Wednesday, June 28, 2017

पुलमार्फत लघुबिमा जारी गरिँदै

कारोबार संवाददाता 
काठमाडौंः आगामी आर्थिक वर्षदेखि निर्जीवन बिमा कम्पनीहरूले पुलमार्फत लघुबिमा योजना जारी गर्ने भएका छन् । सरकारको निर्देशनअनुसार लघुबिमा जारी गर्न कम्पनीहरूलाई कठिन भएपछि पूल मार्फत योजना जारी गर्न लागिएको हो । 
कम्पनीहरूले तत्कालका लागि प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीलाई पुल म्यानेजर तोकेको नेपाल बिमक संघका कार्यवाहक अध्यक्ष एवं शिखर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत दिपप्रकाश पाण्डेले बताए ।
“आर्थिक सहयोग बेलायती सहयोगी संस्था सक्षमले गर्नेछ, पहिलो तीन वर्षे योजनाका लागि ८ करोड ५० लाख रुपैयाँ संकलन गर्ने भएका छौं,” उनले भने, “आधा रकम सक्षमले सहयोग गर्नेछ भने बाँकी कम्पनीहरूले बेहोर्नेछन् ।” त्यस्तै, बिमा जारी गर्न लघुवित्त संस्थाहरूले अभिकर्ताको भूमिका निर्वाह गर्नेछन् भने नेपाल बिमक संघले व्यवस्थापनको काम गर्नेछ । 

लघुबिमाका लागि कम्पनीहरूले अपनाएको पुल प्रणाली नेपालका लागि नयाँ भने हैन । यसअघि पनि बिमा कम्पनीहरूले आकस्मिक बिमा पुलमार्फत नै जारी गरेका थिए भने युवा तथा स्वरोजगार बिमा पनि पुलमार्फत नै जारी गरीरहेका छन् ।
यसका लागि राष्ट्रिय बिमा कम्पनीलाई पुल म्यानेजर तोकिएको छ । सरकारको सहभागितामा पुल निर्माण गरी जारी गरिएको आकस्मिक बिमा सफल भएको मानिन्छ । तर, युवा तथा स्वरोजगार बिमाको अवस्थामा भने खासै सन्तोषजनक नभए पनि असफल भने भएको छैन । त्यसैले पनि लघुबिमा योजना पनि पुलमार्फत नै जारी गर्न लागिएको हो । 
त्यस्तै, लघुबिमा सञ्चालन कै लागि बिमा समितिको नेतृत्व र सक्षमको संयोकत्वमा नेपाल बिमक संघ र नेपाल लघुवित्त बैंकर्स संघबीच सम्झौता भइसकेको छ । गत असोजमा नै विमक संघ र लघुवित्त संघबीच सहकार्य गर्ने सम्झौता भएको हो ।
जसअनुसार लघुवित्त कम्पनीहरूले नै लघुबिमा योजना जारी गर्न पाउनेछन् । जसबापत लघुवित्त संस्थाले १५ प्रतिशत कमिसन र १० प्रतिशत व्यवस्थापन खर्च पाउने सम्झौता भइसकेको छ । 
लघुबिमा सञ्चालनको जिम्मेवारी लघुवित्त संस्थाले पाए पनि त्यसको नियन्त्रण भने पूल म्यानेजर कम्पनीले गर्नेछ । कम्पनीको अनुमतिबाट नै वित्तीय संस्थाले बिमा जारी गर्ने र दाबी भुक्तानीसमेत गर्न पाउनेछन् । वित्तीय संस्थाहरूले सञ्चालन गरेको लघुविमाको विवरण पूल म्यानेजर कम्पनीले संकलन गर्नेछ ।
साथै म्यानेजर कम्पनीले प्रत्येक महिनाको अन्त्यमा लघुबिमाको विवरण तयारी पारी सबै निर्जीवन बिमा कम्पनीहरूलाई पठाउनेछ । वर्षको अन्त्यमा लघुबिमाबाट प्राप्त बिमाशुल्क र दाबी भुक्तानी सबै कम्पनीलाई दामासाही रूपमा वितरण गरिन्छ । 
सम्झौता अनुसार स्थानीय लघुवित्त संस्थाले आफ्ना सदस्यहरूबाट लघुवित्त बिमाको शुरुवात गर्ने बिमक संघका कार्यवाहक अध्यक्ष पाण्डेले बताए । “पहिला बैंकबाट कर्जा लिएपछि ऋणीहरू बिमा गर्न आउँथे भने अब एउटै स्थानबाट ऋण पनि बिमाको सुविधा पनि पाउनेछन्,” उनले भने । यसले मानिसको समय, इन्धन र शक्तिको बचत गर्नेछ । 
लघुबिमा जारी गर्न कम्पनीहरूले छुट्टै लघुबिमा कम्पनी स्थापना गर्ने योजनासमेत बनाएका थिए । नेपाल पुनर्बिमा कम्पनीको नेतृत्वमा सबै कम्पनीको स्वामित्व रहने गरी ५० करोड रुपैयाँ चुक्ता पुँजीमा कम्पनी स्थापना गर्न समितिमा प्रस्तावसमेत गरिएको थियो । तर, एउटै कम्पनीले जीवन तथा निर्जीवन बिमा जारी गर्न नपाउने कानुनी अड्चनलगायतका कारण यसले मूर्तरूप भने पाउन सकेन ।
http://www.karobardaily.com/news/80317

No comments:

Post a Comment