मुना कुँवर
भदौ १६, काठमाडौं । आगामी वर्षमा नेपालको बीमा व्यवसाय २५ प्रतिशतले
वृद्धि हुने अनुमान गरिएको छ । गत वैशाखको भूकम्पपछि मानिस बीमाप्रति सचेत
भएकाले बीमा व्यवसाय बढ्ने बीमकहरूले अनुमान गरेका छन् । भूकम्पले जनधनको
धेरै क्षति गरेपछि बीमाप्रति मानिसको आकर्षण बढ्न थालेको नेशनल
इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत डा.प्रोणव सेनले बताए । उनले भने,
‘आगामी वर्ष नेपालको बीमा व्यवसाय २० देखि ३० प्रतिशतले बढ्नेछ ।’
हाल नेपालमा सञ्चालित बीमा कम्पनीहरूले वार्षिक रू. २४ अर्बबराबरको
व्यवसाय गर्ने गर्छन् । कम्पनीहरूको वार्षिक व्यवसाय वृद्धिदर १० देखि १५
प्रतिशत रहेको अध्ययनले देखाएको छ । बीमकहरूको अनुमानअनुसार व्यवसाय बढेमा
आगामी वर्ष कम्पनीहरूको व्यापार रू. ६ अर्बले वृद्धि भएर रू. ३० अर्ब
पुग्नेछ ।
भूकम्पपछि कम्पनीहरूबाट बीमा योजना जारी हुने क्रम बढेको छ । कम्पनीमा
बीमासम्बन्धी सोधपुछ तथा जानकारी लिन आउनेको सङ्ख्या पनि बढेको नेशनल
इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत सेनले बताए । उनले भने, ‘दैनिक
नयाँ नयाँ व्यक्ति सोधपुछका लागि आइरहेका छन् ।’ त्यस्तै, अहिलेसम्म अण्डर
इन्स्योरेन्स गरेका बीमितहरूले सम्पत्तिको पूर्ण बीमा गर्न थालेको उनले
बताए । त्यसैले आगामी वर्षदेखि अण्डर इन्स्योरेन्सको समस्या पनि समाप्त
हुने उनले बताए । किनभने धेरै बीमितहरूले अहिले अण्डर इन्स्योरेन्सका कारण
ठूलो आर्थिक क्षति बेहोरेका छन् ।
भैपरी आउने आर्थिक विपत्तिबाट बच्न बीमा सबैभन्दा उत्तम विकल्प भए पनि
नेपालको कुल जनसङ्ख्याको करीब ७ प्रतिशतले मात्र बीमा गरेको एक अध्ययनले
देखाएको छ । नेपालमा सरकारले बाध्यकारी बनाएको (तेस्रो पक्ष) तथा बैङ्कले
बाध्यकारी बनाएको (कर्जा) बीमा मात्रै बढी प्रचलनमा छन् । अन्य योजना भने
मानिसले मुश्किलले खरीद गर्ने गरेको देखिन्छ ।
वैशाखपछि भने मानिसले बीमाको आवश्यकता महसूस गर्न थालेका छन् । त्यसैले
बीमा व्यवसाय ह्वातै बढ्ने अनुमान गरिएको थियो । तर, अनुमान गरिएजस्तो
मानिस बीमाप्रति आकर्षित नभएको बताउँछन् सिद्धार्थ इन्स्योरेन्सका प्रमुख
कार्यकारी अधिकृत वीरेन्द्र बैदावर क्षत्री । उनले भने, ‘भूकम्पलगत्तै
मानिस धनजनको अत्यधिक क्षतिका कारण आत्तिएका थिए ।
त्यसैले बीमाका लागि मानसिक रूपमा तयार पनि थिए ।’ तर, समयसँगै पीडालाई
मानिसले बिर्सन थालेको उनले बताए । त्यसैले सोचेजति बीमा व्यवसाय वृद्धि
हुन नसकेको उनको भनाइ छ । यद्यपि पहिलेको तुलनामा भने आगामी वर्ष २० देखि
२५ प्रतिशतले बीमा व्यवसाय बढ्ने उनले बताए ।
मुलुकमा अचानक यति ठूलो क्षति हुँदा पनि मानिस बीमाप्रति हुनुपर्ने जति
सचेत नभएको सगरमाथा इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर
बस्नेतको भनाइ छ । उनले भने, ‘मानिसले विस्तारै भूकम्पको पीडालाई बिर्सन
थालेका छन् ।’ तर, दुर्घटना कुनै पनि बेला हुनसक्ने भएकाले सतर्कता अपनाउनु
पर्नेमा उनको जोड छ ।
No comments:
Post a Comment