मुना कुँवर
काठमाडौं । बालकोटी निवासी राखी
राजभण्डारी कामकाजी महिला हुन् । उनी सफ्टवेयर कम्पनीमा काम गर्छिन् । यसै
क्रममा ८ वर्ष पहिला उनका सहकर्मीले उनलाई जीवन बीमा योजना खरीद गर्न
सल्लाह दिएका थिए । त्यतिबेला उनलाई यस्तो योजनाप्रति खासै चासो लागेको
थिएन । तैपनि सहकर्मीको मन राखिदिन योजना खरीद गरेको उनले बताइन् । लाइफ
इन्स्योरेन्स कम्पनीको उक्त योजनाको अवधि २० वर्षे थियो । बीमाङ्क रकम रू. १
लाख रहेको उक्त योजनाका लागि वार्षिक प्रिमियम रू. ६ हजार बुझाउँदै आएको
उनले बताइन् । वार्षिक रूपमा प्रिमियम बुझाउँदा खासै समस्या नहुने उनको
अनुभव छ । वार्षिक प्रिमियम बुझाउन मासिक रू. ५ सय जम्मा गर्नुपर्छ ।
कामकाजी महिलालाई मासिक रू. ५ सय जम्मा गर्न खासै समस्या नहुने उनले बताइन्
। उनले भनिन्, ‘यसरी वार्षिक रूपमा बुझाउँदै आएको थोरैथोरै रकम जम्मा
हुँदै जाँदा अहिले रू. ४८ हजार जम्मा भइसकेछ ।’ गत महीना उनलाई अर्को एउटा
व्यवसाय सञ्चालन गर्न रकमको आवश्यकता पर्यो । त्यतिबेला उनले आफूले जम्मा
गरेको रकमको ९० प्रतिशत रकम बीमा कम्पनीबाटै ऋण पाइन् । यसले आफ्नो नयाँ
व्यवसाय सञ्चालनमा सहज भएको उनले बताइन् ।
राजभण्डारीले जस्तै जावलाखेलकी लक्ष्मी
श्रेष्ठले पनि सूर्या लाइफ इन्स्योरेन्स कम्पनीको जीवन बीमा योजना खरीद
गरेकी छिन् । उनी एउटा निजी कम्पनीमा लेखा शाखामा काम गर्छिन् । उनकै
साथीले बीमा गर्न कर गरेपछि योजना खरीद गरेको श्रेष्ठले बताइन् । उनले २०
वर्षे अवधिका रू. २ लाख बीमाङ्कबराबरको योजना खरीद गरेकी हुन् । वार्षिक
रू. १३ हजार प्रिमियम बुझाउने गरेको उनले बताइन् । ‘करैले बीमा गरे तापनि
अहिले भने आफुले राम्रै काम गरेजस्तो लागेको छ,’ उनले भनिन् । यसले आफूलाई
आन्तरिक रूपमा सबल बनाउने उनको विश्वास छ ।
राजभण्डारी र श्रेष्ठ त प्रतिनिधि पात्र
मात्रै हुन् । उनीहरूलाई जस्तै अन्य महिलाका लागि पनि जीवन बीमा योजना
लाभदायक हुने बताउँछन् बीमकहरू । महिलाले बीमा योजनामा गरेको लगानीले
भविष्यमा धेरै नै प्रतिफल दिने उनीहरूको भनाइ छ । बीमा अदृश्य लगानी हो ।
यसले जीवन रहँदा वा नरहँदा पनि बीमितलाई फाइदा पु¥याइरहेको हुने उनीहरू
बताउँछन् । यदि बीमा अवधि पूरा नहुँदै बीमितको मूत्यू भएमा कम्पनीले उसको
परिवारलाई बीमा रकम भुक्तानी गर्छ । मुत्यु नभएको अवस्थामा बीमा अवधि
सकिएपछि दोब्बर रकम भुक्तानी गर्छ ।
बीमाले मानिसको जीवनमा अचानक आइपर्ने
आर्थिक जोखीमको भार कम गर्न सहयोग गर्छ । आर्थिक समस्या कुनै पनि समयमा
पर्न सक्छ, जसका लागि मानिस मानसिक तथा आर्थिक रूपमा तयार नभएको हुन सक्छ ।
त्यसैले, त्यस्तो अवस्थामा सुरक्षित रहन जीवन बीमा गर्नु आवश्यक छ ।
त्यसमा पनि महिलाका लागि जीवन बीमा झनै आवश्यक रहेको बीमकहरू बताउँछन् ।
विशेषगरी घरमा आवश्यक सामग्रीको किनमेल
महिलाले नै गर्छन् । त्यसैले, उनीहरूले घरखर्चबाट बचेको रकम बचत गर्न पनि
