Monday, November 9, 2015

प्रसव पीडामा लघुबीमा

पदमराज अवस्थी
ठूलो आकार तर सानो लागत, गरीबहरूका लागि पहुँचयोग्य र आफ्नै महत्त्व भएको प्रभावकारी बीमा लघुबीमा हो । प्राकृतिक प्रकोपको शिकार आर्थिक स्थिति कमजोर भएका नै बढी हुन्छन् । पुस्तौं पुस्तादेखिको प्राकृतिक शोषणको नमीठो अनुभवले पनि मानिसहरू जोखीमसँग बढी परिचित हुन्छन् र बाँच्ने उपायहरू निरन्तर खोजिरहन्छन् । तर, आधुनिक बीमाको चेतनाबाट टाढा बसेकाले जीवन निर्वाहको एकएक आधार गुम्दै जान्छन् । यसै बिडम्बनालाई दृष्टिगत गरी लघुबीमा शुरू गरिएको हो । नेपालमा २३ दशमलव ८५ गरीब छन् । अर्को कुरा नेपाल हरेक प्राकृतिक जोखीमको अग्रस्थानमा पर्छ, जहाँ हरेक वर्ष तराई डुबानमा पर्छ, पहाडमा पहिरो खस्छ र हिमालमा हिमताल भरिन्छ । एकचोटि घरबार उठेकाहरूको पुनर्वास हुन नपाउँदै अर्को असरले सयौं घरबार उठाइदिन्छ । उदाहरणका लागि २०७० असारको दार्चुला र ७१ साउनको सिन्धुपाल्चोकमा भएको घटना सम्झन सक्छौं ।

