Thursday, September 17, 2015

निर्जीवन बीमाको ७० प्रतिशत हिस्सा तेस्रो पक्ष बीमा

२०७२-०५-३१ मा प्रकाशित    

मुना कुँवर

काठमाडौं । नेपालमा सञ्चालित निर्जीवन बीमा कम्पनीहरूले जारी गरेका बीमालेखमध्ये करीब ७० प्रतिशत हिस्सा तेस्रो पक्ष मोटर बीमाको छ । सरकारले तेस्रो पक्ष बीमा अनिवार्य गरेपछि मोटर बीमालेख जारी हुने क्रम बढेको लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत विनोदकाजी श्रेष्ठले बताए । उनका अनुसार निर्जीवन बीमा कम्पनीहरूमा सबैभन्दा धेरै तेस्रो पक्ष बीमा योजनाको माग हुने गरेको छ ।

गत आर्थिक वर्ष २०७१/७२ मा १७ निर्जीवन कम्पनीहरूबाट ७ लाख ४० हजार ७ सय ३६ मोटर बीमालेख जारी भएको तथ्याङ्कमा उल्लेख छ । यो सङ्ख्या कुल जारी भएको सङ्ख्याको ७० दशमलव ८८ प्रतिशत हो । सरकारको कडा नीतिका कारण मात्रै तेस्रो पक्ष बीमा व्यापक भएको बीमकहरू स्वीकार्छन् । यद्यपि, अझै पनि धेरै सवारीसाधन तेस्रो पक्षको दायरा आउन नसकेको उनीहरूको भनाइ छ । अधिकांश सवारीधनीले तेस्रो पक्ष बीमालाई बेवास्ता गर्दै आएको लुम्बिनी इन्स्योरेन्सका नायव प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले बताए । उनका अनुसार सवारी साधन खरीद गर्दा औचारिकता पूरा गर्नका लागि मात्रै बीमा गरिन्छ । त्यस्तै, बैङ्कहरूले पनि कर्जा प्रवाह गर्दा बीमा अनिवार्य गरेपछि सवारीधनी बीमा गर्न बाध्य भएको उनले बताए । उनका अनुसार सवारीधनीले कर्जा भुक्तानी गरेपछि बीमा सम्झौतालाई निरन्तरता दिँदैन । तर, बीमा समितिका निर्देशक श्रीमान् कार्कीले भने पहिलाको तुलनामा तेस्रो पक्ष बीमाप्रति मानिसको धारणा सकारात्मक बन्दै गएको बताए । उनले भने, ‘दुर्घटना बढ्दै जाँदा मानिसहरू पनि सजग हुन थालेका छन् ।’ तर, निरन्तर अनुगमन गर्ने निकाय नहुँदा सबै सवारीसाधनहरू तेस्रो पक्ष बीमामा समेटिन नसकेको उनको भनाइ छ । ‘समितिको कार्य नियमन गर्ने हो,’ उनले भने, ‘तर सवारीधनीले बीमालाई निरन्तरता दिए÷नदिएको हामीलाई थाहा हुँदैन ।’ तसर्थ, यसलाई पूर्णरूपमा कार्यन्वयन गर्न बीमक, यातायात विभाग तथा ट्राफिक प्रहरी कार्यलयबीच सहकार्य हुनुपर्छ । यातायात विभागले सवारीसाधन नवीकरण गर्दा पनि बीमालाई अनिवार्य गर्नुपर्ने उनले बताए ।
के हो तेस्रो पक्ष मोटर बीमा ?
तेस्रो पक्ष मोटर बीमा भनेको सवारीसाधन दुर्घटना हुँदा चालक, यात्रु तथा साधनले क्षति पु¥याउने बाहिरका व्यक्ति वा सम्पत्तिको बीमा हो । कहिलेकाहीँ दुर्घटनाले ठूलो क्षति भएको अवस्थामा तेस्रो पक्ष मोटर बीमा सहयोगी बन्छ । तेस्रो पक्ष मोटर बीमाअन्तर्गत सरकारले दुर्घटना हुँदा सवारीसाधनले ठक्कर दिई क्षति पु¥याउन सक्ने व्यक्ति वा अन्य सम्पत्तिको बीमा अनिवार्य गरेको छ । त्यस्तै, बीमितहरूले थप शुल्क तिरेर चालक तथा यात्रुहरूको पनि बीमा गर्न सक्छन् । बीमितको इच्छाअनुसार सवारीसाधनको पनि बीमा गर्न सकिन्छ, जसलाई प्योकज मोटर बीमा भनिन्छ । यसले दुर्घटनाबाट हुने सबै खालको क्षतिको सुरक्षण प्रदान गर्छ ।
तेस्रो पक्ष मोटर बीमा किन गर्ने ?
सम्भावित दुर्घटनाबाट हुने आर्थिक क्षति कम गर्न तेस्रो पक्ष मोटर बीमा गर्नु बुद्धिमानी हुन्छ । दुर्घटना कुनै पनि बेला कहीँ पनि हुन सक्छ । ठूलो दुर्घटना भएको अवस्थमा आर्थिक भार कम गर्न तेस्रो पक्ष बीमा आवश्यक रहेको लुम्बिनी जनरल इन्स्योरेन्सका श्रेष्ठले बताए । ‘नेपालमा सवारीसाधनमैत्री सडक छैनन् । ट्राफिक नियम पनि कडा छैन,’ उनले भने, ‘त्यसैले, दुर्घटना हुने सम्भावना तुलनात्मक रूपमा अधिक भएकाले तेस्रो पक्ष बीमा सबैका लागि अनिवार्य छ ।’
