काठमाडौंः चालू आर्थिक वर्ष २०७३/७४ मा कृषि बिमा व्यवसाय उल्लेखनीय रूपमा बढेको छ । बिमा समितिको तथ्यांकअनुसार निर्जीवन बिमा कम्पनीहरूले जारी गरेका अन्य बिमालेखको तुलनामा कृषि बिमालेख धेरैले बढेको छ ।
चालू आवको तेस्रो त्रैमास अवधिमा कम्पनीहरूले कृषि बिमाबापत १८ करोड ७२ लाख रुपैयाँ बिमाशुल्क आर्जन गरेका छन् । यो रकम गत आवको सोही अवधिको तुलनामा करिब साढे चार गुणाले बढी हो ।
समितिको तथ्यांकअनुसार कम्पनीहरूले आम्दानीको गरेको कुल बिमाशुल्कमध्ये कृषि बिमाको हिस्सा भने जम्मा १ दशमलव ३१ प्रतिशत छ । समितिले बिमा कम्पनीहरूलाई जिल्ला नै तोकेर कृषि बिमा जारी गर्न निर्देशन दिएपछि पछिल्लो समयमा कृषि बिमा व्यवसाय बढ्दै गएको हो ।
त्यसमा पनि कृषि बिमाको बिमाशुल्कमा सरकारले ७५ प्रतिशत अनुदानको व्यवस्था गरेपछि कृषकहरू बिमाप्रति आकर्षित भएको समितिका उपनिर्देशक कुन्दन सापकोटाले बताए । “कम्पनीहरू पनि कृषि बिमामा लागि परेका छन्,” उनले भने ।
तथ्यांकअनुसार चालू आवको चैत मसान्तसम्मा कम्पनीहरूले मोटर बिमाबापत सबैभन्दा धेरै बिमाशुल्क आर्जन गरेका छन् । उक्त अवधिमा मोटर बिमाबापत कम्पनीहरूले ६ अर्ब ८६ करोड रुपैयाँ आम्दानी गरेका छन् ।
यो रकम गत आवको सोही अवधिको तुलनामा ५७ दशमलव ३२ प्रतिशतले बढी हो । कम्पनीहरूले आम्दानी गरेको कुल बिमाशुल्कमा मोटरको बिमाको हिस्सा ४८ दशमलव ३६ प्रतिशत छ ।
निर्जीवन बिमा कम्पनीहरूले जारी गर्ने बिमालेखहरूमा मोटर बिमाको हिस्सा अधिक छ । सरकारले मोटर बिमाअन्तर्गत तेस्रो पक्ष र यात्रु पक्ष बिमालाई अनिवार्य गरेपछि यसको हिस्सा अधिक रहन गएको हो ।
त्यसमा पनि चालू आवदेखि समितिले यात्रु पक्षको बिमाशुल्क पनि वृद्धि गरेको छ । यसले कम्पनीहरूको व्यवसाय सकारात्मक देखिएको एनबी इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत युगेश भक्त श्रेष्ठले बताए । त्यस्तै, समीक्षा अवधिमा कम्पनीहरूले अग्नि बिमाबापत २ अर्ब ८० करोड रुपैयाँ बिमाशुल्क आम्दानी गरेका छन् ।
यो रकम गत आवको सोही अवधिको तुलनामा २१ दशमलव १८ प्रतिशतले बढी हो । गत आवमा कम्पनीहरूले अग्नि बिमाबापत जम्मा २ अर्ब ३१ करोड रुपैयाँ आम्दानी गरेका थिए । कम्पनीहरूले आम्दानी गरेको कुल बिमाशुल्कमध्ये हवाई बिमाको हिस्सा भने १९ दशमलव ७८ प्रतिशत छ ।
सामुद्रिक बिमाबापत भने कम्पनीहरूले ८१ करोड ३५ लाख रुपैयाँ बिमाशुल्क आम्दानी गरेका छन् । यो रकम गत आवको तुलनामा १६ दशमलव ४२ प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा कम्पनीले सामुद्रिक बिमाबापत भने जम्मा ६९ करोड ८७ लाख रुपैयाँ आम्दानी गरेका थिए । सामुद्रिक बिमाको हिस्सा भने ५ दशमलव ७२ प्रतिशत मात्रै रहेको छ ।
हवाई बिमाबापत भने कम्पनीहरूले ७९ करोड रुपैयाँ आम्दानी गरेका छन् । गत आवको तुलनामा यो रकम २० दशमलव ३५ प्रतिशतले बढी हो । त्यस्तै, इन्जिनियरिङ बिमाबापत कम्पनीहरूले १ अर्ब ४ करोड रुपैयाँ आम्दानी गरेका छन् भने विविध बिमाबापत १ अर्ब ६७ करोड रुपैयाँ आम्दानी गरेका छन् ।
चालू आवको तेस्रो त्रैमास अवधिमा कम्पनीहरूले कुल १४ अर्ब १९ करोड रुपैयाँ बिमाशुल्क आर्जन गरेका छन् । त्यस्तै, सो अवधिमा कम्पनीहरूले दाबीबापत ६ अर्ब ९० करोड रुपैयाँ भुक्तानीसमेत गरिसकेका छन् । समितिको तथ्यांकअनुसार उक्त अवधिमा कम्पनीहरूले १३ लाख २९ हजार ७५३ बिमालेख जारी गरेका छन् ।
http://www.karobardaily.com/news/80197
No comments:
Post a Comment