Sunday, June 18, 2017

नयाँ बिमा कम्पनी, अवसर र चुनौती

मुना कुँवर
काठमाडौः नेपालमा शिक्षित बेरोजगारको संख्या बढ्दै गएका बेला बिमा बजारमा रोजगारीको अवसर सिर्जना भएको छ । बिमा समितिले नयाँ १० वटा जीवन बिमा कम्पनी सञ्चालनका लागि सैद्धान्तिक सहमति प्रदान गरेपछि बजारमा कर्मचारीको माग हुन थालेको हो । प्रतिदिन नयाँ कम्पनीहरूले विभिन्न तहका कर्मचारीहरूको माग गरिरहेका छन् । 
नेपालमा हाल २७ वटा बिमा कम्पनी सञ्चालनमा छन् । जसमध्ये १७ वटा निर्जीवन, ९ वटा जीवन र एउटा पुनर्बिमा कम्पनी छ । यसका साथै समितिले हालै १० वटा जीवन बिमा कम्पनी सञ्चालनको अन्तिम तयारीमा छन् ।
त्यस्तै, अन्य दुइटा जीवन बिमा कम्पनी अर्थ मन्त्रालयको सहमतीको पखाईमा छन् भने चारवटा निर्जीवन बिमा कम्पनी समितिको निर्णय कुरिरहेका छन् । यदि यी सबै कम्पनीले सञ्चालन अनुमति प्राप्त गर्ने हो भने अहिलेको बिमा कम्पनीको संख्या करिब दोब्बरले बढ्नेछ अर्थात् ४३ वटा पुग्नेछन् ।
बिमा कम्पनीहरूको संख्या बढेसँगै बजारमा दक्ष नजशक्तिको खोजी हुन थालेको छ । एउटा बिमा कम्पनीलाई समान्य कर्मचारीदेखि लिएर, सर्भेयर, अभिकर्ता, सीए, एक्चुअरीलगायतका कर्मचारीको आवश्यकता पर्छ ।

अहिले कै अवस्थालाई हेर्ने हो भने एउटा कम्पनी कुशल रूपमा सञ्चालनका लागि कम्तीमा पनि १५० देखि २०० सम्म कर्मचारीको आवश्यकता पर्ने बताउँछन् लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीका सहायक जनरल म्यानेजर एवं नेपाल इन्स्योरेनस प्रोफेसनल सोसाइटीका अध्यक्ष कुमारबहादुर खत्री ।
यदि यही संख्यालाई आधार मान्ने हो भने तत्काल लाइसेन्स पाउने १० वटा जीवन बिमा कम्पनीका लागि कम्तीमा पनि १ हजार ५ सय कर्मचारी आवश्यकता पर्छ । उक्त संख्यामध्ये कम्पनीको प्रमुख कार्यकारी, सहायक र विभागिय प्रमुखसहित कम्तीमा पनि १०० देखि १५० कर्मचारी आवश्यकता पर्नेछ । जुन अनुभवी र दक्ष हुनुपर्ने खत्रीले बताए । 
नयाँ कम्पनीहरूलाई अन्य तहका कर्मचारी पूर्ति गर्नका लागि कुनै समस्या नभए पनि नेतृत्व तहका कर्मचारी पूर्तिका लागि भने चुनौती पूर्ण हुने नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका सहायक जनरल म्यानेजर कमल पन्थीले बताए ।
“केही नयाँ र केही पुराना कर्मचारीहरू भयो भने कम्पनीको सञ्चालनमा कुनै समस्या हुँदैन । नयाँ कर्मचारीले झन् छिटो सिक्छन्,” उनले भने । तर, विभागिय प्रमुख जस्ता कर्मचारी भने दक्ष र अनुभवी हुनुपर्ने उनले बताए । 
त्यस्तै, नयाँ कम्पनीहरूका लागि व्यावसायिक अभिकर्ताको अभाव हुन सक्ने देखिएको छ । जीवन बिमा कम्पनी पूर्ण रुपमा अभिकर्तामा आधारित हुन्छ । त्यसैले कम्पनीलाई तीव्र गतिमा अगाडि बढाउने हो भने व्यावसायिक अभिकर्ताको आवश्यकता पर्छ ।
नेपाल लाइफ इन्स्योरेन्सका सहायक जनरल म्यानेजर पन्थीका अनुसार कुनै पनि कम्पनीलाई राम्रोसँग अगाडि बढाउने हो भने कम्तीमा पनि १ हजार अभिकर्ताको आवश्यकता पर्छ ।