तेस्रो पक्ष बीमा भएको अवस्थामा बीमाको किसिमअनुसार कम्पनीले दुर्घटनाबाट भएको क्षतिको भुक्तानी गर्छ । यदि प्याकेज मोटर बीमा गरिएको छ भने सबै खालको क्षतिको भुक्तानी हुन्छ । तर, तेस्रो पक्षको मात्रै बीमा गरेको अवस्थामा सवारीसाधनले क्षति भएको सम्पत्ति वा व्यक्तिको मात्रै क्षतिपूर्ति दिइन्छ ।
तेस्रो पक्ष बीमा कसरी गर्ने ?
सवारीसाधनको तेस्रो पक्ष बीमाका लागी बीमा समितिले नै निश्चित मापदण्ड तोकेको छ । समितिको मापदण्डअनुसार बीमा गर्दा सवारीधनीले विभिन्न खालका कागजपत्र बुझाउने पर्ने लुम्बिनी जनरल इन्स्योरेन्सका श्रेष्ठले बताए । सवारीसाधन खरीद गर्ने निश्चित भएपछि विश्वासिलो कम्पनी छनोट गर्नुपर्छ । बीमा लागी ब्लूबूकको फोटोकपी वा शोरूमले दिएको भ्याट बिलको कपी, सवारीधनीको परिचय खुल्ने प्रमाणपत्र र एक प्रति फोटो आवश्यक पर्छन् । यी कागजपत्र जुटाइसकेपछि एउटा फारम भर्नुपर्छ, जुन कम्पनीमा उपलब्ध हुन्छ । साथै, सवारीधनीले केवाईसी फारम पनि भर्नुपर्छ । यदि सवारीसाधन कुनै संस्थाको नाममा छ भने संस्थाको प्रबन्धपत्र नियमावलीको एक प्रति फोटोकपी, संस्था प्रमुखको परिचय खुल्ने प्रमाणपत्र तथा बीमा कम्पनीसँग डिल गर्ने व्यक्तिको परिचयपत्र पनि बुझाउनुपर्छ । उल्लिखित कागजपत्र बुझाइसकेपछि कम्पनीको प्रतिनिधि गएर साधनको परीक्षण गरी फोटो खिच्छ । कम्पनीले पनि बीमा सम्झौतालाई स्वीकार गरेपछि दुई पक्षबीच बीमा सम्झौता हुन्छ । यदि १ वर्षसम्म पनि सवारीसाधनको दुर्घटना भएन भने अर्को वर्ष कम्पनीले प्रिमियमा छूटको सुविधासमेत दिने गरेको लुम्बिनी जनरल इन्स्योरेन्सका नायव प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले बताए ।
बीमा दाबी भुक्तानी प्रक्रिया
तेस्रो पक्ष बीमाको दाबी गर्न दुर्घटना हुनासाथ कम्पनीलाई खबर गर्नुपर्छ । साथै, प्रहरीलाई पनि जानकारी दिनुपर्छ । कम्पनीले दुर्घटनाको प्रकृति हेरेर सर्भेयर खटाउन पनि सक्छ । कम्पनीको प्रतिनिधि आफै गएर पनि हेर्न सक्छ । कुनै अवस्थामा भने कम्पनीले आवश्यक कागजपत्र मात्रै पनि मगाउन सक्छ । जस्तै, तेस्रो पक्ष को हो, कहाँ मत्यु भएको हो, त्यसको प्रहरी प्रतिवेदन, लास जाँचको रिपोर्ट, मृतकको नागरिकताको प्रमाणपत्र, नजिकको हकदारको प्रमाणपत्र, जिल्ला कार्यलयबाट प्रमाणित गरेको नाता प्रमाणित पत्र आदि माग्न सक्छ । मृतकको हकमा नजिकको व्यक्तिलाई कम्पनीले रकम भुक्तानी गर्छ । त्यस्तै, दुर्घटना भएको अवस्थामा सम्बन्धित व्यक्तिलाई नै दिन्छ । कहिलेकाहीेँ बीमित अर्थात् सवारीेधनीलाई पनि भुक्तानी गर्छ । तेस्रो पक्ष घाइते भएको अवस्थामा सवारीधनीले नै सबै खर्च बेहोरेको छ भने कम्पनीले उसलाई नै दाबी भुक्तानी दिन्छ । यसका लागि भने कागजपत्र बुझाउनुपर्छ । यसैगरी अहिले प्रमुख जिल्ला अधिकारीको उपस्थितिमै सम्बन्धित व्यक्ति (परिवार/नातेदार)लाई भुक्तानी गर्ने नियम पनि छ ।
अधिकतम कतिसम्म भुक्तानी पाउन सकिन्छ ?
कम्पनीले तेस्रो पक्ष बीमालाई पनि तीन किसिमले विभाजन गरेको छ । मोटरसाइकलबाट भएको व्यक्तिगत दुर्घटनामा अधिकतम रू. २५ लाख र सामानको क्षति भएमा अधिकतम रू. २५ लाख भुक्तानी गर्छ । त्यस्तै, निजी गाडीले व्यक्ति वा सामानमा क्षति पु¥याएमा अधिकतम रू. ८०÷८० लाख भुक्तानी गर्छ । त्यस्तै, व्यावसायिक गाडीबाट भएको दुर्घटनामा अधिकतम रू. ५०/५० लाख भुक्तानी गर्छ ।

No comments:

Post a Comment