Tuesday, November 3, 2015

बीमा व्यवसायको वृद्धिमा नाकाबन्दीको ब्रेक

मुना कुँवर

कात्तिक १६, काठमाडौं । भारतले लगाएको अघोषित नाकाबन्दीले बीमा व्यवसायको वृद्धिमा बे्रक लाग्ने स्थिति सृजना भएको छ । चालू आर्थिक वर्ष २०७२/७३ मा नेपालको बीमा व्यवसाय करीब २५ प्रतिशतले बढ्ने अनुमान गरिए पनि नाकाबन्दीका कारण उक्त लक्ष्य प्राप्त गर्न नसकिने सिद्धार्थ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत वीरेन्द्र बैदावर क्षत्रीले बताए । उनले भने, ‘यस वर्ष हामीले अपेक्षा गरेअनुरूप बीमा व्यवसाय बढ्दैन ।’

नेपालले जारी गरेको संविधानप्रति असन्तुष्ट रहेको भारतले गत असोज ७ गतेदेखि अघोषित नाकाबन्दी शुरू गरेको हो । नाकाबन्दीका कारण नेपालीको दैनिक जीवन दिन प्रतिदिन कष्टकर बन्दै गएको छ भने पेट्रोलियम पदार्थको अभावले अधिकांश उद्योग, व्यापार तथा व्यवसाय बन्द भएका छन् । मुलुकको समग्र आर्थिक क्षेत्र नै अस्तव्यस्त भएको अवस्थामा बीमाक्षेत्र पनि यसबाट अछुतो नरहेको प्रमुख कार्यकारी अधिकृत क्षत्रीले बताए । उनले भने, ‘अन्य क्षेत्रमा जस्तो बीमा क्षेत्रमा प्रत्यक्ष असर नदेखिए पनि अप्रत्यक्ष रूपमा भने प्रभाव परेको छ ।’
नेपालको समग्र बीमा व्यवसायको वार्षिक वृद्धिदर १० देखि १५ प्रतिशत रहेको अध्ययनहरूले देखाएका छन् । तथापि गत वैशाखको भूकम्पपछि मानिस सचेत हुन थालेकाले चालू आवमा बीमा व्यवसाय २५ देखि ३० प्रतिशतले बढ्ने बीमकहरूले अनुमान गरेका थिए ।
यो अनुमानअनुसार चालू आवमा बीमा व्यवसाय रू. ६ अर्बले वृद्धि भएर रू. ३० अर्ब पुग्ने देखिएको थियो । तर, नाकाबन्दीका कारण अपेक्षाअनुरूप बीमा व्यवसाय बढ्न नसक्ने बीमकहरूले बताएका छन् । दैनिक उपभोग्य सामग्रीको अभावले जीवन नै लथालिङ्ग बन्दै गएको परिस्थितिमा मानिस बीमाप्रति उदासीन हुनु स्वाभाविक भएको उनीहरूले बताए ।
नाकाबन्दीसँगै सडकमा सवारीसाधनको चाप प्रायः शून्य बनेको छ । सवारीसाधन गुड्न नसक्दा कर्मचारीहरूलाई कार्यालय आउन जान, बजारीकरण गर्न र प्रिमियम उठाउन हम्मेहम्मे परेको लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत विनोदकाजी श्रेष्ठले बताए । उनले भने, ‘बैङ्किङ व्यापार नै ठप्प भएको छ । बैङ्कहरूले नयाँ लगानी विस्तार गर्न नसक्दा बीमा कम्पनीमा नयाँ बीमा दर्ता हुने क्रम रोकिएको छ ।’ भूकम्पपछि बीमा कम्पनीहरूमा विस्तारै मानिसको चाप देखिन थालेको थियो । तर, बन्दले सोधपुछ गर्न आउने क्रमसमेत ठप्प भएको उनले बताए । कम्पनीहरूमा अहिले बीमालेख नवीकरणको मात्रै काम भएको छ । त्यसमा पनि नवीकरण नगरी नहुने बीमित मात्रै कम्पनीमा आउने गरेको श्रेष्ठले बताए । यसका अतिरिक्त अन्य कुनै पनि गतिविधि सञ्चालन भएका छैनन् । फलस्वरूप विस्तारै बढ्न लागेको बीमा व्यवसायलाई ठूलो धक्का लागेको उनको दाबी छ ।  
हाल नेपालमा १७ ओटा निर्जीबन बीमा कम्पनी तथा नौओटा जीबन बीमा कम्पनी सञ्चालित छन् । उक्त बीमा कम्पनीहरूले वार्षिक रू. २४ अर्बबराबरको व्यवसाय गर्दै आएका छन् ।

No comments:

Post a Comment