Sunday, September 6, 2015

लगानी गर्न डराउँछन् महिलाहरू


२०७२-०५-२० मा प्रकाशित    

सम्पत्तिमा महिलाको अधिकार कानूनमै सीमित

 मुना कुँवर
काठमाडौं । कलङ्की निवासी सरिता थापा (नाम परिवर्तन) गृहिणी हुन् । घरखर्च जुटाउन उनी कपडा व्यापार गर्छिन । अतिरिक्त आम्दानीको खोजीमा रहेकी थापालाई उनकै साथीले शेयरमा लगानी गर्न सल्लाह दिएका थिए । सल्लाहअनुसार उनले प्राथमिक शेयर बजारमा लगानी गरिन् । रू. १ सय लगानी गरेको शेयरको मूल्य अहिले दोब्बर भएको छ । यो उनको घरव्यवहारबाट बचेको समय प्रयोग गर्दा प्राप्त भएको आम्दानी हो । तर, उनले यसबारे आफ्नो परिवारलाई भने बताएकी छैनन् । श्रीमानको डरले घरमा बताउन नसकेको उनले बताइन् ।

सरिता जस्तै रबिता खड्काले पनि परिवारको डरले शेयर लगानीबारे कसैलाई बताएकी छैनन् । खड्का व्यवस्थापन विषयकी विद्यार्थी हुन् भने उनी निजी कम्पनीमा काम गर्छिन् । साथीको साल्लाहबाट उनले पहिलोपटक सेञ्चुरी बैङ्कको साधारण शेयरमा लगानी गरेकी थिइन् । यसले उनको अध्ययनलाई प्रयोगात्मक अभ्यास गर्न पनि सहयोग गरेको छ भने अतिरिक्त आम्दानी पनि भएको छ । तर, उनले यो कुरा घरमा बताएकी छैनन् । उनको घरमा शेयर बजारमा काम गर्नेलाई दलालको रूपमा हेरिन्छ । त्यसैले, पनि उनले घरमा बताउन सकेकी छैनन् । शुरुआतमा रू. १० हजार लगानी गरेकी खड्कासँग अहिले विभिन्न कम्पनीहरूको शेयर छ ।
सरिता र रबिता त प्रतिनिधि पात्र मात्रै हुन् । बजारमा यस्ता महिला लगानीकर्ताको जमात नै भेटिन्छ । उनीहरू लगानी त गर्छन्, तर लगानीकर्ताको रूपमा भने चिनिन चाहँदैनन् । केही महिला लगानी गरेर पनि अदृश्य छन् भने कयौं महिला लगानी गर्ने इच्छा हुँदाहुँदै पनि समर्थ हुन सक्दैनन् । कारण, महिलाको हातमा पैसा छैन । पैसा भइहाले पनि त्यसलाई प्रयोग गर्ने अधिकार छैन । अधिकार नहुँदा उनीहरू जोखीम लिने हिम्मत राख्दैनन् ।
मुलुकी ऐन अंशबण्डाको महलले पैतृक सम्पत्तिमा छोराछोरी सबैको समान अधिकार हुने स्पष्ट बताएको छ । त्यसैगरी, श्रीमान्को सम्पत्तिमा श्रीमतीको पनि समान अधिकार रहने कानूनी प्रावधान छ । तर, छोरीले छोरासरह पैतृक सम्पत्तिको प्रयोग भने गर्न पाएका छन् । राष्ट्रिय जनगणना २०६८ अनुसार महिलाको स्वामित्वमा स्थिर सम्पत्ति जम्मा २० प्रतिशत छ भने ८० प्रतिशत पुरुषकै स्वामित्वमा छ । भएको २० प्रतिशतमा पनि निर्णय गर्ने अधिकार भने पुरुषकै हुन्छ । कानूनीे रूपमा सम्पत्तिमा अधिकार भएता पनि व्यावहारिक रूपमा नहुँदा बजारमा आउने महिलाले पनि खुलेर काम गर्न सकेका छैनन् । लगानी गर्ने केही महिलाले पनि घरपरिवारबाट लुकेर लगानी गरिरहेका छन् ।
