रवीन्द्र घिमिरे
विवेकशील मानिस आर्थिक निर्णय लिनुअघि दशपटक सोच्छ । जीवन बीमामा गरिने लगानी दीर्घकालीन र रणनीतिक रूपमा महत्त्वपूर्ण हुन्छ । त्यसैले बीमा गर्ने र गराउने दुवै पक्षले बीमाङ्क रकम तय गर्दा विशेष ध्यान पुर्याउनु जरुरी छ । एक जना सक्रिय र उत्साहित महिला अभिकर्ताले जीवन बीमा अभिकर्तासम्बन्धी तालीम लिएको केही महीनाभित्रै सयभन्दा बढी मानिसलाई जीवन बीमा पोलिसी बेच्न सफल भइन् । तर, उनका सबै पोलिसीको बीमाङ्क रकम रू. १ लाखमात्रै थियो । शाखाप्रबन्धकले उनलाई सोधे किन तपार्इंले सबै मानिसलाई १–१ लाखको मात्रै बीमा गराउनुभयोे ? यसमध्ये केही त २ लाख ५ लाख वा १० लाख रुपैयाँसम्मको बीमा गर्न सक्नेहरू पनि त थिए होलान् नि ? ती अभिकर्ताले अचम्म मान्दै जवाफ दिइन्, ‘हैन सर रू. १ लाखभन्दा माथिको पनि बीमा गर्न पाइन्छ र ? हामीलाई तालीममा त रू. १ लाखको बीमाका बारेमा मात्रै बताइएको थियो ।’ वास्तवमा तालीम दिनेले उदाहरण दिँदा १ लाख बीमाङ्कलाई आधार मानी प्रिमियम निर्धारण गरेका रहेछन् । अभिकर्ता निर्देशिकामा पनि १ लाखकै उदाहरण दिइएको छ, जसले गर्दा अभिकर्तालाई भ्रम परेको हुनसक्छ । अर्को प्रसङ्ग, २/३ वर्षअगाडि घरजग्गा व्यवसाय आकशिँदो थियो । जग्गा दलालहरूको आम्दानी निकै राम्रो थियो । त्यही मौका छोपेर उनीहरूलाई १ करोडबराबरको बीमा पोलिसी विक्री गर्न एक जना एजेण्ट सफल भए । सर्सती हेर्दा सबैलाई राम्रै भयो । किनकि, कम्पनीको आम्दानी बढ्यो, शाखाप्रबन्धकको कार्यकुशलता बढ्यो भने एजेण्टलाई पनि राम्रै कमिशन प्राप्त भयो । तर, पहिलो घटनामा बढी आय भएकाहरूलाई पनि कम रकमको बीमा गराइयो भने दोस्रो घटनामा आकस्मिक आम्दानी भएको मौकाको सदुपयोग गर्दै ठूलो रकमको बीसवर्षे लागानीको प्रारम्भ गरियो । यी दुवै घटनाले के देखाउँछ भने हामीकहाँ कुशल अभिकर्ताहरू त प्रशस्तै छन् तर बीमाको सैद्धान्तिक मर्म र भाव बुझेर काम गर्नेहरूको सङ्ख्या धेरै कम छ । यसर्थ जीवनबीमाको बीमाङ्क रकम कति हुनुपर्छ, बीमाङ्क रकम र प्रिमियम रकम केके आधारमा निर्धारण गर्नुपर्छ, कति वर्षे बीमा योजना उपयुक्त हुन्छ, कस्तो पोलिसी बढी फाइदामूलक हुन्छ भन्ने कुरा पोलिसीकर्ता, अभिकर्ता र कर्मचारीले गम्भीर रूपमा बुझ्नु जरुरी हुन्छ ।
