आतङ्कवाद वित्तीयीकरण, सम्पत्ति शुद्धीकरण र अन्य अवैध गतिविधिलगायत अपराधबाट वित्तीयप्रणालीलाई जोगाउन सक्नु अन्तरराष्ट्रिय चुनौतीको विषय बनेको छ । सन् १९७० मा फाइनान्सियल क्राइम्स इन्फोर्समेण्ट नेटवर्कको स्थापनापश्चात् सम्पत्ति शुद्धीकरण निवारण प्रयोजनका लागि बैङ्क सेक्रेसी ऐनको तर्जुमा गरिएको थियो । सम्पूर्ण देशका सरकार मिलेर सन् १९८९ मा फाइनान्सियल एक्शन टास्क फोर्स निर्माण गरेका थिए, जसले हरेक देशसँग सम्बन्धित फाइनान्सियल एक्शनहरू नजीकबाट निगरानी गरिरहेको छ । आतङ्कवाद, वित्तीयीकरण र सम्पत्ति शुद्धीकरण निवारण कार्य एकमात्र देश वा एकमात्र क्षेत्रको पहलले असम्भव छ । यो काम वित्तीय क्षेत्रको एकीकृत प्रयासबाट मात्रै सम्भव छ । यसका लागि वित्तीय क्षेत्रको आधा आकाश बीमाक्षेत्रले कस्तो भूमिका निर्वाह गर्न सक्छ भन्ने कुरा उल्लेख गर्न सकिन्छ ।
सम्पत्ति शुद्धीकरण
गैरकानूनी रूपले आर्जन गरेको अकुत सम्पत्तिलाई विभिन्न कारोबार शृङ्खलामार्फत शुद्धीकरण गरी सेतो धन बनाउने कार्य सम्पत्ति शुद्धीकरण हो । यसका प्रमुख तीन चरण हुन्छन्, जसमध्ये पहिलो चरण स्थानान्तरण हो । बीमा कम्पनीले विशेष ध्यान पुर्याउनुपर्ने पनि यही चरणमा नै हो । पैसा फिर्ता हुने खालका अधिकांश बीमालेख जीवन बीमा कम्पनीबाट जारी गरिने हुँदा निर्जीवन बीमा कम्पनीको तुलनामा जीवन बीमा कम्पनीहरू सम्पत्ति शुद्धीकरणको गेटवेका रूपमा प्रयोग भइरहेको हुन सक्ने सम्भावना अत्यधिक छ । यस्ता बीमालेखलाई कभर्ड प्रोडक्ट भनिन्छ, जसअन्तर्गत सामूहिक बीमालेखबाहेकका सम्पूर्ण बोनससहित सावाँ फिर्ता हुने, लगानीका रूपमा प्रयोग गर्न सकिने स्थायी बीमालेख तथा एन्युटीहरू पर्छन् ।
जोखीम निवारणभन्दा पनि कालो धनलाई वित्तीय संस्थामा प्रवेश गराएर सेतो बनाउने एकमात्र उद्देश्य बीमितसँग भएको हुुँदा बीमालेख परिपक्व नहुँदै रद्द गर्ने र हिताधिकारीको नाम परिवर्तन गरिरहने कार्य बीमितले गर्न सक्छ । बीमा कम्पनीबाट फिर्ता भएको पैसा स्रोत खुलाई कुनै अर्को क्षेत्रहरू जस्तै घरजग्गा, शेयरबजार वा अन्य वित्तीय क्षेत्रमा लगानी गर्न सक्छ, जसलाई स्तरीकरण भनिन्छ र यो सम्पत्ति शुद्धीकरणको दोस्रो चरण हो । यसको तेस्रो चरण एकीकरण हो, जसअन्तर्गत विभिन्न क्षेत्रमा छरिएको लगानीरूपी कालो धनलाई एकीकृत गरी पुनः स्थापित लगानीकर्ताका रूपमा अर्थतन्त्रमा प्रवेश गराइन्छ ।
आतङ्कवाद वित्तीयीकरण