नेपाल सरकारले नवौं योजनादेखि गरीबी निवारणलाई मुख्य लक्ष्य बनाएको छ । यसैको फलस्वरूप नेपालमा लघुवित्त कम्पनीहरू अस्तित्वमा आएका हुन् । लघुवित्त कम्पनीसँगै लघुबीमाको पनि विकास भएको हो । लघुवित्त कम्पनीहरूले गरीबहरूलाई  कर्जा दिन थाले । कर्जासँगै कर्जाको पनि बीमा गर्न थालियो । पछि गएर ऋणीहरूको पनि बीमा हुन थाल्यो । यसले गर्दा यी कम्पनीहरूको क्रण सुरक्षित भयो । नोबेल पुरस्कार विजेता मोहमद युनुसले यसलाई अझ परिष्कृत गरेका हुन् । यसको सफलतापछि गरीब किसानका अरू सम्पत्ति विशेष गरी बस्तुभाउ तथा खेतीपातीको पनि बीमा गर्न थालियो । यसबाट झनै लाभ हुन थाल्यो । यसैलाई देखेर अरू व्यावसायिक बीमा कम्पनीले पनि लघुबीमामा आफ्नो व्यापार बढाउन थाले । कम आम्दानी भएकाहरूलाई सेवा दिएको पनि देखिने र नयाँ बजारमा आफ्नो स्थान कायम गर्न पनि यसप्रति ढल्किन पुगे । अर्काे कुरा, लघुबीमा बीमकको प्रतिष्ठा र भविष्यसँग जोडिएको छ । किनभने, आजका गरीब भोलिका मध्यम वर्गका परिवार हुन् । जसले सबैभन्दा बढी बीमा सम्झौता गर्छन्, यसले गर्दा सरकार र नियामक निकायसँग राम्रो सम्बन्ध कायम हुने र लघुबीमाले संस्थागत सामाजिक उत्तरदायित्वको पनि कम गर्ने हुँदा यसको व्यापकता बढ्दै गयो ।
तर, विश्व बीमा बजारमा लघुबीमाको जति चर्चा छ, त्यति नेपालमा हुन सकेको छैन । कतिसम्म भने, बीमा समितिले सिफारिश गरेको लघुबीमा नीति अहिलेसम्म पारित हुन सकेको छैन । २०७१ सालमा लघुबीमा निर्देशिका जारी भएपछि यसै निर्देशिकाको भरमा सानोतिनो व्यापारव्यवसाय भइरहेका छन् । सरकारले लघुबीमाको व्यवस्था राष्ट्रिय लघुवित्त नीति २०६२ मा उल्लेख छ भनी जिकीर गर्ने गरेको छ । लघुवित्त र लघुबीमाको गन्तव्य एउटै हो, तर गन्तव्यसम्म जाने बाटो भने फरकफरक छ । जस्तै– लघुवित्तले केही धितो लिएर जनतालाई कर्जा दिन्छ । यदि ऋणीले क्रण तिरेन भने सोही धितोबाट पनि असुल गर्न सकिन्छ । तर, लघुबीमामा बीमकले जनताबाट पैसा लिएको हुन्छ । भोलि जनतालाई बीमकले दाबी दिएन भने त्यसको जिम्मेवार को हुने ? लघुबीमाको नियामक निकाय बीमा समिति हो । कसरी लघुवित्त नीतिमा लघुबीमाको व्यवस्था गरियो ? जब कि लघुवित्त व्यवसायको नियामक निकाय राष्ट्र बैङ्क हो । यसकारण पनि लघुबीमा नीति पारित गर्नु जरुरी भइसकेको छ । अर्को कुरा, लघुबीमाको विकासका लागि सूक्ष्म, मध्य र बृहत् डिग्रीमा विकास हुनु जरुरी छ । सूक्ष्म तहमा जनतालाई लघुबीमासम्बधी जानकार बनाउनुपर्छ । बीमक, अभिकर्ता, दलाल र मध्यस्थकर्ताको मापदण्ड तयार गर्नुका साथै यिनीहरूबीच प्रभावकारी समन्वय हुनुपर्छ । त्यस्तै, मध्य डिग्रीमा वित्तीय पूर्वाधारको विकास हुनु जरुरी छ । जस्तै– एक्चुअरी र अडिटरको स्तरोन्नति, नयाँ प्रविधिको प्रवेश, छरितो दाबी भुक्तानी प्रक्रिया आदि । बृहत् डिग्रीमा सम्पूर्ण वातावरण जागरुक पार्नुपर्छ । यसका लागि सरकारले उपयुक्त नीतिनियम बनाउने, नियामक निकायले प्रभावकारी नियमन गर्ने आदि पर्दछन् ।    
लघुबीमा निर्देशिका २०७१ अनुसार लघुबीमा प्रदान गर्दा अभिकर्ताको माध्यमबाट मात्रै गर्नुपर्ने र अभिकर्ता सङ्गठित संस्था हुनुपर्ने कुरा उल्लेख छ । संसारमा चलेको रीत पनि यही हो  । किनभने, सङ्गठित संस्था एउटा व्यक्तिभन्दा समाजसँग बढी परिचित हुन्छ । यसका लागि गैरसरकारी संस्था, सहकारी लघुवित्त कम्पनी, उपभोक्ता समूहलगायतलाई अभिकर्ता बनाउनुपर्ने भनेको छ । तर, दुर्भाग्य यहीँनेर छ । गैरसरकारी संस्थालाई जनताले विश्वास गर्नेछैनन् । तराईतिरका संस्था एवम् उपभोक्ता