मुना कुँवर
असोज १२, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचीकृत भएर पनि
वर्षौंदेखि निष्क्रिय विभिन्न आठ कम्पनीलाई सूचीबाट हटाइने भएको छ । ती
कम्पनीहरूले लामो समयदेखि वार्षिक शुल्कसमेत नबुझाएपछि उनीहरूलाई सूचीबाट
हटाउन लागिएकोे नेप्सेका महाप्रबन्धक सीताराम थपलियाले बताए । उनले भने,
‘नेप्सेका शर्तहरू पालना नगरेर यसअघि नै निलम्बनमा परेका कम्पनीको दर्ता
खारेज गर्न लागेका छौं ।’
धितोपत्र बजारमा कम्पनीको शेयर खरीद विक्री गर्न नेप्सेमा सूचीकृत
हुनुपर्ने व्यवस्था छ । सूचीकृत भएका कम्पनीहरूले नेप्सेलाई दर्ताशुल्क र
वार्षिक शुल्क बुझाउनुपर्छ । तर, उक्त त्यस्तो प्रावधानविपरीत लामो समयदेखि
वार्षिक शुल्क नबुझाई निष्क्रिय रहेका कम्पनीलाई नेप्सेले सूचीबाट हटाउन
लागेको हो । यसपटक नेप्सेले ५ देखि १० वर्षको अवधिसम्म वार्षिक शुल्क
नबुझाएका कम्पनीहरूको दर्ता खारेज गर्न लागेको हो । खारेज गर्न लागिएका
कम्पनीहरूमा बुटवल स्पिनिङ मिल, याक एण्ड यती होटल, विराट सुज, नेपाल
ट्रेडिङ, नेपाल वेलफेयर कम्पनी, फ्लुयर हिमालयन लिमिटेड, अरुण वनस्पति
उद्योग र नेपाल बिटुमिन तथा ब्यारेल उद्योग भएको ओटीसी मार्केटका वरिष्ठ
अधिकृत नारायण तिमिल्सिनाले बताए । उनले भने, ‘हामीले प्रक्रिया थालिसकेका
छौं । नेप्सेको सञ्चालक समितिबाट भने पारित हुन बाँकी छ ।’ समितिले पारित
गरेलगत्तै ती कम्पनीहरू सूचीबाट हट्नेछन् ।
बारम्बार ताकेता गर्दा पनि वार्षिक शुल्क नबुझाउने ४२ ओटा कम्पनीलाई
नेप्सेले यसअघि नै सूचीबाट हटाइसकेको छ । तीमध्ये २०५९ मा २५, २०६३ मा १२ र
२०६५ मा ५ ओटा कम्पनीलाई नेप्सेले सूचीबाट हटाएको थियो । नेप्सेको सूचीमा
वार्षिक रूपमा नवीकरण नगरेका कम्पनीको सङ्ख्या थुप्रै छ । तर, यसपटक भने ५
देखि १० वर्षसम्म शुल्क नबुझाएका कम्पनीलाई मात्रै सूचीबाट हटाउने लागेको
ओटीसी मार्केटका वरिष्ठ अधिकृत तिमिल्सिनाले बताए । उनले भने, ‘वार्षिक
शुल्क नबुझाएको ५ वर्ष नपुगेका कम्पनीलाई भने हामीले निलम्बनमात्रै गरेका
छौं ।’ उनका अनुसार त्यस्ता कम्पनीले अहिले पनि नवीकरणका लागि बुझाउनुपर्ने
वार्षिक शुल्क बुझाएर पुनः सूचीकृत हुन सक्छन् । नेप्सेले आठ कम्पनीलाई
सूचीबाट हटाएपछि सूचीकृत कम्पनीको सङ्ख्या २ सय २२ मा सीमित हुनेछ ।
नेप्सेमा सूचीकृत हुन प्रत्येक कम्पनीले चुक्तापूँजीको आधारमा दर्ता तथा नवीकरण शुल्क बुझाउनुपर्छ ।
रू. १ करोडसम्म चुक्ता पूँजी भएका कम्पनीले दर्ता शुल्क र वार्षिक शुल्क
कम्तीमा रू. १५/१५ हजार बुझाउनुपर्छ । त्यस्तै, रू. १ करोडदेखि ५०
करोडसम्म चुक्तापूँजी भएका कम्पनीले दर्ता शुल्क कम्तीमा रू. ४५ हजार र
वार्षिक शुल्क रू. २५ हजार बुझाउनुपर्छ । चुक्तापूँजी रू. ५ करोडदेखि १०
करोडसम्म भएका कम्पनीले दर्ता शुल्क रू. ७५ हजार र वार्षिक शुल्क रू. ३५
हजार बुझाउनुपर्छ । चुक्तापूँजी रू. १० करोडभन्दा माथि भएका कम्पनीले भने
दर्ता शुल्क रू. १ लाख र वार्षिक शुल्क रू. ५० हजार बुझाउनुपर्छ । डिवेञ्चर
तथा सामूहिक कोषका हकमा पनि सोही दर लागू गरिएको छ ।
No comments:
Post a Comment