आतङ्कवाद, चोरी/पैठारी र लागूपदार्थ ओसारपसारलगायत अवैध क्रियाकलापबाट वित्तीयीकरण गर्न निर्जीवन बीमा कम्पनीको प्रयोग हुन सक्ने सम्भावना औंल्याइएको छ । हुन त सावाँ फिर्ता नहुने वा लगानीका लागि प्रयोग नहुने बीमालेखलाई न्यून जोखीम समूहमा वर्गीकरण गरिएको छ । तर, आतङ्कवाद भौतिक संरचनाको प्रयोगबाट विस्तार गरिने हुँदा यस्ता बीमालेख पनि आतङ्कवाद वित्तीयीकरणका लागि उत्तिकै सम्भावित गेटवे मानिएको छ । बढीभन्दा बढी नगद सङ्कलन गर्ने गरी छिटोभन्दा छिटो दाबी गर्ने, वास्तविक क्षतिभन्दा बढी रकम दाबी गर्ने, बीमायोग्य हितको सिद्धान्तविपरीत दाबी गर्ने मनसाय बीमितले बोकेको हुन सक्छ ।
कानूनले प्रतिबन्ध लगाएका वस्तुको ओसारपसार गर्नमा पनि यस्ता बीमालेख प्रयोग हुने गरेको तथ्य बेलाबेला बाहिर आउने गरेका छन् । बीमा कम्पनीसँग एउटा कानूनी वस्तुको विवरण देखाउने तर अर्कै प्रतिबन्धित वस्तु ओसारपोसार गर्ने गर्दा कयौंपटक निर्जीवन बीमकले यस्ता गैरकानूनी दाबीहरूको भुक्तानी गर्नुपरेको छ ।
यसका साथै कम्पनीहरू आफैले अफसोर/शेल कम्पनीहरूको स्थापना गरेर पनि झुटा बीमालेखहरू विक्री गर्ने गरेको तथ्य पनामा पेपर्सले बाहिर ल्याएको छ । उक्त पेपर्सका अनुसार मोनार्क इन्स्योरेन्स सर्भिस इन्कर्पोरेशनले आफ्नो शेल कम्पनी युनाइटेड रिइन्स्योरेन्स ग्रूप लिमिटेडमार्फत सन् १९९९ मा न्यूयोर्कस्थित सोरलाइन क्रुइसेज इन्कर्पोरेसनलाई नक्कली बीमालेख विक्री गरेको र सन् २००५ मा एथन एलेन नामक जहाज लेक जर्जमा दुर्घटना भएर २० जना यात्रुको मृत्यु हुँदा क्षतिपूर्ति प्रदान नगरेको उल्लेख छ । यस्ता अफसोर कम्पनीमार्फत स्वास्थ्य, जीवन र व्यापारिक बीमालेखहरूको समेत कारोबार हुने गरेको कुरा मिचिगन अमेरिकाबाट प्रकाशन हुने पत्रिका बिजिनेस इन्स्योरेन्सको अनलाइन संस्करणमा उल्लेख गरिएको छ ।
नेपालको अवस्थाबीमा व्यवसायमार्फत हुन सक्ने सम्पत्ति शुद्धीकरण तथा आतङ्ककारी क्रियाकलापमा लगानी निवारण गर्न बीमकले ग्राहकको पहिचान गर्ने, जोखीम व्यवस्थापन तथा मूल्याङ्कन गर्ने, शङ्कास्पद गतिविधिसम्बन्धी प्रतिवेदन दिने आदि व्यवस्थासहित बीमा समितिले सम्पत्ति शुद्धीकरण तथा आतङ्ककारी क्रियाकलापमा वित्तीय लगानी निवारण निर्देशिका २०६९ जारी गरेको छ । यसपश्चात् बीमा कम्पनीहरूमा ग्राहक पहिचान अभ्यासको थालनी भएको छ । प्रत्येक कम्पनीले एउटा उच्च अधिकारी जिम्मेवार रहने गरी छुट्टै एकाइको व्यवस्था गरेको छ । वित्तीय सूचना एकाइले तयार पारेको सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ को मातहतमा रही कम्पनीहरूले काम गरिरहेका छन् ।