बीमाङ्क निर्धारण गर्दा मानिसको वर्तमान आर्थिक हैसियत र उसको उमेरलाई आधार लिनुपर्छ । साथसाथै स्वास्थ्यस्थिति, पेशा, पारिवारिक संरचना र चल सम्पत्तिको अवस्थालाई पनि ध्यान दिनुपर्छ । बीमाङ्क रकम सम्बन्धमा मानिसको जीवनमूल्यको सिद्धान्त नै प्रतिपादन भइसकेको छ । यसका प्रतिपादक अमेरिकी विद्वान् एसएस हुब्नर हुन् । यो सिद्धान्तलाई मानवजीवनको मूल्य पनि भनिन्छ । भविष्यमा आर्जन गरिने अनुमानित आयमा आफ्नो खर्च कट्टा गरी बाँकी रहेको कुल रकमको वर्तमान मूल्य नै उसको जीवनको आर्थिक मूल्य हो । मानौं, कुनै मानिसको वार्षिक तलबी आय रू. १० लाख छ, आगामी १५ वर्षसम्म सोहीबराबरको आम्दानी हुने निश्चित छ । उसको आफ्नो मात्र वार्षिक खर्च रू. ४ लाख छ र बाँकी रकम उसको परिवारका लागि समर्पण गर्छ भने मोटामोटी रूपमा उसको कुल आय रू. ६ लाखको दरले १५ वर्षमा उसले कमाउने रकमको वर्तमान मूल्य रू. ९० लाख हुने भयो । यो रकम नै उसको जीवनमूल्य हो । यसैलाई आधार मानेर बीमाङ्क रकम निर्धारण गर्नु वैज्ञानिक हुन्छ भन्ने एउटा धारणा छ, जुन यथार्थको नजीक पनि छ । यदि अकाल मृत्यु नहुने हो भने उक्त व्यक्तिले रू. ९० लाख आर्जन गर्ने हुँदा सोबराबरको बीमा गर्नाले उसको मृत्यु भए तापनि परिवारले आफ्नो समस्या समाधानका लागि दुःख पाउनु पर्दैन । तर, स्थायी जागीरेको बाहेक अन्य मानिसको मानवीय जीवनको मूल्य अनुमान गर्न निकै कठिन हुन्छ । त्यस अवस्थामा अर्को अवधारणा अवलम्बन गर्नु उपयुक्त हुन्छ ।
अर्को अवधारणा भन्छ तिमीलाई आफ्नो आर्थिक एवम् सामाजिक हैसियतअनुसार पारिवारिक गतिविधि सञ्चालन गर्न केकति रकमको आवश्यकता पर्छ, सो रकम जुटाउने विभिन्न स्रोतमध्येको एक स्रोत जीवनबीमा हो । अन्य स्रोतबाट अपुग रकम जीवन बीमाबाट पूरा गर्नुपर्ने भएकाले सोहीबमोजिमको बीमाङ्क रकमको निर्धारण गर्नु उपयुक्त हुन्छ । यस अवधारणालाई व्यक्तिगत वित्तीय योजनासम्बन्धी अवधारणा पनि भन्न सकिन्छ । यी दुवै अवधारणा आफैमा पूर्ण नहुन सक्छन् । तसर्थ आर्थिक उपार्जन गर्ने क्षमता र भविष्यको लक्ष्यलाई समेत दृष्टिगत गर्दै बीमाङ्क रकम निर्धारण गर्नु नै श्रेयस्कर हुन्छ । बीमाबाट सन्तुष्टि प्राप्त हुन्छ । जोसँग वर्तमानमा पर्याप्त बचत छ, उसले सावधिक र जसको वर्तमानमा बचत कम छ तर भविष्यमा धेरै बचत हुने सम्भावना छ उसले म्यादी बीमा योजना खरीद गर्नु उपयुक्त हुन्छ ।
नेपालका जीवन बीमा कम्पनीहरूले ग्राहकको बीमाङ्क रकम निर्धारण सम्बन्धमा खास नीति तयार गरेको पाइँदैन । कम्पनीहरूले सबै बीमा योजनाको न्यूनतम बीमाङ्क र केही बीमा योजनाको अधिकतम बीमाङ्क रकम तोकिदिएका छन् । नेशनल लाइफको अमृत वर्षा योजनाको ५० लाख, नेपाल लाइफको जीवनलक्ष्मी योजनाको १ लाख, एलआईसीको गृहलक्ष्मी योजनाको ५ लाख, एशियनको बाल उमङ्गको १ लाख, गुराँसको बाल सुरक्षाको २० लाख अधिकतम बीमाङ्क रकम तोकिएको छ । तर, अधिकांश योजनाको अधिकतम रकमको सम्बन्धमा अभिकर्तालाई नै ग्राहकको आर्थिक स्थितिको आधारमा निर्धारण गर्नसक्ने गरी स्वविवेकीय अधिकार दिइएको छ । तसर्थ अभिकर्ताले प्रत्येक ग्राहकको आर्थिक क्षमता, आवश्यकता र महŒवाकाङ्क्षाका बीचमा तालमेल मिलाएर सकेसम्म यथार्थपरक बीमाङ्क तय गर्नुपर्छ ।