त्यस्तै लाइफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल) का अभिकर्ता केदारनाथ अधिकारीका अनुसार एउटा कम्पनीलाई कम्तीमा पनि सक्रिय रूपमा काम गर्ने ३०० देखि ५०० अभिकर्ताको आवश्यकता पर्छ । तर, बजारमा व्यावसायिक अभिकर्ताको अभाव छ । त्यसैले नयाँ कम्पनीहरूलाई व्यावसायिक अभिकर्ता उत्पादन  गर्न र परिचालन गर्न चुनौतीपूर्ण हुने उनले बताए । 
त्यस्तै, कम्पनीहरूको विस्तारसँगै सर्भेयरहरूको पनि अभाव देखिने भएको छ । जीवन बिमा कम्पनीमा सर्भेयर सक्रिय नभए पनि निर्जीवन बिमा कम्पनी लागि सर्भेयर आवश्यकता पर्छ ।
अहिले नेपालको बिमा बजारको लागि सर्भेयरहरू पर्याप्त भए पनि उपत्यका बाहिर भने अझै अभाव भएको लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीका सहायक जनरल म्यानेजर एवं नेपाल इन्स्योरेनस प्रोफेसनल सोसाईटीका अध्यक्ष खत्रीले बताए । तर, नेपाल सर्भेयर संघका उपाध्यक्ष मोहन पुरुष ढकालले भने नयाँ कम्पनीहरूलाई सर्भेयरको अभाव नहुने बताएका छन् ।
उनका अनुसार हाल समितिबाट सर्भेयरको लाइसेन्स लिएकामध्ये १५ प्रतिशत सर्भेयरले मात्रै सक्रिय रूपमा काम गरेका छन् । “त्यसैले नयाँ कम्पनीका आउँदा बाँकी रहेका सर्भेयरले पनि रोजगारी पाउनेछन्,” उनले भने । 
नयाँ कम्पनीहरूको विस्तारसँगै बिमा बजारमा अवसरहरूको सिर्जना भएको छ । यसले मुलुकमा देखिएको बेरोजगारीको समस्यालाई सम्बोधन गर्ने बिमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईंले बताए । “बजारमा जनशक्तिको अभाव छैन ।
बैंकिङ क्षेत्रका जनशक्तिको उपयोग गर्न सकिन्छ,” उनले भने । त्यस्तै समितिका पूर्वअध्यक्ष प्रा.डा. फत्तबहादुर केसीले पनि बजारमा जनशक्ति अभाव नहुने बताएका छन् । “बजारमा शिक्षित युवाहरूको ठूलो जमात छ ।
नयाँ कम्पनीको प्रवेशसँगै युवाहरूले अवसर पाउने छन् । सबै अनुभवी नै चाहिन्छ भन्ने छैन । नयाँ कर्मचारीले पनि केही समयमा सिक्न सक्छ,” उनले भने । समितिले बिमा कम्पनीका लागि जनशक्तिको अभाव नभएको बताइ रहँदा बिमकहरू भने बजारमा जनशक्तिको अभाव भएको बताइरहेका छन् ।
अहिले बजारमा उपलब्ध हुने जनशक्तिले कम्पनी चलाउन सके पनि प्रतिफल दिन भने नसक्ने जनप्रिय बहुमुखी क्याम्पस पोखराका उप–प्राध्यापक एवं बिमा विज्ञ डा.दामोदर बस्यौलाले बताए ।
 बिमा समितिको आव ०७१/७२ को वार्षिक प्रतिवेदनअनुसार बिमा समितिबाट ७५ हजार ६०६ अभिकर्ताले लाइसेन्स लिएका छन् । त्यस्तै, २६२ सर्भेयरले लाइसेन्स लिएका छन् भने बिमा कम्पनीहरूमा ३ हजार ७५३ कर्मचारी छन् । 
बिमा शिक्षाको अभाव
नेपालमा बिमा व्यवसाय सञ्चालन भएको ७ दशक बितिसक्दा पनि बिमा पहुँच मुस्किलले ७ प्रतिशतमा पुगेको छ । सरकार, नियमनकारी निकाय, व्यवसायी तथा सरोकारवालाहरू बिमा शिक्षाको बिषयमा उदासीन हुँदा बिमासम्बन्धी चेतना र व्यावसायिक जनशक्तिको विकास हुन सकेको छैन । 
