Sunday, September 6, 2015

जीवन बीमा कम्पनीको नाफा घट्यो

२०७२-०५-२० मा प्रकाशित      

एक्चुअरी भ्यालुएशनपछि नाफा बढ्ने बीमकहरूको दाबी

भदौ १९, काठमाडौं । गत आर्थिक वर्ष २०७१/७२ मा जीवन बीमा कम्पनीहरूको नाफा आधाले घट्ने देखिएको छ । कम्पनीहरूले प्रकाशित गरेको अपरिष्कृत चौथो वित्तीय विवरणअनुसार कम्पनीहरूको नाफा घट्ने देखिएको हो । आव २०७०/७१ मा रू. १ अर्ब ३१ करोड नाफा गरेका कम्पनीहरूले गत आवमा भने रू. ५७ करोड ३९ लाख मुनाफा आर्जन गरेका छन् । यो रकम आव २०७१/७२ को तुलनामा ५६ दशमलव २७ प्रतिशतले कम हो ।

आव २०७०७१ को तुलनामा गत आवमा ती कम्पनीको नाफा घटेको देखिए पनि बीमा कोष भने बढेको छ । सो अवधिमा कम्पनीहरूको बीमा कोष २६ प्रतिशतले बढेर रू. ८८ अर्ब ७४ करोड पुगेको छ । कम्पनीहरूको ठूलो रकम बीमा कोषमा जम्मा भएकोले अपरिष्कृत वित्तीय विवरणमा कम्पनीहरूको नाफा कम देखिएको नेपाल लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत विवेक झाले बताए । ‘एक्चुअरी भ्यालुएशनपछि मात्रै कम्पनीहरूको वास्तविक वित्तीय विवरण देखिन्छ,’ उनले भने, ‘अहिले प्रकाशित भएको विवरणले कम्पनीको सतही तथ्याङ्क मात्रै देखाएको छ ।’ त्यसैले एक्चुअरी भ्यालुएशनपछि कम्पनीहरूको नाफा बढ्ने उनले दाबी गरे ।
कम्पनीहरूको वित्तीय विवरणअनुसार गत आवमा लाइफ इन्स्योरेन्स कम्पनीको नाफा सबैभन्दा बढी ८६ दशमलव ७३ ले घटेको छ । आव २०७०/७१ मा रू. १९ करोड ४८ लाख नाफा गरेको उक्त कम्पनीको नाफा गत आवमा भने रू. २ करोड ५८ लाखमा सीमित भएको छ । तर, कम्पनीको बीमा कोष भने ३२ प्रतिशतले बढेर रू. २० अर्ब ४८ करोड पुगेको छ ।
तर, राष्ट्रिय बीमा संस्थानको नाफा भने सबैभन्दा धेरै साढे दुई गुणाले बढेर रू. १ करोड ९७ लाख पुगेको छ । कम्पनीको नाफा बढे पनि बीमा कोष भने जम्मा ५ दशमलव ६७ प्रतिशतले बढेर रू. ११ अर्ब ६९ करोड पुगेको छ । नाफा घटेका कम्पनीहरूको पनि बीमा कोष भने बढेको छ । त्यसैले, एक्चुअरी भ्यालुएशनपछि नाफा बढ्नेमा सबै कम्पनीहरू ढुक्क भएको नेपाल लाइफका प्रमुख कार्यकारी अधिकृत झाले बताए । उनले भने, ‘कम्पनीहरूको नाफा घट्नुपर्ने कुनै कारण छैन ।’
नेपालमा अहिले नौ ओटा जीवनबीमा कम्पनी सञ्चालित छन् । कम्पनीहरूले बालकदेखि वृद्धसम्मका लागि विभिन्न योजना सञ्चालनमा ल्याएका छन् ।
कम्पनीहरूको तथ्याङ्कअनुसार गत आवको अन्त्यसम्ममा ३१ लाख ६२ हजार ५ सय ४ बीमा योजना जारी भएको छ । यो सङ्ख्या आव २०७०/७१ को तुलनामा १४ प्रतिशतले बढी हो । यसले जीवन बीमाप्रति मानिसको रुचि पनि बढ्दै गरेको देखिने बीमकहरूले बताएका छन् ।
त्यस्तै, कम्पनीहरूको आम्दानी पनि ३२ दशमलव शून्य ४ प्रतिशतले बढेर रू. ३२ अर्ब ७९ करोड पुगेको छ । कम्पनीहरूले दाबी भुक्तानीको क्रमलाई पनि बढाएको देखिन्छ । सो अवधिमा कम्पनीहरूको दाबी भुक्तानी रकम १५ प्रतिशतले बढेर रू. ४ अर्ब १२ करोड पुगेको छ । भूकम्पपछिको अवस्थामा भुक्तानीको प्रक्रियालाई अझ सरल बनाएपछि कम्पनीहरूप्रति बीमितहरू सकारात्मक देखिएका छन् । तर, रू. ४९ करोड १३ लाख रकम भने अझै भुक्तानी हुन सकेको छैन ।

 


No comments:

Post a Comment