इसं १९३७  देखि नेपालमा अनौपचारिक शेयर व्यापार शुरू भएको हो । विराटनगर जुट मिल तथा नेपाल बैङ्कले सबैभन्दा पहिला सर्वसाधारणका लागि प्राथमिक शेयर जारी गरेपछि असङ्गठित रूपमा शेयर बजारको शुरुआत भएको हो । पछि १९७६ मा आएर मात्रै शेयर बजार सङ्गठित बनाउन नेपाल धितोपत्र खरीद विक्री केन्द्र (सेक्युरिटिज एक्सचेञ्ज सेण्टर)को स्थापना भएको हो । यो केन्द्र धितोपत्र कारोबार ऐन १९९२ अनुसार १९९३ मा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) लिमिटेडमा परिणत भयो । यसपछि मात्रै शेयर बजारको सङ्गठनात्मक विकास र औपचारिक रूपमा दोस्रो बजारको व्यापारको थालनी भयो ।
कम्पनीको शेयरमूल्य कम भएको समयमा खरीद गरी मूल्य बढेको समयमा विक्री गरेर लगानीकर्ताले नाफा कमाउँछन् । बजारलाई विभिन्न तत्वले प्रभाव पार्छ । संविधान जारी हुने सम्भावना बढ्दै जादा शेयर बजार पनि बढ्न थालेको छ । गत २ गते नेप्से अहिलेसम्मकै नयाँ उचाइ १ हजार २ सय कायम गरेको छ । बजारले नयाँ उचाइ छुन थालेपछि बजारमा नयाँ लगानीकर्ताको प्रवेश हुन थालेको छ । त्यसमध्ये केही महिला पनि बजारमा देखिन थालेको नेपाल ब्रोकर एशोसिएशन पूर्वअध्यक्ष नरेन्द्रराज सिजापतीले बताए । ‘पहिला मेरो कार्यालयमा शेयर प्रयोजनका लागि महिला आउँदैनथे,’ उनले भने, ‘अहिले भने दिनमा ५/६ जना देखिन थालेका छन् ।’
अहिलेसम्ममा बजारमा कति लगानीकर्ता छन् भन्ने यकिन तथ्याङ्क कुनै पनि निकायसँग छैन । तर, बजारमा करीब १५ लाख लगानीकर्ता रहेको नेपाल स्टक एक्सचेञ्जले अनुमान गरेको छ, जसमध्ये मुश्किलले १० प्रतिशत महिलाको सङ्ख्या भएको नेप्सेका सह प्रवक्ता मुराहरि पराजुलीले बताए । ‘आर्थिक र सामाजिक रूपमा महिला पछाडि पारिएका छन्,’ उनले भने, ‘एक त महिलाको साथमा पैसा हुँदैन, भइहाले पनि लगानी गर्ने आँट गर्न सक्दैनन् ।’ पूँजी कहाँ लगानी गर्ने भन्ने विषयमा महिलाले निर्णय लिने परिपाटी नेपाली समाजमा अझै विकसित नभएको उनको भनाइ छ । ‘त्यसैले, शेयर बजारमा पुरुषको बाहुल्य बढी छ ।’
घरमा ठूलो रकमको निर्णय सधैं पुरुषले नै गर्छन् । श्रीमान्ले लगानी गरेर रकम डुबेको अवस्थामा श्रीमतीले कुनै आपत्ति व्यक्त गर्दैनन्, बरु हरेस नखान ढाडस दिन्छन् । तर, श्रीमतीले गरेको लगानी डुब्यो भने घरमा तनाव शुरू हुन्छ । त्यसैले, महिलाले आफ्नो इच्छाअनुसार सम्पत्तिको प्रयोग गर्न नसक्ने नेपाल धितोपत्र बोर्डका कार्यकारी निर्देशक निरज गिरीले बताए । ‘महिलाहरू धेरै संयमित हुन्छन्,’ उनले भने, ‘घरमा झगडा हुने डरले नै शेयर बजारमा आएर लगानी गर्न चाहँदैनन् ।’ उनका अनुसार बजारमा धेरै जोखीम हुन्छ । कहिले नाफा त, कहिले घाटा पनि हुन्छ । घाटा भएको अवस्थामा घरमा कलहको अवस्था सृजना हुने डरले महिला बजारमा आउन नचाहेका हुन् ।
बजारका कुल लगानीकर्तामध्ये महिलाको सङ्ख्या १५ प्रतिशतसम्म हुन सक्ने बताउँछन् इन्भेष्टर्स फोरमका अध्यक्ष राजकुमार तिमिल्सना । पुरुषप्रधान समाज भएकाले महिलाले लगानीका विषयमा अझै पनि निर्णय गर्न अधिकार नपाएको उनले बताए । तसर्थ, महिला बजारमा उत्रन नसकेको उनको धारणा छ ।

No comments:

Post a Comment