उसो त बिमा समितिले प्रत्येक वर्ष बिमासम्बन्धी प्रचार–प्रसार र व्यावसायिक दक्ष जनशक्ति विकास लागि विभिन्न योजना बनाउने गरेको छ । समितिको आव ०७२÷७३ को वार्षिक योजनाहरूअनुसार समितिले बिमासम्बन्धी अध्ययन गर्ने, व्यावसायिक जनशक्ति उत्पादन गर्ने, बिमा एकेडेमी स्थापना गर्ने र प्रचार–प्रसार गर्नका लागि विभिन्न योजना, अवधि र लागत अनुमानसमेत बनाएको थियो । 
समितिले वार्षिक कार्यक्रममा बिमासम्बन्धी अध्ययन गर्ने भन्ने विषयलाई मुख्य योजना बनाएको थियो । जसको उद्देश्य देशमा बिमासम्बन्धी आवश्यकताहरू बिमा क्षेत्रबाट सम्बोधन गर्न, बिमा क्षेत्रमा विद्यमान समस्याहरू र समाधानका उपायहरू पत्ता लगाउन, बिमा क्षेत्रको आवश्यक सुधारसम्बन्धी उपायहरू अवलम्बन गर्न, बिमासम्बन्धी नीति, नियम तथा योजना तर्जुमाका लागि आवश्यक अध्ययनहरू गर्ने थियो ।  यो योजनाको अनुमानित लागत ८ लाख रुपैयाँ राखिएको थियो । 
त्यस्तै, व्यावसायिक जनशक्ति विकास गर्ने पनि समितिको वार्षिक योजना रहेको थियो । जसको उद्देश्य बिमा क्षेत्रको लागि आवश्यक दक्ष जनशक्ति तयार गर्ने तथा तालिम सञ्चालन गर्ने रहेको थियो ।
यसअन्र्तगत समितिले बिमांकीय विज्ञानसम्बन्धी तालिम, समितिका कर्मचारीहरूलाई वैदेशिक तालिम, समितिका कर्मचारीहरूलाई स्वदेशी तालिम, बिमा सर्भेयरको आधारभूत तालिम, उच्च शिक्षा अध्ययनका लागि समितिका कर्मचारीलाई छात्रवृत्ति प्रदान गर्ने, पत्रकारलाई बिमासम्बन्धी आधारभूत प्रशिक्षण, बाली तथा पशुपन्छी र लघुबिमासम्बन्धी तालिम, बिमा अभिकर्ताको आधारभूत तालिम दिने योजना बनाएको थियो । जसको लागत अनुमान ५२ लाख रुपैयाँ थियो । 
साथै जनचेतना अभिवृद्धि गर्ने पनि समितिको योजना थियो । जसको उद्देश्य बिमाबारे सर्वसारधाणमा चेतना अभिवृद्धि गर्ने तथा बिमालाई ग्रामिण क्षेत्र, न्यून आय  वर्गलगायत समाजका सबै तहको पहुँचसम्म पु-याउन बिमासम्बन्धी विशेष प्रचार–प्रसारका कार्यक्रम तयारी गरी लागू गर्ने, जिंगल तयार गरी प्रसारण गर्ने, काठमाडौं उपत्यका बाहिर र भित्र अन्तरक्रिया कार्यक्रम गर्ने, वित्तीय क्षेत्रका नियमनकारीहरूको अन्तरक्रिया आयोजना गर्ने, ग्रामीण क्षेत्रका उच्च माध्यमिक विद्यालय तथा विद्यालयहरूमा बिमाको कक्षा सञ्चालन गर्ने समितिको योजना थियो ।
जसकोे लागत अनुमान १३ लाख राखिएको थियो । त्यस्तै समितिले बिमा प्रतिष्ठान स्थापना गर्नेसमेत योजना बनाएको थियो । जसको लागत अनुमान १ करोड राखिएको थियो । समितिले अघिल्लो आवमा बनाएको अधिकांश योजनाहरूले अहिलेसम्म पूर्णता पाउन सकेको छैनन् ।
तसर्थ प्रत्येक एउटै योजनाहरू दोहोरिने गरेका छन् । त्यस्तै, समितिले व्यवस्थापन खर्चमा अंकुश लगाएको भन्दै बिमकहरूले पनि प्रचार प्रसारमा खासै ध्यान दिएको देखिदैन । न त अन्य सरोकारवाला निकायहरूले पनि यस क्षेत्रमा काम गरेको देखिन्छ । 
