Wednesday, September 9, 2015

स्वास्थ्य बीमामा नगदरहित योजना आउँदै


२०७२-०५-२३ मा प्रकाशित    

 मुना कुँवर

भदौ २२, काठमाडौं । निर्जीवन बीमा कम्पनीहरूले नगदरहित स्वास्थ्य बीमा योजना सञ्चालनमा ल्याउने भएका छन् । यस्तो प्रणालीमा बीमा पोलिसीधारकले उपचार गराउँदा अस्पतालमा नगद तिर्नुपर्दैन । भारतलगायत अन्य मुलुकमा यस्तो योजना धेरै पहिलेदेखि नै सञ्चालनमा आए पनि नेपालमा अझैसम्म सञ्चालनमा आएको छैन । नेपालमा यस्तो बीमाको सम्भावना अधिक देखिएकाले सञ्चालनमा ल्याउने तयारी गरिएको बीमकहरूले बताएका छन् ।

नेपालमा सञ्चालित १७ निर्जीवन बीमा कम्पनीहरूले अग्नि, मोटर, हवाई, घर, स्वास्थ्यलगायत विभिन्न खालका योजना सञ्चालन गरिरहेका छन् । निर्जीवन बीमाअन्तर्गत पछिल्लोपटक बीमा कम्पनीहरूले स्वास्थ्य बीमालाई जोड दिन थालेका छन् । मानिसका लागि स्वास्थ्य सबैभन्दा महत्त्वपूर्ण विषय भएकाले यसतर्फ कम्पनीहरूको झुकाव बढेको बीमकहरूको भनाइ छ । उपचारका लागि समयमा नै रकमको जोहो गर्न नसक्दा कतिपयले उपचार पाउन नसकेको अहिलेको अवस्थामा त्यस्ता खालका समस्याबाट सुरक्षित रहन कम्पनीहरूले नगदरहित स्वास्थ्य बीमा योजना सञ्चालन गर्न लागेको सिद्धार्थ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत वीरेन्द्र बैदवार क्षत्रीले बताए ।
कम्पनीहरूले अहिले सञ्चालन गरिरहेको स्वास्थ्य बीमाभन्दा नगदरहित स्वास्थ्य बीमा योजना सुविधायुक्त रहेको बीमकहरूको दाबी छ । त्यसैले सिद्धार्थ इन्स्योरेन्स कम्पनीले केही दिनमा नै यो योजना सार्वजनिक गर्न लागेको सो कम्पनीले बताएको छ । त्यसका लागि कम्पनीले काठमाडौंस्थित नर्भिक, ग्राण्ड, अल्का, ब्लु क्रस तथा बी एण्ड बी हस्पिटललगायत अन्य १५ ओटा अस्पतालसँग सम्झौता गरिसकेको क्षत्रीले बताए । उनले भने, ‘मेडिकल कलेजहरूसँग पनि सम्झौता गर्ने तयारी गरेका छौं ।’
नेशनल इन्स्योरेन्स कम्पनीले पनि केही दिनमा यस्तो स्वास्थ्य बीमा योजना सञ्चालन गर्ने भएको छ । कम्पनीले शुरूमा कर्पोरेट कम्पनीका कर्मचारीहरूबाट योजना थाल्ने तयारी गरेको नेशनल इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत डा. प्रोणव सेनले बताए । उनले भने, ‘कम्पनीको लागि यो योजना त्यति सहज छैन, तर पनि सेवाग्राहीको हितको लागि भने अति लाभदायक छ ।’
उनका अनुसार कम्पनीले काठमाडौंस्थित ग्राण्डी हस्पिटलसँग सम्झौता गरिसकेको छ ।
नेपालमा सञ्चालित निर्जीवन बीमा कम्पनीहरूले स्वास्थ्य बीमा योजना अहिले पनि सञ्चालन गरिरहेका छन् । विभिन्न सङ्घसंस्थाका कर्मचारीहरूको सामूहिक रूपमा गरिँदै आएको स्वास्थ्य बीमाले खासै बजार लिन सकेको भने छैन । नेपाली स्वास्थ्यप्रति उदासीन भएकाले नै यस्तो योजनामा माग बढ्न नसकेको बीमकहरूले बताए । तर, अहिले शहरी क्षेत्रमा बसोबास गर्ने मानिस भने स्वास्थ्यप्रति चिन्तित देखिन थालेका छन् । तसर्थ यो बीमा योजना सफल हुने उनीहरूको अनुमान छ ।

अहिले सञ्चालनमा रहेका स्वास्थ्य बीमा योजनाअन्तर्गत बीमित बिरामी भएको अवस्थामा उसको स्वास्थ्योपचारबापत लाग्ने खर्च कम्पनीले बेहोर्ने गर्छ । तर, अस्पतालमा भने बीमित आफैले रकम बुझाउनुपर्छ । अस्पतालबाट पाएको नगद बिल कम्पनीमा बुझाएपछि सोही बराबरको रकम कम्पनीले भुक्तानी गर्छ । तर, नगदरहित बीमामा मानिसले अस्पतालमा आफैले नगद रकम बुझाउनुपर्दैन ।
यस योजनाअनुसार बीमा गरेपछि बीमितहरूले एउटा कार्ड पाउनेछन् । बिरामी वा दुर्घटना भएको समयमा बीमकले सम्झौता गरेका अस्पतालमा गएर कार्ड देखाएपछि अस्पतालले उपचारको प्रक्रिया शुरू गर्छ । स्वास्थ्योपचारमा लागेको खर्चको हिसाबकिताब बीमा कम्पनीले र अस्पताल आफैले मिलाउँछन् । साथमा पैसा नभएको अवस्थामा यस्तो खालको बीमा योजना अत्यन्तै लाभदायक हुने सिद्धार्थ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत क्षत्रीले बताए ।

No comments:

Post a Comment