तर, नेपालमा जीवन बीमा व्यवसाय अभिकर्ताहरूबाट प्रवद्र्धित छ । एउटा मात्रै कम्पनीको अभिकर्ताहरूको सङ्ख्या कम्तीमा ५० हजारभन्दा माथि छ । यी लाखौं अभिकर्तामध्येमा आधीजसो अभिकर्ता कम्पनीबाट १–२ दिनको तालीम प्राप्त हुन्, जोसँग बीमा समितिको इजाजतपत्रसमेत छैन । ग्राहकलाई नजीकबाट चिन्ने एकमात्र व्यक्ति अभिकर्ता हो । तर, यी लाखौं अभिकर्ता ग्राहक पहिचान अभ्यासका लागि प्रशिक्षित भएका छैनन् । जुन हाम्रा लागि चालिनुपर्ने चुनौतीपूर्ण कदम हो ।
एकीकृत सूचना सङ्कलनका लागि बीमा सूचना केन्द्रको स्थापना हुन सकेको छैन । यदि यो संस्थाको स्थापना भइदिने हो भने इमानदार, शङ्कास्पद र बेइमान ग्राहकलाई विभिन्न समूहमा राख्न सकिन्थ्यो र एउटा कम्पनीबाट प्रवाहित सूचना अर्को कम्पनीले सजिलै प्राप्त गर्न सक्थ्यो । मुहार हेरेर पनि शङ्कास्पद ग्राहक पत्ता लगाउन सकिने कुराहरू ऐनमा लेखिएको छ । तर, पुलिसभन्दा चोर एक कदम अगाडि हुन्छ । विभिन्न सफ्टवेयरको प्रयोग, सङ्कलित सूचनाहरूको विश्लेषण गर्दा पनि चोर को हो भन्ने कुरा जान्न पसिना निस्किन्छ भने व्यक्तिको चेहरा, उठबस, बोलाइ, चलाइबाट शङ्कास्पद व्यक्ति पत्ता लगाउँछुु भन्नु बालापनामा पुलिस/चोरको खेल खेल्दाताकाको धङधङीसिवाय अरू केही होइन । बरु सूचना केन्द्र स्थापनाका लागि सम्पूर्ण क्षेत्रहरूको प्रयास एकीकृत गर्ने हो भने निश्चय नै सानासाना सामयिक सूचनाहरूको सङ्कलनबाट शङ्कास्पद व्यक्ति पत्ता लगाउन मद्दत मिल्नेछ ।
सम्पत्ति शुद्धीकरण तथा आतङ्कवाद वित्तीयीकरण निवारणका लागि बीमाक्षेत्रबाट पूर्ण योगदान प्राप्त गर्न अन्य निकायहरूको पनि उत्तिकै महत्वपूर्ण भूमिका रहेको हुन्छ । शङ्कास्पद व्यक्तिउपर मुद्दा चलाउने नै हो भने पनि फैसलाको टुङ्गो छैन । यसमा एउटा बीमा कम्पनी मात्रै नभई यो देशको प्रहरी÷न्याय प्रशासन, कर्मचारीतन्त्र र राजनीतिक वृत्तले पनि सच्चिनुपर्ने आवश्यकता छ ।
निष्कर्षमा भन्ने हो भने बीमाक्षेत्र सम्पत्ति शुद्धीकरण तथा आतङ्कवाद प्रवद्र्धनका लागि ग्राहकले प्रयोग गर्ने एउटा गौण माध्यम हो किनभने बीमा मुख्यतः मध्यम वर्गीय जनताले खरीद गर्ने जोखीम निवारक उपकरण हो । तर, यसअघि उल्लेख भएबमोजिम बीमाबाट पनि यस्ता क्रियाकलाप हुन सक्ने सम्भावना छन् । बीमा कम्पनीहरूले नै अफसोर/शेल कम्पनी खोल्न सक्ने सम्भावना व्याप्त छ । केबल बीमाक्षेत्रमा मात्रै होइन, पत्रकारिता, न्यायसेवा, समाजसेवा र जातीय एवम् वर्गीय उत्थानका नाममा भइरहेका अनैतिक क्रियाकलाप सम्पत्ति शुद्धीकरण तथा आतङ्कवाद प्रवद्र्धनका १ सय ८ रूप हुन् । गुनासो सुन्ने/सूचना सङ्कलन गर्ने चुस्त दुरुस्त संयन्त्र तयार भएपछि यस्ता क्रियाकलापको उजुरी गर्ने बानी बसालौं ।
लेखक बीमा अध्येता हुन् ।
http://www.abhiyan.com.np/new/Articles/view/79958
No comments:
Post a Comment