०७२-०५-२७ मा प्रकाशित
मुना कुँवर
काठमाडौं । केही समयअघि बैङ्कको फ्रण्ट डेस्कमा मात्रै देखिने
महिलाहरू अहिले भने नेतृत्व तहमा पुगिसकेका छन् । आर्थिक रूपमा पिछडिएका
महिलाहरू वित्तीय क्षेत्रमा सक्रिय देखिन थालेका छन् । इमानदार, मेहनती,
धैर्यवान् तथा अनुशासित भएका कारण बैङ्किङ क्षेत्रमा महिलाहरू सफल हुँदै
गएको बैङ्करहरू बताउँछन् ।
वित्तीय क्षेत्रका लागि महिला पनि सक्षम छन् भन्ने उदाहरण हुन्
काठमाडौंकी वर्षा श्रेष्ठ । उनी सफल बैङ्करहरूमध्ये एक हुन् । श्रेष्ठ
अहिले क्लिन इजर्नी डेभलपमेण्ट बैङ्कको नायव प्रमुख कार्यकारी अधिकृतको
पदमा कार्यरत छिन् । उनी आफ्नै मेहनत, परिश्रम तथा कामप्रतिको समर्पणले यो
तहसम्म आइपुगेकी हुन् । यद्यपि, श्रेष्ठको लक्ष्य डक्टर बन्ने थियो । उनले
हेल्थ असिसटेण्टको अध्ययन पनि पूरा गरी प्रसृतिगृहमा काम गर्दै थिइन् ।
त्यही बेला अन्तरराष्ट्रिय साझेदारीमा नबिल बैङ्क भर्खरै खुलेको थियो ।
साथीहरूको लहैलहैमा उनले पनि आवेदन दिइन् । अन्तरराष्ट्रिय सेवा र
सुविधासहितको अवधारणाबाट सञ्चालन हुन लागेको बैङ्कले उनलाई आकर्षित गरेको
थियो । २०४१ सालबाट सोही बैङ्कबाट उनले यो पेशाको शुरुआत गरेकी हुन् ।
क्यासियरबाट आफ्नो पेशा शुरू गरेकी श्रेष्ठले २०६९ सालमा क्लिन इनर्जी
डेभलपमेण्ट बैङ्कमा जनरल म्यानेजरको जिम्मेवारी सम्हाल्न पुगेकी हुन् ।
अहिले उनी उक्त बैङ्कको नायव प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी लिन सफल
भएकी छिन् । अन्य आकर्षक पेशा नभएको अवस्थामा अन्तरराष्ट्रिय साझेदारीमा
सञ्चालन हुन लागेको नबिल बैङ्कको सेवासुविधाले आफूलाई आकर्षित गरेको उनले
बताइन् । ‘बैङ्कमा कामको सीमा पनि हुँदैनथ्यो,’ उनले भनिन्, ‘त्यसबापत
बैङ्कले दिने सुविधा र समाजमा इज्जत पनि उत्तिकै थियो ।’
सफल बैङ्करमध्ये अर्को महिला हुन् अम्बिका श्रेष्ठ । सर्लाहीमा जन्मेकी
श्रेष्ठले जीवनको लामो समय यही क्षेत्रमा बिताएकी छिन् । पशुपति मित्रमावि,
चावहिलबाट विद्यालयस्तरको अध्ययन पूरा गरेकी उनले पब्लिक यूथ क्याम्पसबाट
व्यवस्थापन विषयमा स्नातक गरेकी हुन् भने शङ्करदेव क्याम्पसबाट माष्टर्स इन
बिजनेश एडमिनिष्ट्रेशन पूरा गरेकी छिन् । उनले २०४५ सालदेखि बैङ्किङ
पेशाको शुरुआत गरेकी हुन् । नेपाल ग्रिण्डलेज (हाल स्ट्याण्डर्ड चार्टर्ड
बैङ्क)मा सहायक स्तरबाट बैङ्किङ क्षेत्रमा प्रवेश गरेकी उनले सूर्यदर्शन
फाइनान्स, अन्नपूर्ण विकास बैङ्क, सुप्रिम विकास बैङ्कसम्म आइपुग्दा प्रमुख
कार्यकारी अधिकृतको जिम्मेवारीसमेत सम्हालिसकेकी छिन् । उनी नेपालको
निजीक्षेत्रबाट सञ्चालित बैङ्कहरूको पहिलो महिला प्रमुख कार्यकारी अधिकृत
पनि हुन् । अहिले अन्तरराष्ट्रिय फाइनान्सिङ कन्सल्टेण्ट कम्पनीमा
कन्सल्टेण्टको रूपमा कार्यरत छिन् । आफ्नै बलबुताले आफू यस क्षेत्रमा सफल
हुन सकेको उनले बताइन् । ‘महिलालाई हरेक क्षेत्रमा समस्या हुन्छ,’ उनले
भनिन्, ‘तर, समस्या पहिचान गरेर अगाडि बढ्नुपर्छ ।’
