Sunday, June 25, 2017

वित्तीय साक्षरतामा महिला अब्बल

मुना कुँवर
काठमाडौः वित्तीय साक्षरतामा पुरुषलाई पछि पार्दै महिलाहरू अब्बल देखिएका छन् । एक अध्ययनका अनुसार महिला घरमूली भएको परिवारमध्ये ७१.७ प्रतिशत घरमूलीको नाममा बैंक खाता रहेको पाइएको छ । जबकी पुरुष घरमूली भएको घरपरिवारमध्ये जम्मा ५६.५ प्रतिशतको मात्रै बैंक खाता रहेको अध्ययनले देखाएको छ । 
केन्द्रीय बैंकले गरेको सर्वेक्षणअनुसार बैकिङ सेवा उपयोग गर्नेमा महिला घरमूली अगाडि देखिएका हुन् । सर्वेक्षणमा समेटिएका महिला घरमूलीहरू शतप्रतिशत शिक्षित रहेको पाइएकोले उक्त प्रतिशत उच्च रहन गएको बैंकले जनाएको छ ।
विप्रेषण प्राप्त गर्ने घरपरिवारको बचत तथा लगानी प्रवृत्तिसम्बन्धी केन्द्रीय बैकले गरेको सर्वेक्षणले वित्तीय समावेशीकरणको लागि प्रदान गरिएका वित्तीय साक्षरता कार्यक्रमले युवा वर्गलाई अपेक्षित रूपमा आकर्षित गर्न नसकेको देखिएको छ ।
अध्ययनले घरमूलीको भन्दा बैदेशिक रोजगारीमा जाने व्यक्तिको बैकिङ बानीको विकास नभएको देखाएको छ । विप्रेषण प्राप्त गर्ने कुल घरपरिवारमध्ये ६४.१ प्रतिशत घरमूलीको एक वा एकभन्दा बढी बैंकमा खाता रहेको अध्ययनले देखाएको छ ।

बैदेशिक रोजगारीका गएकामध्ये ३६.६ प्रतिशतको मात्रै बैक खाता रहेको पाइएको छ । घरमूलीले परिवार सञ्चालनको लागि प्रायः सम्पूर्ण वित्तीय कारोबार गर्ने र रोजगारमा गएका व्यक्तिहरूलाई बैंकमा रकम पठाउन पनि सहज हुने कारण बैंक खाता हुने घरमूलीको अंश उच्च देखिएको केन्द्रीय बैंकले बताएको छ । 
वैदेशिक रोजगारमा जाने व्यक्तिमा वित्तीय सारक्षता एकदमै कम रहेको रोजगारविद् डा. गणेश गुरूङले बताए । “यतिसम्म कि उनीहरूलाई  आफू विदेश जाँदा लागेको खर्च र उक्त खर्च भुक्तानी गर्न कति समय काम गर्नुपर्छ भन्नेसम्मको सामान्य ज्ञान पनि छैन,” उनले भने । त्यसैले विदेशमा गएपछि कामदारले दुःख पाउने गरेको उनले बताए ।
नेपाल राष्ट्र बैक लगायतका विभिन्न निकायले वित्तीय साक्षरता तालिम सञ्चालन गरे पनि यसबाट लाभान्वित हुनेको संख्या भने कम रहेको उनले बताए । क्षेत्रगत रूपमा हेर्दा सहर तथा सहरोन्मुख क्षेत्रमा बसोबास गर्ने घरमूलीमध्ये ७२.१ प्रतिशतको बैंक खाता रहेको छ भने ग्रामीण क्षेत्रमा बसोबास गर्ने घरमूलीमध्ये ५८.२ प्रतिशतको मात्र बैंक खाता रहेको छ ।
सहर तथा सहरोन्मुख क्षेत्रमा बसोबास गरी वैदेशिक रोजगारीमा गएका व्यक्तिमध्ये ४२.७ प्रतिशत व्यक्तिहरूको बैंक खाता रहकेो छ भने ग्रामीण क्षेत्रमा बसोबास गर्नेमध्ये ३२.१ प्रतिशत व्यक्तिहरूको बैंक खाता रहेको छ । 
अध्ययनले वित्तीय संस्थाको पहुँच तथा सेवाग्राहीको शैक्षिक स्तरले पनि बैकिङ सेवा उपयोगमा फरक पर्ने देखाएको छ । अशिक्षित एवं ग्रामीण घरमूलीमध्ये ३४.२ प्रतिशतको मात्र बैंक तथा वित्तीय संस्थामा खाता रहेको छ ।
यसको तुलनामा सहर तथा सहरोन्मुख क्षेत्रमा बसोबास गर्ने तर लेखपढ गर्न नसक्ने घरमूलीमध्ये ५२.४ प्रतिशतको बैंक खाता रहेको छ । रोजगारीमा गएका शिक्षित व्यक्तिहरूमध्ये ४४.१ प्रतिशतको मात्रै बैंक खाता रहेको पाइएको छ ।
समान्यतः सर्वसाधारणको शिक्षाको स्तर तथा बैंक तथा वित्तीय संस्थामाथिको पहुँच दुवैले सर्वसाधारणको बैकिङ बानीमा असर पार्ने भए पनि बैंक तथा वित्तीय संस्थाको उपस्थितिले भन्दा व्यक्तिको शिक्षाको स्तरले बढी असर पार्ने देखिएको बैंकले जनाएको छ । 
http://www.karobardaily.com/news/80192

No comments:

Post a Comment