मुना कुँवर
मङ्सिर ५, काठमाडौं । सरकारले आमनागरिकलाई आफ्नो सम्पत्तिको बीमा गर्न
प्रेरित गरिरहे तापनि सरकार स्वयम्ले भने कुनै पनि सम्पत्तिको बीमा गरेको
छैन । सरकारी स्वामित्वका सवारीसाधन, भवन, कर्मचारी तथा अन्य सम्पत्तिको
अहिलेसम्म बीमा नभएको नेपाल बीमक सङ्घका अध्यक्ष विजयबहादुर शाहले बताए ।
उनले भने, ‘अहिलेसम्म प्रधानमन्त्री कार्यालय तथा राष्ट्रपति भवनको समेत
बीमा हुन सकेको छैन ।’
अप्रत्याशित रूपमा आइपर्ने जोखीमलाई न्यूनीकरण गर्न बीमा अनिवार्य छ ।
त्यसमा पनि गत वैशाखमा आएको विनाशकारी भूकम्पले विपत्ति कुनै पनि समयमा आउन
सक्छ भन्ने पाठ सिकाएको छ । यति ठूलो घटनापछि पनि बीमाप्रति सरकार उदासीन
रहेको अध्यक्षले शाहले बताए । उनले भने, ‘यसले बीमा सरकारको प्राथमिकतामा
नपरेको स्पष्ट हुन्छ ।’ सरकारले आफैले बनाएको नियमलाई स्वयम्ले नै
कार्यान्वयन नगरेको उनले आरोप लगाए । बीमासम्बन्धी सरकारले निर्माण गरेका
नीति नियम आम नागरिकका लागि मात्रै भएको लुम्बिनी जनरल इन्स्योरेन्सका
प्रमुख कार्यकारी अधिकृत विनोदकाजी श्रेष्ठले बताए । उनले भने, ‘सरकार
आफैले नै नियमको अनुसरण गर्दैन भने जनताबाट यसको अपेक्षा गर्नु मूर्खता
हुनेछ ।’ आमनागरिकमा बीमाको पहुँच बढाउने हो भने शुरुआत सरकार आफैले नै
गर्नुपर्छ । तबमात्रै आमनागरिक बीमाप्रति विश्वस्त हुने उनले बताए ।
मानिसलाई बीमाका लागि प्रेरित गर्न स्वयम् सरकारले नै यसको अग्रसरता
लिनुपर्नेे बीमा समितिका प्रवक्ता राजकुमार अर्यालले बताए । उनले भने,
‘अरूलाई बीमा गर्न सिकाउनेले पहिला आफैले नै बीमा गर्नुपर्छ ।’ बीमा गर्न
सरकारले छुट्टै रकम विनियोजन गर्नसमेत उनले सुझाव दिए ।
गत वैशाखको भूकम्पले करीब ५ लाख भवनलाई क्षति पु¥याएको थियो । तथ्याङ्क
विभागको अध्ययनअनुसार काठमाडौं महानगरपालिकाभित्र करीब २ लाख ५० हजार भवन
छन् । त्यसमध्ये करीब ३० हजार भवन भूकम्पबाट प्रभावित भएकोे नगरपालिकाको
तथ्याङ्क छ । भूकम्पले क्षतिग्रस्त बनाएका सरकारी स्वामित्वका भवन तथा
विद्यालयहरू अहिलेसम्म पनि पुनर्निर्माण हुन सकेका छैनन् । कतिपय विद्यालय
तथा सरकारी कार्यालय अझै पनि पालमुनि सञ्चालन हुँदै आएका छन् । बीमकहरूले
भने, ‘यदि सरकारले पहिले नै विद्यालय तथा कार्यालयहरूको बीमा गरेको भए आज
पुनर्निर्माणका लागि अरूको मुख ताक्नु पर्दैनथ्यो ।’ त्यसैले सरकारले बजेट
विनियोजन गर्दा प्रत्येक मन्त्रालयलाई बीमाको आवश्यक रकमसमेत छुट्ट्याउनु
पर्र्नेे उनीहरूको भनाइ छ ।
नेपालमा बीमा व्यवसायको इतिहास करीब ७ दशक पुरानो हो । विसं २००४ मा
नेपाल बैङ्कले आफ्नो बैङ्किङ कारोबारको जोखीम न्यूनीकरणका लागि नेपाल
इन्स्योरेन्स कम्पनी स्थापना गरेको थियो । अहिले नेपालमा अन्तरराष्ट्रिय
साझेदारीसहितका १७ ओटा निर्जीवन तथा ९ ओटा जीवन बीमा कम्पनी सञ्चालित छन् ।
तर, नेपालमा जम्मा १० प्रतिशत मानिस मात्रै बीमाको पहुँचमा रहेको
तथ्याङ्कहरूले देखाएको छ । त्यस्तै, सरकारी स्वामित्वका केही कार्यालय र
सवारी साधनको तेस्रो पक्ष बीमा हुने गरेको देखिएको छ ।
No comments:
Post a Comment