकमा क्लिक गरे ‘पेज इज कमिङ सुन’ देखाउँछ । विश्व स्वास्थ्य क्षेत्रमा आमूल परिवर्तन आउँदासम्म पनि हामी ‘कमिङ सुन’मै छौं । के थाहा प्रोटिन प्रदान गर्ने सुुनको अण्डा पो आउँदै छ कि ?
महेशचन्द्र रेग्मीका अनुसन्धानपत्र पढ्दा स्वास्थ्यक्षेत्रका लागि पहिले पनि प्रयास भएको देखाउँछ । र, विसं २००८ सालको बजेटदेखि सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको विसं २०७३/७४ बजेटसम्म पनि स्वास्थ्यक्षेत्रले विशेष स्थान पाउँदै आएको छ । यस बीचमा स्वास्थ्य मन्त्रालय, केन्द्र, विभाग, परिषद् र विभिन्नस्तरका सेवाप्रदायक संस्थाको स्थापनाका साथै दर्जनौं नीतिनियम बने । वास्तविकतामा भने एउटा मात्रै रिफरल सेण्टर टिचिङ अस्पताल महाराजगञ्जको भरमा सारा नेपालीको स्वास्थ्योपचार धानिएको छ । भेजिनल डेलिभरी सम्भव नभए सिजरिएन डेलिभरीका लागि बाजुराबाट चिलगाडी चढेर नेपालगञ्ज ओर्लनुपर्छ । चिलगाडीको बाटो हेर्दाहेर्दै साँझ पर्छ तर आउँदैन । यसरी कति नारी महतारीे नबन्दै सदाका लागि विमानस्थलमै निदाउँछन् । ब्युउँझै रहेकाहरू चिलगाडी आउने आशा सँगालेर फेरि रित्ता स्थानीय सेवाप्रदायक संस्थामै फर्किन्छन् ।
क्यान्सर, मिर्गाैला, मुटु र मस्तिष्कको समस्याले त जनता पीडामा बाँचेका छन् नै, पखाला र खोकीले मात्रै पनि हजारौं दम्पतीका काख लुटिएका छन्, नारीका सिन्दुर पुछिएका छन्, पुरुषका ओछ्यान रित्ता बनेका छन् र खाने बाटो बन्द भएका छन् । रेमिट्यान्सको प्रतिस्पर्धामा भारत र कजाखस्तानपछि हामी सेकेण्ड रनरअप भएका छौं । तर, ५५ डिग्रीमा काम गर्ने युवाको भोलिको स्वास्थ्य के हुने हो ? सोचेकासम्म छैनौं । रेमिट्यान्सले चलेका यूरोपियन देशहरू एकताका ‘डच डिजिज’लगायतले थला परेका थिए । तर, हामी बन्द बाकसभित्रको लास, बालुवामाथिको बाँस र परिवारजनको धमिलिएको आश आदिले थला होइन खाडलमा पर्नेवाला छौं । अबका केही वर्षमा नेपालीको स्वास्थ्य कस्तो होला भनेर कसैले सोचेका छैनौं ।
सारा स्वास्थ्य समस्याको मूल कारण देशको स्वास्थ्यक्षेत्र परनिर्भर हुनुलाई मान्न सकिन्छ । सार्वजनिक–निजी साझेदारीको अवधारणासहित निजीक्षेत्रलाई स्वास्थ्यक्षेत्रमा प्रवेश गराउन सकिएको छैन । अझ मुख्य कुरा त स्वास्थ्य जोखीम वित्तीयकरण गर्ने उपकरणका बारेमा उदासीन छौं, जसको कारण खल्तीमा पैसा भएमा उपचार पाउने र नभए नपाउने अवस्था छ । स्वास्थ्यबीमाका लागि यो देश आईएनजीओहरूको प्रयोगशाला भइरह्यो । तर, जनस्वास्थ्यलाई ध्यानमा राखेर न सरकारले कुनै दिगो कार्यक्रम ल्यायो न त निजीक्षेत्रले नै । थरीथरी फ्लेभरयुक्त कण्डमको विज्ञापनमा अर्बौं खर्च गर्ने सरकारले यसपालि स्वास्थ्य बीमाका लागि साढे २ अर्ब बजेट विनियोजन गरेको देख्दा जनतामा मसिनो आशा पलाएको छ । सरकारले भौतिक संरचनासहित मानव संसाधनको पनि तीव्र विकास गर्ने बाटो लिएमा जनताले राहत महसूस गर्न पाउने थिए कि ।
प्रारम्भिक चुनौती हुँदाहुँदै पनि कैलाली र इलाममा कार्यक्रम विस्तार गर्नु सराहनीय कदम हो । उक्त कार्यक्रमले रोगबाट केही मुक्ति मिल्ने आशा जनताले लिएका छन् । जनतालाई स्वास्थ्य समस्याबाट मुक्त पार्न अबेला भएको छ । जुन दिन यो देशको सरकारले करोडौं धौलीहरूलाई मारियाको जस्तै स्वास्थ्यबीमा गरिदिनेछ त्यसै दिनदेखि मारिया र धौलीबीच वर्गीय खाडल मात्रै ठूलो हो, मानवताको मूल्य भने समान भएको भान हुनेछ ।
लेखक बीमा अध्येता हुन् ।
No comments:
Post a Comment