समूहमा सीमापारिका व्यक्तिहरूको बिगबिगी छ । हिमालतिरका समूहमा धर्मप्रचार गर्न पश्चिमा छिरेका छन् । त्यसैगरी, कर्णाली सेरोफेरोमा जनयुद्धताका जनसत्तामा आधारित किसान समूहहरू बढी छन् । हरेक ठाउँका उपभोक्ता समूहमा तीनओटा राजनीतिक दलका कम्तीमा पनि तीन उपसमूह छन् । कुरा रह्यो लघुवित्त कम्पनीहरूको, जुन सबै ग्रामीण जिल्लाहरूमा उपलब्ध छैनन् । त्यसै कारणले गर्दा अभिकर्ता कसलाई बनाउने भन्ने चिन्ताको विषय छ । लघुबीमा उत्पादनलाई जनतासम्म पु¥याउन अति नै कष्ट गर्नुपर्छ, जति कष्ट बच्चालाई जन्म दिने आमालाई हुन्छ ।
सन् २००६ तिर अमिरिकी संस्था द माइक्रोइन्स्योरेन्स सेण्टर (एलएल सी)ले संसारका करीब सय देशमा लघुबीमा सम्बधित अनुसन्धान गरेको थियो । नेपालमा ९८ प्रतिशत गरीबहरू लघुबीमाको पहुँचबाट टाढा रहेको निष्कर्ष सो अनुसन्धानले निकालेको थियो । लघुबीमामा एशियालाई नै अग्रणी स्थानमा राखिएको छ । तर, चीनलाई अलग राख्ने हो भने एशिया अरू महादेशको पुछारमा आउँछ र भारतलाई पनि अलग राख्ने हो भने एशिया लघुबीमाको सूचीमा पर्दैन । घानाका दुईओटा र केन्याका एउटा मोबाइल कम्पनीहरूले माइक्रो इन्स्योअर कम्पनीसँग मिलेर मोबाइल किन्दा स्वास्थ्य तथा जीवन लघुबीमा प्याकेज उपहार दिइरहेका छन् । नेपालमा पनि कुनै इन्स्योरेन्स कम्पनीसँगको सहकार्यमा पैसा फिर्ता, अनलिमिटेड टक टाइमजस्ता अफर दिनुभन्दा गरीबहरूको वर्गोन्नति हुने खालका लघुबीमा प्याकेजहरू दिन सकिन्छ । भारतको एलआईसी इण्डियाले दूध बेच्नेहरूबाट बीमाशुल्क उठाएजस्तै हामी पनि गाउँगाउँमा यस्ता सङ्कलन केन्द्र स्थापना गर्न सक्छौं ।
नेपालमा लागू गरिएको कृषि लघुबीमा नीतिगत रूपमा संसारमा आदर्श मानिन्छ, जसअन्तर्गत गरीब किसानलाई ७५ प्रतिशत अनुदान दिएर शतप्रतिशत भुक्तानी गरिन्छ । यति हुँदा पनि कृषिबीमा गराउनेहरूमा चितवनका केरा व्यवसायीभन्दा अरू कोही छैनन् । जनता बीमाप्रति अनभिज्ञ हुनुका साथै जटील कानूनी प्रक्रिया भएकाले पनि यसो भएको हो । बीमा गराउन जिल्ला कृषि विकास कार्यालयमै पुग्नुपर्छ । कर्णालीमा यस्ता ठाउँ छन्, जहाँ एउटा वडाबाट अर्को वडामा पुग्न दुई दिन लाग्छ । यस्तोमा कसरी जिल्ला कृषि विकास कार्यालयसम्म पहुँच राख्ने ? बरु यस्ता कार्यक्रमहरू स्थानीय निकायबाट गर्नुपर्छ । अर्को कुरा, लघुबीमाको विशेषता भनेको सरलता हो । त्यसैकारण यस्ता जटील प्रतिक्रियाहरू हटाउनुपर्छ । विशेषगरी लघुबीमामा असर पक्ष र जागरण पक्षको कुशल संयोजनमा अधारित हुन्छ । असर पक्ष सर्वसुलभता, सर्वव्यापकता, चेतना, लागत प्रभावकारिता र विश्वसनीयता हुन् भने जागरण पक्ष लघुबीमाको प्रकार, मूल्य निधारण, सेवा प्रदान प्रक्रिया र उपभोक्ता शिक्षा आदि हुुन् । आधुनिक लघुबीमा नयाँ अवधारणा हो । यसका बारेमा कुनै पनि ठाउँमा विस्तृत अध्ययन हुन सकेको छैन । त्यसैले, हामीले यसका लागि शून्यबाट शुरू गर्नुपर्छ ।  
नेपालका गरीब र अरू देशका गरीबबीच भिन्नता पाइन्छ । अरू देशका गरीब सडकमा पाल टाँगेर बस्छन् र हरेक छाकको गाँसलाई परनिर्भर हुन्छन् । तर, यहाँका गरीबसँग कम्तीमा एउटा टहरा ठडाउने र खुर्सानीको बोट रोप्ने जमीन छ । उनीहरूको एउटा भैंसी मर्नु कसैका लागि हवाईजहाज दुर्घटना हुनुजत्तिकै हो । यसकारण गरीबका हरेक बस्तुभाउ खेतीबाली स्वास्थ्य र समग्र जीवनको जीवन बीमा गरिनुपर्छ ।

लेखक एस इन्ष्टिच्युट अफ म्यानेजमेण्टको बैङ्किङ तथा बीमा सङ्कायमा बीमा अध्येता हुन्
http://www.abhiyan.com.np/new/Articles/view/68775

No comments:

Post a Comment