२०७२-०४-२९ मा प्रकाशित २२७ पटक पढिएको
तेस्रो पक्ष (मोटर बीमा) बीमा तथा अग्नि बीमालेख सबैभन्दा बढी जारी
मुना कुँवर
साउन २८, काठमाडौं । नेपालमा सरकारले अनिवार्य गरेको बीमा योजनाहरू
मात्रै बढी जारी हुने गरेको छ । बीमा कम्पनीहरूले विभिन्न खालका बीमा योजना
सञ्चालनमा ल्याउँदा पनि अधिकांश मानिस अनिवार्य गरिएकाबाहेक अन्य बीमा
योजनाप्रति आकर्षित नभएको देखिएको छ । बीमा कम्पनीहरूले जारी गरेका
बीमालेखमध्येमा सरकारले अनिवार्य गरेको तेस्रो पक्ष (मोटर बीमा) बीमा तथा
वित्तीय संस्थाले अनिवार्य गरेको अग्निबीमालेख सबैभन्दा बढी जारी भएको
तथ्याङ्कले देखाएको छ । मानिसले बाध्यताले मात्रै बीमा गर्ने प्रवृत्ति
देखिएको प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीका कम्पनी सचिव आनन्द खड्काले
बताए ।
गत आर्थिक बर्ष २०७१/७२ को तेस्रो त्रैमास अवधिसम्ममा करीब ६ लाख मोटर
बीमालेख जारी भएको छ । बीमा समितिको त्रैमासिक तथ्याङ्कअनुसार सो अवधिमा
नेपालमा सञ्चालित बीमा कम्पनीहरूले ६ लाख ९२ हजार ११ ओटा मोटर बीमालेख जारी
गरेका छन् । यो सङ्ख्या जारी भएका कुल बीमालेख सङ्ख्याको करीब ७१ प्रतिशत
हो । आफ्नो सवारी साधनले अरूको सवारी साधन, सम्पत्ति, बटुवा, पन्छी, चौपाया
आदिमा हानि पुर्याई क्षतिपूर्ति गरी दिनुपर्ने दायित्वका अवस्थाबाट जोगिन
तेस्रो पक्ष बीमा गरिन्छ । यसमा बीमाशुल्क बढी तिरेर अन्य जोखीम पनि वहन
गर्न सकिन्छ । यस्तो खालको बीमा सरकारले अनिवार्य गरेको छ ।
त्यस्तै, चैत महीनासम्ममा १ लाख ३५ हजार ५ सय ५७ अग्नि बीमालेख जारी भएका छन् ।
नेपालमा मोटर बीमापछि सबैभन्दा बढी अग्नि बीमालेख जारी हुने गर्छ ।
बैङ्क तथा वित्तीय संस्थाले ऋण जारी गर्दा भूकम्प तथा अग्नि बीमा अनिवार्य
गरेपछि यस्तो बीमा गर्नेको सङ्ख्या धेरै देखिएको हो । बैङ्क तथा वित्तीय
संस्थाले आफ्नो लगानी सुरक्षित गर्न यस्तो खालको बीमा अनिवार्य गर्ने गरेको
पु्रडेन्सियल इन्स्योरेन्स कम्पनीका कम्पनी सचिव खड्काले बताए ।
अन्य विविध जारी बीमालेखको सङ्ख्या भने ५७ हजार ९ सय ७९ जारी भएको छ ।
तर, सामुद्रिक बीमालेख भने ३८ हजार २ सय २३ जारी भएको छ । गत चैत
मसान्तसम्ममा हवाई बीमालेख १ सय ३ ओटा जारी भएको छ भने इञ्जिनीयरिङ बीमालेख
५ हजार ७ सय ३३ ओटा भएको छ । त्यस्तै, गतवर्षदेखि सरकारले कृषि तथा बाली
बीमालाई पनि अनिवार्य गरेको छ । त्यसैले चालू आवको पहिलो ९ महीनाको अवधिमा
यस्तो बीमालेख ९ सय ३ ओटा जारी भएको तथ्याङ्कमा उल्लेख छ ।
अहिलेसम्म मोटर तथा अग्नि बीमालेख धेरै जारी भए तापनि अबका दिनमा भने
बीमा व्यवसायको क्षेत्र बढ्दै जाने प्रुडेन्सियलका कम्पनी सचिव खड्काले
बताए । ‘अबका दिनमा अन्य बीमालेखको सङ्ख्या पनि बढ्नेछ,’ उनले भने, ‘यसअघि
मानिसले बाध्यताले बीमा गर्ने गरेता पनि अबका दिनमा भने भैपरी आउने
जोखीमबाट बच्नका लागि बीमा गर्नेछन् ।’
गत वैशाखमा गएको भूकम्पपछि मानिस सचेत हुन थालेको उनले बताए । भूकम्पले
धनजनको ठूलो क्षति गरेपछि बीमाप्रति मानिसको चासो बढ्न थालेको उनले बताए ।
No comments:
Post a Comment