Wednesday, August 12, 2015

चालू आवमा १५ करोडको पुनर्बीमा

२०७२-०४-२७ मा प्रकाशित        
मुना कुँवर
साउन २६, काठमाडौं । पुनर्बीमा कम्पनीले चालू आर्थिक वर्ष २०७२/७३ मा रू. १५ करोडबराबरको पुनर्बीमा गर्ने भएको छ । कम्पनीले नेपालमा सञ्चालित बीमा कम्पनीहरूको उक्त रकमबराबरको पुनर्बीमा गर्ने लक्ष्य लिएको हो । सञ्चालनको पहिलो आर्थिक वर्षमा कम्पनीले न्यूनतम रकमबाट पुनर्बीमाको कार्य शुरू गर्न लागेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत चिरायु भण्डारीले बताए । उनले भने, ‘आगामी वर्षहरूमा यो रकम वृद्धि हुँदै जानेछ ।’

नेपालमा सञ्चालित बीमा कम्पनीहरूले भारत, बेलायतलगायत देशमा रहेका पुनर्बीमा कम्पनीसँग पुनर्बीमा गर्दै आएका छन् । यसरी प्रत्येक वर्ष पुनर्बीमाबापत अनुमानित रू. ३ अर्ब रकम बाहिरिने गरेको छ । यस्तो प्रवृत्ति रोक्न नेपालमा नै पुनर्बीमा कम्पनीको स्थापना गरिनुपर्ने अवधारणासहित पहिलोपटक पुनर्बीमा कम्पनीको स्थापना भएको हो । गत कात्तिकमा औपचारिक उद्घाटनपछि कम्पनी औपचारिक रूपमा सञ्चालन भएको हो । यसले वर्षेनि बाहिरिँदै गएको ठूलो रकम स्वदेशमा नै राख्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
बीमा कम्पनीहरूले पुनर्बीमा गर्दा वार्षिक रूपमा नै गर्ने गर्छन् । यसका लागि प्रत्येक आवको अन्तिम महीनामा नै पुनर्बीमा कम्पनीसँग व्यावसायिक सम्झौता गरिन्छ । सोअनुसार असार महीनामा नै बीमा कम्पनी र पुनर्बीमा कम्पनीबीच पुनर्बीमाका लागि सम्झौता हुनुपर्नेमा सो अवधिमा कम्पनी प्रमुख कार्यकारीविहीन भएकाले कुनै पनि कम्पनीसँग सम्झौता हुन नसकेको प्रमुख कार्यकारी अधिकृत भण्डारीले बताए ।
अर्को आवदेखि भने सम्झौता गरेर व्यवसाय सञ्चालन हुने उनको भनाइ छ ।
पुनर्बीमा कम्पनीको लगानीकर्ता तथा सेवाग्राहीका रूपमा बीमकहरू नै रहेका छन् । चालू आवमा व्यवसाय सञ्चालन गर्ने सन्दर्भमा बीमकहरूको समितिसमेत गठन भएको छ । सोही समितिले चालू आवमा ५ प्रतिशतबाट पुनर्बीमाको कार्य शुरू गर्ने सुझाव दिएको प्रमुख कार्यकारी अधिकृत भण्डारीले बताए । उनका अनुसार उक्त विषयमा बोर्डमा पनि सहमति भइसकेको छ  । उनले भने, ‘कम्पनीहरूसँग अन्तिम फैसला गरी कम्तीमा १ महीनाभित्र हामी व्यवसाय शुरू गर्छौं ।’
बीमा समितिले जारी गरेको पुनर्बीमा ऐनअनुसार कम्पनीले बीमकहरूले गरेको बीमाको ३० प्रतिशसम्म बीमा गर्न पाउने प्रावधान रहेको छ । तर, चालू आवमा भने ५ प्रतिशतबाट शुरू गरी क्रमिक रूपमा ३० प्रतिशत पुर्‍याउने कम्पनीको योजना रहेको छ । चुक्तापूँजी रू. ५ अर्ब रहेको पुनर्बीमा कम्पनीमा सबै बीमा कम्पनीको लगानी रहेको छ । सो कम्पनीलाई असार २६ गते सरकारले रू. १ अर्ब २३ करोड प्रदान गरेको छ । त्यसका अतिरिक्त अन्तरराष्ट्रिय कम्पनीहरूसँग रणनीतिक साझेदारीका लागि छलफल भइरहेको पनि कम्पनीले बताएको छ ।

 

No comments:

Post a Comment