रू. १५ अर्ब ३५ करोड भुक्तानी हुन बाँकी
भदौं १३, काठमाडौं । गत वैशाखमा गएको भूकम्पका कारण निर्जीवन बीमा
कम्पनीहरूको नाफा घट्ने प्रक्षेपण गरिए तापनि समग्रमा कम्पनीहरूको नाफा २०
प्रतिशतले बढेको छ । १३ निर्जीवन बीमा कम्पनीहरूले प्रकाशित गरेको आर्थिक
वर्ष २०७१/७२ को चौथो त्रैमासिक वित्तीय विवरणअनुसार कम्पनीहरूले रू. १
अर्ब ५८ करोड खुद नाफा आर्जन गरेका छन् । यो रकम आव २०७०/७१ को तुलनामा रू.
२५ करोडभन्दा धेरैले बढी हो । भूकम्पका कारण कम्पनीहरूमा परेको ठूलो
दाबीले बीमा व्यवसाय नै धराशयी हुने अनुमान गरिएको थियो । तर, बीमकहरूले
आप्mनो दायित्वको अधिक अंश पुनर्बीमा कम्पनीमा सारेकाले सोचिए जति नोक्सानी
नहुने पुनर्बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत चिरायु भण्डारीले बताए ।
उनले भने, ‘कम्पनीहरू सेफ साइडमा नै छन् ।’
समग्रमा निर्जीवन कम्पनीहरूको खुद नाफामा वृद्धि देखिए तापनि हालसम्म
वित्तीय विवरण प्रकाशित गरेका कम्पनीमध्ये ६ ओटा कम्पनीहरूको नाफा घटेको छ ।
युनाइटेड इन्स्योरेन्स कम्पनीको खुद नाफा ९० प्रतिशतले घटेको छ । कम्पनीले
आव २०७०/७१ मा रू. ५ करोड ५६ लाख खुद मुनाफा आर्जन गरेकोमा गत आवमा नाफा
रू. ५३ लाख ६८ हजार खुम्चिएको छ । त्यस्तै, सगरमाथा इन्स्योरेन्सको खुद
नाफा ४६ दशमलव ४० प्रतिशतले घटेको छ । कम्पनीले आव २०७०/७१ मा रू. २० करोड
५२ लाख आर्जन गरेको थियो भने गत आवमा जम्मा रू. ११ करोडमा चित्त बुझाउनु
परेको छ । त्यस्तै, हिमालयन जनरल इन्स्योरेन्सको खुद नाफा ११ प्रतिशत,
लुम्बिनी जनरल इन्स्योरेन्सको ९ प्रतिशत तथा प्रभु इन्स्योरेन्सको १४
प्रतिशतले नाफा घटेको छ ।
तत्काल कम्पनीको वित्तीय विवरणले देखाए जतिकै नाफा कम्पनीहरूको नघटेको
बताउँछन् सगरमाथा इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत
कृष्णबहादुर थापा । उनले भने, ‘भूकम्पका कारण कम्पनीहरूको दायित्व बढेको छ ।
त्यसैले तत्काल वित्तीय विवरणमा नाफा घटेको देखिएको हो ।’ कम्पनीहरूमा
परेको दाबीको रकममध्ये वास्तविक मूल्याङ्कन हुन बाँकी नै छ । सर्वे
प्रतिवेदन आएपछि मात्रै वास्तविक तथ्याङ्क देखिने उनले बताए । कम्पनीहरूले
भुक्तानी गर्नुपर्ने रकम प्रोभिजनिङ गर्नुपर्ने हुन्छ ।
गत आवमा बीमा दाबीको क्रम १७ प्रतिशतले बढेको छ । तर, २७ हजार ८ सय ९०
बीमा दाबीको भुक्तानी हुन सकेको छैन । भूकम्पबाट प्रभावित ठूला आयोजनाहरूको
सर्वे प्रतिवेदन आउन समय लाग्ने भएकाले पनि भुक्तानी सङ्ख्या बढी देखिएको
बीमा सङ्घका अध्यक्ष तथा एनएलजी इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत
विजयबहादुर शाहले बताए । उनले भने, ‘कुनै आयोजनाको लागि महीनौं कुर्नपर्ने
अवस्था छ ।’ त्यस्तै, रू. १५ अर्ब ३५ करोड बराबर रकम भुक्तानी हुन बाँकी छ ।
आव २०७०/७१ मा सबैभन्दा कम नाफा आर्जन गरेको नेको इन्स्योरेन्सको नाफा
आव २०७१/७२ मा सबैभन्दा धेरैले बढेको छ । गत आवमा कम्पनीको खुद नाफा ३
गुणाभन्दा धेरैले बढेर रू. १२ करोड ११ लाख पुगेको छ । उक्त अवधिमा कम्पनीले
आम्दानी बढाएको छ भने व्यवस्थापन खर्च, अपलेखन खर्चलगायतका अन्य खर्च
घटाएपछि नाफा पनि बढेको हो । त्यस्तै प्रिमियर इन्स्योरेन्स कम्पनीको खुद
नाफा पनि ३ गुणाले बढेको छ ।
त्यस्तै, कम्पनीहरूको बीमाशुल्क आर्जन २८ प्रतिशतले बढेको छ ।
कम्पनीहरूको वित्तीय विवरणअनुसार गत आवको असार मसान्तसम्ममा कम्पनीहरूले
रू. १० अर्ब ४६ करोड बीमाशुल्क आर्जन गरेका छन् । सो अवधिसम्ममा शिखर
इन्स्योरेन्स कम्पनीले सबैभन्दा धेरै रू. १ अर्ब ३६ करोड बीमाशुल्क आर्जन
गरेको छ । प्रिमियर इन्स्योरेन्सको भने सबैभन्दा धेरै ४८ प्रतिशतले
प्रिमियम आम्दानी बढेको छ ।
समीक्षा अवधिमा कम्पनीहरूले जारी गरेको बीमा सङ्ख्या करीब १८ प्रतिशतले
बढेको छ । आव २०७०/७१ मा कुल ७ लाख ६३ हजार ८ सय ७९ बीमालेख जारी भएकोमा आव
२०७१/७२ मा भने ८ लाख ९४ हजार ९ सय ६३ बीमालेख जारी भएका छन् । त्यस्तै,
बीमालेख नवीकरण गर्नेको सङ्ख्या पनि करीब ३६ प्रतिशतले बढेको छ । गत आवमा
कुल २ लाख ७४ हजार ८५ ले बीमालेख नवीकरण गरेका छन् ।
No comments:
Post a Comment