बैङ्किङ क्षेत्रमा सफल हुने अन्य महिलाको सङ्ख्या बढ्दै गएको छ, जसमध्ये
मेगा बैङ्ककी अनुपमा खुजेली पनि एक हुन् । २०४८ सालदेखि ग्रिनलेज बैङ्कबाट
आफ्नो पेशाको शुरुआत गरेकी खुजेली नबिल बैङ्क हुँदै अहिले मेगा बैङ्कको
प्रमुख सञ्चालन अधिकृतको पदमा रहेर जिम्मेवारी निर्वाह गर्दे आएकी छिन् ।
त्यस्तै, मेगा बैङ्ककै प्रमुख व्यापार अधिकृत पदमा कार्यरत रविना देशराज
श्रेष्ठले अन्तरराष्ट्रिय बैङ्करको अवार्ड पनि प्राप्त गरिसकेकी छिन् ।
उनी यसै वर्ष ‘लेडी अफ एक्सिलेन्स’ अवार्ड तथा २१औं शताब्दी गोल्डेन
फिनिक्स अवार्डजस्ता अन्तरराष्ट्रिय अवार्ड पाउन सफल भएकी छिन् ।
पहिलापहिला बैङ्कको शोभा बढाउन महिला कर्मचारी राखिने गरे तापनि अहिले
भने उच्च तहमा महिलाको पहुँच पुग्न थालेको छ । महिलाहरू स्वयम् सक्षम हु“दै
गएकाले उनीहरू बैङ्कको माथिल्लो तहसम्म पुग्न सकेको बताउँन् नेपाल राष्ट्र
बैङ्कका कार्यकारी निर्देशक मनमोहनकुमार श्रेष्ठ । यस क्षेत्रमा महिलाको
सङ्ख्या वर्षेनि बढ्दै गएको उनको भनाइ छ ।
आर्थिक रूपमा सधैं पुरुषमा भर पर्दै आएका महिला वित्तीय क्षेत्रमा
सक्रिय हुँदै आएका छन् । पहिला महिलालाई यस क्षेत्रमा अवसर धेरै कम थियो ।
बैङ्कको तल्लो तहमा मात्र उनीहरूको सहभागिता थियो । तर, अहिले भने उच्च
तहमा समेत महिलाहरू पुगिसकेका छन् । अबको केही वर्षमा बैङ्किङ क्षेत्रमा
महिलाकै वर्चस्व रहने सम्बन्धित महिला कर्मचारीहरू बताउँछन् ।
अन्य पेशाको तुलनामा महिलाका लागि बैङ्किङ क्षेत्र निकै सुरक्षित,
प्रतिष्ठित, आकर्षक तलब तथा राम्रो सेवासुविधा भएको मानिन्छ । त्यसकारण पनि
अहिले यसमा महिलाको रुचि बढ्दै गएको छ । नेपाल राष्ट्र बैङ्क तथा सरकारी
स्वामित्वका बैङ्कमा महिला कर्मचारीको सङ्ख्या १८ प्रतिशत छ । त्यस्तै,
निजीक्षेत्रबाट सञ्चालित बैङ्कमा भने महिला कर्मचारीको सङ्ख्या करीब ४०
प्रतिशत रहेको क्लिन इनर्जी डेभलपमेण्ट बैङ्ककी नायव प्रमुख कार्यकारी
अधिकृत श्रेष्ठले बताइन् ।
नेपाल राष्ट्र बैङ्कमा १ हजार ३ सय ३९ कर्मचारी छन् । यसमध्ये महिलाको
सङ्ख्या २ सय ११ छ । यो सङ्ख्या कुल सङ्ख्याको करीब १६ प्रतिशत मात्र हो ।
त्यस्तै, कृषि विकास बैङ्कमा २ हजार ८ सय २६ कर्मचारी छन्, जसमा महिला
कर्मचारीको सङ्ख्या ४ सय ७३ छ । यो सङ्ख्या कुल कर्मचारीको १७ प्रतिशत हो ।
नेपाल बैङ्कमा कुल २ हजार ६ सय १६ कर्मचारी छन्, जसमा ६ सय ३९ महिला
कर्मचारी छन् । राष्ट्रिय वाणिज्य बैङ्कमा भने कुल कर्मचारी २ हजार ६ सय ७८
छन्, जसमा महिला कर्मचारी ४ सय २५ जना छन् ।
तथ्याङ्कले महिला तल्लो तहमा महिला कर्मचारीको सङ्ख्या धेरै देखिए तापनि
पहिलाको तुलनामा यो सङ्ख्या उत्साहजनक रहेको नेपाल राष्ट्र बैङ्कका
कार्यकारी निर्देशक श्रेष्ठको भनाइ छ । सरकारी बैङ्कहरूमा महिलाका लागि ३३
प्रतिशत सीट छुट्ट्याइएको छ । नेपाल राष्ट्र बैङ्कले ३ वर्ष अघिदेखि यस्तो
व्यवस्था गरेको हो । उनले भने, ‘त्यसैले, अहिले महिलाले धेरै अवसर पाएका
छन् ।’
No comments:
Post a Comment