मुना कुँवर
कात्तिक ३०, काठमाडौं । नेपालमा कृषिबीमाअन्तर्गत पशु बीमाको अंश ८५
प्रतिशत रहेको छ । बीमा समितिको तथ्याङ्कअनुसार गत आर्थिक वर्ष २०७१/७२ मा
बाली तथा पशुपन्छी बीमाअन्तर्गत पशु बीमाको बजार अंश यस्तो देखिएको हो । यो
बीमालाई कृषिबीमा पनि भन्ने गरिन्छ । कृषकलाई लक्षित गरी समितिले विभिन्न
बीमा योजना सञ्चालनमा ल्याए पनि बजारमा पशु बीमाको माग अधिक रहेको समितिका
उपनिर्देशक कुन्दन सापकोटाले बताए । उनले भने, ‘तुलनात्मक रूपमा अन्य बीमा
योजनाको माग भने नगन्य नै छ ।’
नेपालमा बीमकहरूले हालसम्म बाली तथा पशुपन्छी बीमाअन्तर्गत पशु, पन्छी,
तरकारी, आलु, बोटबिरुवा, बाली, माछा, धान, अष्ट्रिजलगायत बीमालेख जारी
गर्दै आइरहेका छन् । त्यस्तै निकट भविष्यमा मौरी, केरा र उखु बीमा
योजनासमेत सञ्चालनमा ल्याउने समितिले तयारी गरिरहेको छ । तर, समितिले
सञ्चालनमा ल्याएका उक्त बीमालेखहरूमध्ये पशु बीमालेख सबैभन्दा धेरै जारी
भएको बीमा समितिको तथ्याङ्कले देखाएको छ । नेपालमा पशु व्यवसाय व्यावसायिक
रूपमा वृद्धि हुँदै गएकाले पनि यसको माग बढी हुने गरेको बीमा समितिका
उपनिर्देशक सापकोटाले बताए । उनका अनुसार प्राविधिक रूपमा पनि पशु बीमाको
प्रक्रिया सहज छ, त्यसैले पनि अन्य बीमालेखभन्दा पशु बीमातर्फ बीमकहरू पनि
आकर्षित भएका हुन् ।
बीमा समितिको तथ्याङ्कअनुसार आव २०७०/७१ मा भने पशु बीमाको अंश ९५
प्रतिशत रहेको थियो । आव २०७१/७२ मा भने पन्छी बीमाको अंश ८ प्रतिशत रहेको छ
भने बाली बीमाको अंश ५ प्रतिशत मात्रै रहेको छ । यस्तै माछा बीमाको हिस्सा
भने जम्मा २ प्रतिशत रहेको तथ्याङ्कले देखाएको छ । पशु बीमाबाहेक अन्य
बीमाका लागि नेपालमा दक्ष प्राविधिकको अभाव भएको समितिले बताएको छ । तसर्थ
अन्य बीमालेख जारी गर्नका लागि बीमकहरूसमेत हिचकिचाउने गरेका छन् ।
गत आवमा पशु बीमाबापत बीमकहरूले रू. १३ करोड ६७ लाख बीमाशुल्क उठाएका थिए ।
सोमध्ये रू. ५ करोड ९४ लाखबराबर रकम दाबी भुक्तानी भएको तथ्याङ्कले
देखाएको छ । त्यस्तै, बाली बीमाबापत रू. ८२ लाख ९६ हजारबराबरको रकम
बीमाशुल्क आम्दानी भएको छ भने पन्छी बीमाबापत रू. १ लाख १७ लाख आम्दानी
भएको छ । साथै माछा बीमाबापत रू. ३४ लाख ४ हजार बीमाशुल्क उठेको देखिएको छ ।
नेपालको कृषिक्षेत्रलाई व्यवसायीकरण गर्न कृषि विकास मन्त्रालयले २०६९
माघ १ गतेदेखि कृषिबीमा कार्यक्रम लागू गरेको हो । मन्त्रालयले शुरू गरेको
कृषिबीमालाई सफल बनाउन बीमा समितिले आव २०७०/७१ देखि कृषि तथा पशुबीमालाई
अनिवार्य गरेको छ । त्यस्तै, कृषकलाई कृषिबीमाका लागि प्रेरित गर्न सरकारले
अनुदानको समेत व्यवस्था गरेको छ । सरकारले कृषिबीमा गरेबापत कृषकलाई ७५
प्रतिशतसम्म अनुदान वितरण गर्दै आएको छ । आव २०७०/७१ मा कुल बीमाङ्क रकमको
५० प्रतिशत अनुदान दिँदै आएको सरकारले गत आवमा भने अनुदान रकम बढाएर ७५
प्रतिशत पुर्याएको हो ।
No comments:
Post a Comment