मुना कुँवर
असोज ६, काठमाडौं । गत वैशाखको भूकम्पपछि निर्जीवन बीमा कम्पनीहरूमा
नक्कली भूकम्पपीडितले दाबी गर्ने क्रम बढेको छ । कम्पनीहरूले भुक्तानी
प्रक्रियालाई सहज बनाएपछि नक्कली कागज पेश गरी दाबी गर्नेको सङ्ख्या बढेको
लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीका नायब प्रमुख कार्यकारी अधिकृत
विनोदकाजी श्रेष्ठले बताए । उनका अनुसार मुलुकले भोगेको पीडादायी अवस्थाको
लाभ उठाउँदै केही व्यक्तिले झूटो विवरण पेश गरी फाइदा उठाउन खोजेका हुन् ।
सो भूकम्पपछि पनि विभिन्न स्थानलाई केन्द्रविन्दु बनाई पराकम्पन जाने
क्रम जारी रहेको र भूकम्पले कमजोर बनाएका संरचनालाई पराकम्पनले थप क्षति
पु¥याएको देखिएको छ । तर, पराकम्पनले क्षति नपु¥याएको संरचनाको पनि झूटो
विवरण पेश गरी कम्पनीहरूमा नक्कली दाबी पर्ने गरेको बीमकहरूले बताएका छन् ।
कम्पनीहरूले भुक्तानी प्रक्रिया सहज बनाएकै कारण केही व्यक्तिले नियतवश
लाभ उठाउन खोजेको श्रेष्ठले बताए । ‘हाम्रो कम्पनीमा यस्ता केही केश परेका
थिए,’ उनले भने, ‘हामीले फेला पा¥यौं ।’ श्रेष्ठका अनुसार भूकम्पले क्षति
पु¥याएका घरलाई भूकम्पपछि बीमा गर्ने अनि पराकम्पनले क्षति पु¥याएको भन्दै
दाबी गर्ने गरिएको छ । उनले भने, ‘विशेष गरी दुर्गम क्षेत्रबाट यस्तो खालको
दाबी परेको छ ।’ त्यस्ता स्थानमा सर्वे गर्न कम्पनीलाई समस्या हुने भएकाले
उनीहरूले सहजै कम्पनीलाई झुक्याउन सक्ने उनले बताए । यस्ता खालका
गतिविधिमा स्थानीय टाठाबाठाहरूले सोझा व्यक्तिहरूलाई उक्साउने गरेका छन् ।
आर्थिक प्रलोभनमा परी सोझा व्यक्तिहरू कम्पनीमा दाबी गर्न आउने गरेको उनले
बताए ।
भूकम्पपछिका ५ महीनाको अवधिमा निर्जीवन बीमा कम्पनीहरूमा १७ हजार ९६ ओटा
बीमाको रू. १८ अर्ब १४ करोड दाबी परेको छ । दाबी परेको रकममध्ये अहिलेसम्म
कम्पनीहरूले रू. ४ अर्ब २३ करोड भुक्तानी गरिसकेका छन् । यो रकम कुल दाबी
रकमको २३ दशमलव ३५ प्रतिशत हो । बीमा समितिको तथ्याङ्कअनुसार कम्पनीहरूले
भदौ महीनासम्ममा ७ हजार २ सय ४९ ओटा बीमा दाबीको रकम भुक्तानी गरिसकेका छन्
।
बीमा कम्पनीहरूमा नक्कली दाबी पर्ने विषय नयाँ भने होइन ।
तर, भूकम्पले मुलुकलाई नै पीडादायी अवस्थामा पुर्याएको बेलासमेत फाइदा
उठाउने व्यक्तिहरू सक्रिय भएको देख्दा भने बीमकहरूले दुःख व्यक्त गरेका छन्
। झूटो दाबी गर्नेलाई कारबाही गर्ने सरल प्रक्रिया नहुँदा यस्ता काम गर्ने
व्यक्तिलाई थप बल पुग्ने गरेकोे बीमकहरूले बताए । नक्कली दाबी
गर्नेविरुद्ध बीमकहरूले अदालतमा उजुरी गर्न पाउने प्रावधान रहेको छ । तर,
अदालती प्रक्रियामा गएर कसैले पनि झन्झट बेहोर्न नचाहने बीमकहरूको भनाइ छ ।
त्यसका लागि सम्बन्धित निकायले सहज विकल्पको खोजी गर्नुपर्ने बीमकहरूले
माग गरेका छन् ।
No comments:
Post a Comment