Wednesday, June 14, 2017

बिमा समितिले अनुगमन थाल्यो

कारोबार संवाददाता 
काठमाडौं: बिमा समितिले बिमा कम्पनीहरूको अनुगमन सुरु गरेको छ । समितिले पहिलो चरणमा युनाइटेड इन्स्योरेन्स र एभरेस्ट इन्स्योरेन्स कम्पनीबाट अनुगमनको सुरुवात गरेको समितिका अध्यक्ष चिरञ्जीवी चापागाईंले जानकारी दिए ।
समितिले कम्पनीको सबै पक्षको निरीक्षण गर्नेछ । बिमा ऐनमा कम्पनीहरूको निरक्षण गर्नुपर्ने व्यवस्था भए पनि हालसम्म समितिले यसलाई निरन्तरता दिएको थिएन । समितिले उजुरीका आधारमा मात्रै निरीक्षण गर्दै आएको थियो ।
कम्पनीहरूको पारदर्शीताका लागि यो पर्याप्त नभएको भन्दै समितिले स्थलगत निरक्षणको सुरुवात गरेको हो । बिमा क्षेत्रलाई बैंकिङ क्षेत्र जस्तै बलियो बनाउन निरन्तर निरीक्षण आवश्यक रहेको समितिले जनाएको छ । 
समितिले प्रत्येक कम्पनीको वर्षमा एक पटक अनिवार्य रूपमा निरीक्षण गर्ने योजना बनाएको अध्यक्ष चापागार्इंले बताए । कदमकदाचित एक वर्ष अनुगमन हुन नसकेमा दुई वर्ष अनिवार्य रूपमा कम्पनीको निरीक्षण गरिने उनले बताए ।  
कम्पनीहरूले निर्देशिकाअनुसार काम गरे नगरेको, ऐनको उचित पालना गरे नगरेको, संस्थागत सुशासन कार्यान्वयन भए नभएको, दाबी भुक्तानीको प्रक्रिया, अन्डर राइटिङको अवस्थालगायतको निरीक्षण गरिनेछ,” उनले भने ।

निरीक्षणका लागि समितिले गत चैतदेखि आफ्ना कर्मचारीलाई प्रशिक्षण दिएको थियो । आन्तरिक प्रशिक्षणपछि समितिले कर्मचारीलाई अभ्यासका लागि स्थलगत निरीक्षणमा नै पठाएको हो । निरक्षणमा जानुपूर्व कम्पनीलाई सूचना दिइने समितिले बताएको छ । त्यस्तै, निरीक्षण गरिने विषयको पनि जानकारी गराइनेछ । निरीक्षणका लागि समितिले उपनिर्देशकसहितको एउटा टोली निर्माण गरेको छ ।
निरीक्षणपछि टोलीले कम्पनीको सञ्चालक समितिलाई प्रतिवेदन बुझाउनेछ । सञ्चालक समितिले उक्त प्रतिवेदनको दुई दिनमा जवाफ दिनुपर्नेछ । सञ्चालकको जवाफ पछि टोलीले पुनः अन्तिम प्रतिवेदन तयार पार्नेछ । टोलीले देखाएका कमजोरीलाई कम्पनीले सुधार गरे नगरेको निरन्तर फलोअप गरिने समितिले जनाएको छ । नमुनाका लागि काठमाडौं बाहिरका एउटा शाखा कार्यालयको कार्य सम्पादन पनि हेरिने भएको छ । 
नेपालमा हाल २७ वटा बिमा कम्पनी सञ्चालित छन् । जसमध्ये १७ वटा निर्जीवन कम्पनी छन् । त्यस्तै, ९ वटा जीवन बिमा कम्पनी छन् भने एउटा पुनर्बिमा कम्पनी रहेको छ । यसका साथै समितिले नयाँ कम्पनी सञ्चालनका लागि सैद्धान्तिक स्वीकृति प्रदान गरिसकेको छ ।
अर्थ मन्त्रालयको सहमतिअनुसार समितिले १० वटा नयाँ जीवन बिमा कम्पनीलाई सञ्चालन अनुमति दिने भएको छ । यसका लागि समितिले कम्पनीहरूलाई पुँजी पु¥याएर आउन तीन महिनाको अवधि दिएको छ ।
त्यस्तै, चारवटा निर्जीवन बिमा कम्पनी लाइसेन्स प्रक्रियामा छन् । समितिबाट नै सञ्चालन अनुमति पाउने यी कम्पनीका विषयमा छलफल भइरहेको समितिले बताएको छ । योसँगै नेपालमा बिमा कम्पनीको संख्या ४१ पुग्नेछ । नयाँ कम्पनीमध्ये जीवन बिमा कम्पनीले चुक्ता पुँजी २ अर्बको हुनुपर्नेछ भने निर्जीवन बिमा कम्पनीको १ अर्बको हुनुपर्नेछ ।
http://www.karobardaily.com/news/79945

No comments:

Post a Comment