पाठ्यक्रममा बिमा
बिमासम्बन्धी चेतना जगाउन र दक्ष जनशक्ति उत्पादनका लागि बिमालाई पाठ्यक्रममा पनि समावेश गर्नुपर्ने बिमा विज्ञहरूले बताउँदै आएका छन् । नेपालमा बिमा सम्बन्धी अध्यापन नहुँने हुँदा बिमामा रुचि भएका विद्यार्थीहरू समेत अन्य विषयमा रोज्न बाध्य भएको विमा विज्ञ एवं पोखरा विश्वविद्यालयका उप प्राध्यापक डा.रवीन्द्र घिमिरले बताए । 
नेपालमा त्रिभुवन विश्वविद्यालयले व्यवस्थापन संकायअन्तर्गत स्नातक तहमा १ सय अंकको बैंकिङ तथा इन्स्योरेन्स विषय ऐच्छिक विषयको रूपमा अध्यापन गराउँदै आएको छ । त्यस्तै, पोखरा विश्वविद्यालयले स्नातक तहमा बैंकिङ तथा इन्स्योरेन्स (बीबीए बीआई) को अध्यापन गराउँदै आएको छ ।
तर, स्नातकोत्तर तहमा भने नेपालमा कुनै पनि विश्वविद्यालय अध्यापन सुरु गरेका छैनन्  । त्यसैले बिमामा नै स्नातककोत्तर गर्न चाहने धेरै विद्यार्थी बैंकिङतर्फ लाग्ने गरेको पोखरा विश्वविद्यालयका विद्यार्थीहरू बताउँछन् । 
नेपालमा सरकारले बिमालाई प्राथमिकतामा राखेको छैन । त्यसैले पनि यसलाई पाठ्यक्रममा समावेश गर्न नसकिएको विज्ञहरू बताउँछन् । जसको फलस्वरूप नेपालमा बिमा व्यवसाय फस्टाउन नसकेकोे पोखरा विश्वविद्यालयका उप प्राध्यापक एवं बिमा विज्ञ घिमिरेले बताए । नेपालमा बिमासम्बन्धी अध्यापन गराउने पर्याप्त मात्रामा शैक्षिक संस्था तथा तालिम दिने संस्था समेत नभएको उनले बताए ।
“सञ्चालनमा रहेका सिमित शैक्षिक संस्थाले समेत बिमासम्बन्धी आवश्यक शिक्षा प्रदान गर्न सकेको छैनन्,” उनले भने । त्यस्तै, जनप्रिय बहुमुखी क्याम्पस पोखराका सह प्राध्यापक एवं विमा विज्ञ डा.दामोदर बस्यौलाले भने नियमनकारी निकायको बेवास्ताका कारण बिमालाई पाठ्यक्रममा राख्न नसकिएको बताए । “हामीले धेरै पटक समितिलाई भनी सक्यौ । कसैले पनि यसलाई गहन रुपमा लिएनन्,” उनले भने । 
यसअघि नेपालको बिमा व्यवसाय सानो भए पनि अब भने बढ्दै गएको छ । त्यसैले बिमा विषयलाई पाठ्यक्रममा नै राख्नुपर्ने बताउँछन् बिमा समितिका  पूर्वअध्यक्ष एवं प्रा.डा फत्तबहादुर केसी । “पहिला बजार सानो थियो । त्यसैले माग पनि कम थियो । तर, अहिले बजार बढ्ने भएको छ । बजारमा यस सम्बन्धी दक्ष जनशक्तिको माग बढ्दै गएको छ ।
त्यसैले यसलाई अब पाठ्यक्रममा नै समावेश गर्नुपर्ने बेला भएको छ,” उनले भने । विश्वमा इन्स्योरेन्स इन्स्टिच्युट अफ म्यान्चेस्टरलाई बिमा शिक्षाको पहिलो खुड्किलो मानिन्छ । यसको स्थापना सन् १८७३ मा भएको हो ।
अमेरिकामा सन् १८७४ देखि इन्स्योरेन्स ल को अध्यापन सुरु भएको हो । जर्मनीमा सन् १८९८ बाट बिमा शिक्षाको शुरुवा्त गरिएको हो भने चीनमा सन् १९०२, कोरियामा सन् १९१० देखि बिमा शिक्षा अध्यापन गराउनु सुरु गरिएको हो । 
http://www.karobardaily.com/news/80041

No comments:

Post a Comment