काठमाडौं : बिमा समितिले केरा खेती बिमालेख संशोधन गरेको छ । बिमालेखमा दाबीसम्बन्धी राखिएको व्यवस्थाले कृषक मर्कामा परेपछि समितिले बिमालेख नै परिमार्जन गरेको हो ।
समितिले जारी गरेको केरा खेती बिमामा दाबीको ९० प्रतिशतसम्म भुक्तानी हुने व्यवस्था छ । तर, दाबीसम्बन्धी प्रक्रियाको बुँदा नम्बर चारमा ७२ घण्टाको एक घटना हुने, उक्त अवधिभित्र कुल खेती गरिएको घेरा घरी संख्याको ५ प्रतिशतसम्म क्षति भएमा दाबी भुक्तानी गरिने छैन भन्ने व्यवस्था गरिएको छ । अर्थात् प्रत्येक तीन दिनलाई एउटा घटना मानिएको छ ।
तीन दिनमा कूल केरा घरीको ५ प्रतिशत क्षति भयो भने कृषकले दाबी भुक्तानी पाउने छैनन् । बिमालेखमा गरिएको यस्तो व्यवस्थाले कृषकहरू मर्कामा पर्ने देखिएकाले बिमालेखलाई परिमार्जन गरिएको समितिका उपनिर्देशक कुन्दन सापकोटाले बताए । “हामीले ५ प्रतिशतसम्म क्षति हुँदा भुक्तानी नपाउने व्यवस्थालाई नै हटाएका छौं, अन्य व्यवस्था भने यथावत छ,” उनले भने ।
यसअघिको बिमालेख गरिएको व्यवस्थाअनुसार कुनै कृषकले १ हजार घरीको बिमा गरेको छ र पहिलो तीन दिनमा ५० वटासम्म घरी क्षतिग्रस्त भयो भने भुक्तानी पाउँदैन । त्यस्तै, फेरी अर्को तीन दिनभित्र ५० वटासम्म घरी क्षति भयो भने पनि कृषकले भुक्तानी पाउँदैन ।
तर, ६० वटा घरी क्षति भएको छ भने कृषकले जम्मा १० वटा घरीको मात्रै भुक्तानी पाउँछ । यस्तो व्यवस्थाले प्रत्येक तीन दिनको फरकमा ५/५ प्रतिशतका दरले कृषकको सबै खेती नष्ट भए पनि भुक्तानी पाउँदैनन् । त्यसैले यस्तो व्यवस्थाले कृषकहरू घाटा पर्ने देखिएकाले समितिले यसलाई परिमार्जन गरेको हो ।
बिमालेखमा गरिएका दाबीसम्बन्धी अन्य प्रक्रिया भने यथावत् छन् । खेती नष्ट भएको अवस्थामा कृषकले १५ दिनभित्र कम्पनीमा खबर गर्नुपर्छ । ढिला हुन गएमा उचित कारणसहित खबर गर्नुपर्छ । दाबी गर्दा कृषकले सक्कल बिमालेख, पूर्ण रुपले भरिएको दाबी फारम, सम्बन्धित प्राविधिकको प्रतिवेदन, सम्बन्धित गाविस÷वडा कार्यलय/कम्तीमा नजिकको दुईजना छिमेकीको सर्जमिन मुचुल्का, क्षति भएको केरा बालीको फोटो, प्राविधिकबाट उपचार गराएको कागजात प्रस्तुत गर्नुपर्नेछ ।
केरा खेती बिमालेख लागतमा आधारित बिमा हो । केरा खेती विभिन्न अवधिको हुने हुँदा समितिले १ वर्षभन्दा बढी अवधि र १ वर्षभित्र तयार हुने खेती भनी छुट्टाएको छ । यिनीहरूको दाबी भुक्तानी प्रक्रिया पनि फरक–फरक छ । एक वर्षभन्दा बढी अवधिको खेतीको हकमा पहिलो तीन महिनासम्ममा क्षति भई दाबी गरेको खण्डमा कम्पनीले ५२ प्रतिशतसम्म भुक्तानी गर्छ ।
त्यस्तै, ४ देखि ६ महिनासम्म ५५, सातदेखि आठ महिनासम्मा ६७, नौदेखि १२ महिनासम्ममा ७० र १३ महिनाभन्दा माथिको खेती क्षति भई दाबी गर्दा शतप्रतिशतसम्म भुक्तानी गर्छ । साथै १ वर्षभित्र तयार हुने खेतीको हकमा पहिलो तीन महिनासम्ममा ५५, चारदेखि छ महिनासम्ममा ६५, सातदेखि आठ महिनासम्म ७५ र नौदेखि १२ महिनासम्म मात्रै शतप्रतिशत भुक्तानी हुन्छ ।
तर, खेती गरिएको केराको घरीमा कोसा लागि क्षति भएको अवस्थामा बिक्री हुने घरी बजारमा बिक्री गरी बाँकी हुन आउने क्षतिको मात्र दाबी भुक्तानी गरिनेछ । केरा खेती बिमालेखले आगलागी, चट्याङ, भूकम्प, बाढी, डुबान, खडेरी, पहिरो, भूस्खलन, आँधीबेहरी, असिना, हिउँ वा तुसारो, आकस्मिक, दुर्घटनाजन्य बाह्य कारणहरू, कीरा तथा रोगबाट खेती क्षतिग्रस्त हुन गएमा कम्पनीले भुक्तानी गर्छ ।
तर, परिवारको लापरवाहीको कारण क्षति हुन गएमा भने कम्पनीे भुक्तानी गर्दैन । त्यस्तै, कानुनी निकायको आदेशमा बिमा गरिएको खेतीलाई नष्ट गर्नुपर्ने भएमा, चोरी भएमा, बिमितले आफ्नो जग्गा बिक्री वा स्वामित्व हस्तान्तरण गरेको अवस्थामा, कम्पनीलाई झुट्टा विवरण दिएमा, वंशाणुगत कारणबाट क्षति हुन गएमा समेत कम्पनीले दाबी भुक्तानी गर्दैन ।
http://www.karobardaily.com/news/80232
http://www.karobardaily.com/news/80232
No comments:
Post a Comment