Sunday, November 29, 2015

बीमाक्षेत्रमा भविष्यको खोजी

मुना कुँवर

काठमाडौं । कास्कीको लेखनाथ बुढीबजारकी नम्रता तिवारी बीमा विषयकी विद्यार्थी हुन् । उनले पोखरा विश्वविद्यालयबाट बीमा विषयमा स्नातक (बीबीए बीआई) तहको अध्ययन पूरा गरिसकेकी छिन् । अहिलेको परिप्रेक्ष्यमा बीमा नयाँ विषय भएकाले यसतर्फ आकर्षित भएकी उनले बताइन् । उनलाई बीमा विषयमै स्नातकोत्तर तह गर्ने इच्छा थियो । तर, नेपालमा स्नातकोत्तर तहमा बीमा विषयको अध्यापन गर्ने व्यवस्था नभएकाले अन्य विषय रोज्न बाध्य हुनुपरेको उनले बताइन् । उनी अहिले पोखराको पृश्वीनारायण क्याम्पसमा एमबीए अध्ययन गर्दै छिन् ।

तिवारीजस्तै अनीता सिग्देल पनि बीमाक्षेत्रमा आफ्नो भविष्य खोजिरहेकी छिन् । पोखरा विश्वविद्यालयबाट बीबीए बीआई उत्तीर्ण गरेकी अनीतालाई यसै विषयमा स्नातकोत्तर गर्ने इच्छा थियो । तर, नेपालमा यस्तो व्यवस्था नभएकाले सोही विश्वविद्यालयमै उनले एमबीए गर्दै छिन् । नेपालमा बीमासम्बन्धी जनचेतनाको अभाव छ । यद्यपि, मानिसको सम्पत्ति सुरक्षणका लागि यो अति आवश्यक रहेको उनले बताइन् । तिवारी र सिग्देलजस्तै अन्य युवा पनि अहिले बीमा शिक्षाप्रति आकर्षित भएका छन् । तर, नेपालमा बीमासम्बन्धी अध्यापन हुने शैक्षिक संस्थाको अभावमा उनीहरू अन्य विषय पढ्न बाध्य हुने गरेका छन् ।  
नेपालमा बीमा व्यवसायको शुरुआत भएको ७ दशक बित्तिसक्दा पनि व्यवस्थित रूपमा यसको शैक्षिक कार्यक्रम सञ्चालन हुन सकेको छैन । फलस्वरूप, बीमा कम्पनीहरूमा दक्ष कर्मचारीको अभाव रहेको लुम्बिनी जनरल इन्स्योरेन्सका नायब प्रमुख कार्यकारी अधिकृत विनोदकाजी श्रेष्ठले बताए । उनले भने, ‘बीमासम्बन्धी दक्ष जनशक्तिको अभाव हुँदा कम्पनीको काम प्रभावकारी हुन सकेको छैन ।’  
बीमा कम्पनीहरूमा दक्ष कर्मचारीको अभावकै कारण बीमा व्यवसाय पछाडि परेको बीमाविज्ञ रवीन्द्र घिमिरेले बताए । उनले भने ‘नेपालमा बीमासम्बन्धी अध्यापन हुने शैक्षिक संस्था र तालीम दिने संस्थासमेत पर्याप्त छैनन् ।’ सञ्चालनमा रहेका शैक्षिक संस्थाले पनि बीमासम्बन्धी आवश्यक शिक्षा प्रदान गर्न नसकेको उनले बताए । त्यसैले, बीमा समितिले तत्कालै जनशक्ति विकास विभाग स्थापना गरी बजारको मागबमोजिम जनशक्ति उत्पादनमा ध्यान दिनुपर्ने उनले बताए ।
नेपालमा २००४ सालभन्दा अघिदेखि नै बीमा व्यवसायको शुरुआत भएको हो । तर, सन् १९९० तिर मात्रै त्रिभुवन विश्वविद्यालयले बीमा शिक्षाको शुरुआत गरेको हो । विश्वविद्यालयले व्यवस्थापन सङ्कायअन्तर्गत स्नातक तहमा १ सय अङ्कको बैङ्किङ तथा इन्स्योरेन्स विषय ऐच्छिक विषयको रूपमा अध्यापन गराउँदै आएको छ । त्यस्तै, सन् २००९ देखि पोखरा विश्वविद्यालयले समेत स्नातक तहमा बैङ्किङ तथा इन्स्योरेन्स (बीबीए बीआई)को अध्यापन गर्दै आएको छ । त्यस्तै, नेपाल इन्स्यारेन्स कम्पनीले समयसमयमा अभिकर्ता तालीम प्रदान गर्दै आएको छ । यद्यपि, यसले बीमा कम्पनीको माग भने पूरा गर्न नसकेको बीमकहरू बताउँछन् ।
बीमा कम्पनीहरूमा दक्ष जनशक्तिको अभाव हुने गरेको बीमा समितिले पनि बताएको छ । त्यसैले, प्रस्तावित नयाँ बीमा ऐनमा समितिले बीमा एकेडेमीको योजनासमेत समावेश गरेको छ । तर, बीमा ऐन नै पारित नभएको अवस्थामा एकेडेमीको परिकल्पना आकाशको ‘फल आँखा तरी मर’ भनेझैं भएको छ ।  
विश्वमा इन्स्योरेन्स इन्ष्टिच्युट अफ म्यान्चेस्टरलाई बीमा शिक्षाको पहिलो खुड्किलो मानिन्छ । यसको स्थापना सन् १८७३ मा भएको हो । अमेरिकामा सन् १८७४ देखि इन्स्योरेन्स ल को अध्यापन शुरू भएको हो । जर्मनीमा सन् १८९८ बाट बीमा शिक्षाको शुरुआत गरिएको हो भने चीनमा सन् १९०२ र कोरियामा सन् १९१० देखि बीमा शिक्षाको अध्यापन थालिएको थियो ।

 

No comments:

Post a Comment