मुना कुँवर
कात्तिक २१, काठमाडौं । मौरी पालनलाई व्यावसायिक रूपमा वृद्धि गर्न
बीमा समितिले मौरी बीमालेख जारी गर्ने भएको छ । बीमालेख निर्माणको तयारी
अन्तिम अवस्थामा पुगेको समितिका निर्देशक कुन्दन सापकोटाले बताए । उनका
अनुसार तिहारलगत्तै बीमालेख जारी गर्ने गरी समितिले तयारी गरेको छ ।
बीमा समितिले समयानुकूल नयाँ–नयाँ बीमालेख जारी गर्दै आएको छ । सोही
क्रममा कृषकको मागलाई ध्यानमा राखेर यसपटक समितिले मौरी बीमालेख जारी गर्न
लागेको हो । यसका लागि समितिले आवश्यक सबै अध्ययन तथा अनुसन्धान गरिसकेको
सापकोटाले बताए । तर, बीमाङ्क रकम तथा बीमाशुल्क निर्धारण गर्ने काम भने
बाँकी रहेको उनले बताए । उनका अनुसार हाल समिति सोही विषयको छलफलमा जुटेको छ
। उनले भने, ‘मौरी बीमालेखका अतिरिक्त उखु तथा केरा बीमालेख पनि निकट
भविष्यमा नै जारी हुनेछन् ।’ यद्यपि केरा बीमालेख यसअघि बीमकहरूले जारी
गरिसकेका छन् । तर, एकरूपतासहितको बीमालेख जारी गर्ने गरी समितिले अध्ययन
गरिरहेको छ ।
समितिले जारी गर्न लागेको मौरी बीमालेखप्रति बीमकहरू पनि सकारात्मक
देखिएका छन् । नेपालमा व्यावसायिक रूपमा नै मौरी पालन फस्टाउँदै गएको
अवस्थामा समितिले मौरी बीमालेख जारी गर्नु उपयुक्त रहेको लुम्बिनी जनरल
इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत विनोदकाजी श्रेष्ठले बताए । उनले
भने, ‘बीमकहरूका लागि यो नयाँ अवसर पनि हो ।’
नयाँ बीमालेख निर्माण गर्ने कार्य बीमा समितिको भए पनि समितिले नभ्याएको
अवस्थामा बीमकहरूलाई समेत यसको जिम्मेवारी दिने गरेको छ । स्थानीय कृषकको
मागअनुसार कम्पनीहरूलाई योजना जारी गर्न समितिले निर्देशन दिने गरेको
समितिका निर्देशक सापकोटाले बताए । तर, नयाँ बीमा जारी गर्नुपूर्व बीमकले
समितिबाट स्वीकृति भने लिनुपर्छ ।
नेपालको कृषिक्षेत्रलाई व्यवसायीकरण गर्न कृषि विकास मन्त्रालयले २०६९
माघ १ गतेदेखि कृषिबीमा कार्यक्रम लागू गरेको हो । मन्त्रालयले शुरू गरेको
कृषिबीमालाई सफल बनाउन बीमा समितिले आव २०७०/७१ देखि कृषि तथा पशु बीमालाई
अनिवार्य गरेको छ । त्यस्तै, कृषकलाई कृषिबीमाका लागि प्रेरित गर्न सरकारले
अनुदानको समेत व्यवस्था गरेको छ । सरकारले कृषिबीमा गरेबापत कृषकलाई ७५
प्रतिशतसम्म अनुदान वितरण गर्दै आएको छ । आव २०७०/७१ मा कुल बीमाङ्क रकमको
५० प्रतिशत अनुदान दिँदै आएको सरकारले गत आवमा भने अनुदान रकम बढाएर ७५
प्रतिशत पुर्याएको हो ।
बाली तथा पशुपन्छी बीमाअन्तर्गत हालसम्म बीमकहरूले पशु बीमालेख, पन्छी
बीमालेख, तरकारी बीमालेख, आलु बीमालेख, बोटबिरुवा बीमालेख, बाली बीमालेख,
माछा बीमालेख, धान बीमालेख, अष्ट्रिज बीमालेख जारी गर्दै आएका छन् । ती
बीमालेखमध्ये पशु बीमालेख सबैभन्दा धेरै जारी भएको समितिको तथ्याङ्क छ ।
प्राविधिकलगायत समस्याले गर्दा अन्य बीमालेख भने अपेक्षाकृत रूपमा जारी हुन
सकेको छैन ।
No comments:
Post a Comment