मानिसको आर्थिक क्षमता जेजति छ सोहीबमोजिमको आर्थिक आवश्यकता भयो भने बीमाङ्क रकम तय गर्न सजिलो हुन्छ । आर्थिक क्षमताभन्दा बढी रकमको बीमा खरीद गर्न चाहने व्यक्तिलाई कम रकमको बीमाङ्क लिन र आर्थिक हैसियतभन्दा कम रकमको बीमा खरीद गर्नेलाई तिम्रो हैसियत यतिसम्म छ भन्दै बीमाङ्क वृद्धि गर्ने सल्लाह दिनु अभिकर्ताको कर्तव्य हो । यस्ता अभिकर्ताहरूलाई विदेशमा वित्तीय सल्लाहकार वा व्यक्तिगत वित्तीय योजनाकार भन्ने गरिन्छ, जसले आफ्ना ग्राहकहरूलाई सम्पूर्ण वित्तीय समस्याको समाधान कसरी गर्ने, आय र व्ययबीच कसरी तालमेल मिलाउने साथै बचतलाई कुन क्षेत्रमा लगानी गर्ने, कति रकमको बीमा पोलिसी खरीद गर्ने भन्ने बारेमा सल्लाह दिने र सोहीबमोजिम कार्यान्वयन गर्ने काममा सहयोग गर्छन् ।
हामीकहाँ कर्मचारीहरूको बीमाङ्क रकम सरकारले आयकरमा दिने छूट रकमको आधारमा निर्धारण गरिन्छ जुन एकदमै गलत छ । वास्तवमा नेपाल अन्य देशको तुलनामा कर छूट पाउने प्रिमियम रकम निकै कम छ । कर्मचारीहरू उनीहरूको आर्थिक क्षमताको आधारमा नभई कर नीतिको आधारमा जीवन बीमाको माग गर्छन् । व्यापारी वर्गले अन्य लगानीका अवसर नभएको हुँदा छोटो अवधिको र तत्काल प्रतिफल आउने रकम फिर्ता पोलिसीमा ठूलै रकम लगानी गर्न रुचाएका छन् । किसान वर्गले कम प्रिमियम तिर्ने गरी सानो बीमाङ्क र लामो अवधिको बीमा योजना लिएका छन् । उनीहरू उच्च जोखीमको अवस्थामा रहेकाले त्यस वर्गले सानोतिनो रकमको मात्र बीमा गरोस् भन्ने कम्पनीहरू चाहन्छन् । जो बचत तथा लगानी गर्न सक्दैन । तर, जोखीम हस्तान्तरण गर्न भने चाहन्छ उसका लागि म्यादी बीमा उपयुक्त हुँदाहुँदै पनि म्यादी बीमा गरेबापत कम कमिशन प्राप्त हुने भएकाले अभिकर्ताहरू सकेसम्म म्यादी बीमाका बारेमा ग्राहकहरूलाई बताउन चाहँदैनन् ।
सङ्क्षेपमा भन्नु पर्दा जीवन बीमा व्यवसाय शुरू भएको ४ दशक बितिसक्दा पनि हामीकहाँ बीमा उद्योग व्यावसायिक हुन सकिरहेको छैन । सानोतिनो रकमको मात्र बीमा हुने गरेकाले आजको १०–२० वर्षपछि म्याचुरिटी लाभ लिने बखत कुनै पनि पोलिसी होल्डरले सन्तुष्टि व्यक्त गर्न सक्दैन किनकि त्यसबेला मुद्रास्फीतिका कारण बीमाङ्कको मूल्य निकै तल गिरिसकेको हुनेछ । तसर्थ बीमाङ्क निर्धारण गर्दा यी सबै कुराहरूलाई मनन गर्नु जरुरी छ ।
लेखक बीमा विषयमा शोधार्थी हुन् ।
http://www.abhiyan.com.np/new/Articles/view/69565
No comments:
Post a Comment