जीवन बीमा योजना उपयुक्त हुन सक्छ । बीमा योजना आफ्नोे क्षमताअनुसार गर्न
सकिन्छ । यसरी थोरैथोरै रकम जम्मा गरेर बीमा योजना खरीद गरेको अवस्थामा
भविष्यमा आर्थिक समस्या आइपर्दा महिलाले पुरुषकै मुख ताक्नुपर्दैन । जस्तै–
छोराछोरी पढाउन, उनीहरूको विवाह÷व्रतबन्ध गर्न, बिरामी वा दुर्घटना हुँदा
औषधोपचारलगायतमा यसरी बचत गरिएको रकम खर्च गर्न सकिन्छ ।
कामकाजी महिलाका लागि बीमा योजना खरीद
गर्नु त्यति कठिन पनि छैन । विभिन्न सौदन्र्य सामग्रीमा गरिने खर्च बीमामा
लगानी गर्नु उपयोगी हुने बीमाविज्ञ रवीन्द्र घिमिरेले बताए । ग्रामीण भेगका
महिला जीवन बीमा योजनाप्रति अनभिज्ञ छन् । त्यसैले, उनीहरू यसप्रति सचेत
हुन सकेका छैनन् । तर, शहरी क्षेत्रका कामकाजी महिलासमेत बीमा योजनाका
विषयमा अनभिज्ञ देखिने गरेको उनले बताए । महिलाहरू बचतभन्दा पनि सौन्दर्य
सामग्रीमै बढी खर्च गर्छन् । टेलिभिजनमा प्रसारण हुने टेलिसिरियलको नक्कल
गर्दै सौन्दर्य प्रसाधन खरीद गर्न उनीहरूको प्रतिस्पर्धा नै हुने गरेको
पाइन्छ । यस्ता विविध सामग्रीमा गरिएको लगानीको प्रतिफल कहिल्यै आउँदैन ।
तर, बीमा योजनामा गरिएको लगानीले भविष्यमा महत्वपूर्ण प्रतिफल दिने उनले
बताए ।
बैङ्क, ब्याज, सुनचाँदी, शेयरलगायतमा
गरिएको लगानीभन्दा पनि बीमा योजनामा गरिएको लगानी उपलब्धिपूर्ण हुने
बीमकहरू बताउँछन् । बैङ्कमा गरिएको बचत कुनै पनि समयमा निकाल्न सकिन्छ ।
त्यस्तै, ब्याज तथा शेयरमा गरिएको लगानीमा धेरै जोखीम हुन्छ । सुनचाँदी
खरीद गर्दा पनि चोरी हुने, हराउने डर हुन्छ । तर, बीमा खरीद गरेको अवस्थामा
यस्ता खालका कुनै पनि जोखीम बेहोर्नुनपर्ने बीमाविज्ञ घिमिरेले बताए ।
थोरै रकममा पनि योजना खरीद गर्न सकिने भएकाले यसमा गरिएको लगानी सहज र
अदृश्य हुन्छ । बीमा अवधि सकिएपछि दोब्बर रकम पाइन् हुँदा वृद्ध अवस्थामा
आर्थिक सहायताका लागि अरूको भर पर्नुपर्दैन । आवश्यक परेको समयमा ऋण पनि
लिन सकिन्छ । बीमितको मृत्यु भएमा ऊप्रति निर्भर रहने परिवार आर्थिक
समस्याबाट बच्न सक्छ । त्यसकारण, बीमा सबैभन्दा सुरक्षित लगानी भएको उनले
बताए । श्रीमान्श्रीमतीले एकअर्कालाई महँगा गहना उपहार दिनुभन्दा बीमा
योजना नै खरीद गरिदिनु बुद्धिमानी हुने उनको भनाइ छ ।
प्रविधिको विकाससँगै मानिसको जीवनमा जोखीम
पनि बढ्दै गएको छ । तर, पनि नेपालमा मानिसहरू बीमाप्रति सचेत हुन सकेका
छैनन् । नेपालको कुल जनसङ्ख्याको करीब १० प्रतिशत मानिस बीमा गरेको अनुमान छ
। त्यसमा पनि महिलाको सहभागिता अत्यन्तै न्यून छ । विकसित मुलुकमा मानिसले
आफ्नोे पहिलो जागीरको पहिलोे महीनाको तलबले नै बीमा योजना खरीद गर्ने
अभ्यास भएको बीमाविज्ञ घिमिरले बताए । तर, नेपालमा भने पहिलो तलबले कपडा
खरीद गर्ने, परिवारजनलाई उपहार दिने वा साथीहरूलाई पार्टी दिने प्रचलन
रहेको पाइन्छ । त्यस्तै, बीमा कम्पनीहरूले बीमाप्रति मानिसहलाई आकर्षित
गर्न नसकेको उनको भनाइ छ ।

No comments:
Post a Comment