रविन्द्र घिमिरे
यस पङ्क्तिकारले अभिकर्ता तथा सर्वेयरहरू, बीमा कम्पनीका प्रमुख कार्यकारी, अवकाश प्राप्त अधिकारीहरूदेखि लिएर तल्लो तहमा कार्यरत कर्मचारीसँग अन्तरक्रिया गर्ने र उनीहरूको भावना बुझ्ने मौका पाएको थियो । त्यस्तो अन्तरक्रियामा उनीहरूको बीमा उद्योगप्रतिको धारणा र कार्यशैलीको अनुभवलाई संश्लेषण गर्ने प्रयास यस लेखमा गरिएको छ । बीमालाई आधुनिक युगको सर्वोत्कृष्ट वित्तीय उपकरण भनिन्छ । तर, यस्तो उपकरण नेपालमा सही ढङ्गबाट प्रयोग हुन सकेको छैन । निर्धन मुलुकले जीवन तथा स्वास्थ्य बीमालाई सामाजिक सुरक्षाको भरपर्दो माध्यमका रूपमा प्रयोग गर्नुपर्नेमा त्यसो हुन सकेको छैन ।
नेपालमा किन जीवन बीमा बजारको विस्तार हुन सकेको छैन भन्ने सन्दर्भमा एउटा उदाहरण पेश गर्न चाहन्छु । सरकारी स्वामित्वको बीमा कम्पनीका एक पूर्व प्रशासकले एउटा प्रसङ्गमा पङ्क्तिकारलाई भनेका थिए, ‘मैले त आजसम्म जीवन बीमा किनेकै छैन ।’ उनलाई जीवन बीमाको आवश्यकता त थियो होला तर पनि त्यसको महŒव थाहा नभएको हुनुपर्छ । तर पनि जीवन बीमा कम्पनीको प्रमुख भएको नाताले कम्तीमा आफ्नो जीवन बीमा आफू प्रमुख भएकै कम्पनीबाट खरीद गर्नु उनको दायित्व हो । बजार विभाग प्रमुखले पनि नवनियुक्त प्रशासककोे बीमा गराउन सकेनछन् भने आमजनताको बीमा गराउनेतर्फ उनको पहल कस्तो रह्यो होला ? जुन देशमा जीवन बीमा कम्पनीमा कार्यरत सबै कर्मचारीको बीमा गरिएको छैन, निर्जीवन बीमा कम्पनीमा कार्यरत सबै कर्मचारीले आफ्नो सम्पत्तिको बीमा गरेका छैनन् त्यस्तोमा अरूलाई के भन्ने ? कसरी सम्झाउने ? आजकल कम्पनीहरू पोलिसी विक्री गर्नमा भन्दा एजेण्टको सङ्ख्या बढाउनमा तल्लीन छन् । आफ्ना कर्मचारी र अभिकर्ताको शीप, ज्ञान र दक्षता वृद्धि गर्नुको सट्टा केवल कमिशनको प्रलोभनमा अभिकर्ताहरूलाई पोलिसी विक्री गर्न अनुरोध गरिरहेका छन् । बीमाको उद्देश्य नाबालक बालबच्चाहरूलाई आर्थिक सुरक्षा दिने, सङ्कटका बेलामा सहयोग गर्ने, जोखीम व्यवस्थापन गर्ने हो । तर, १० वर्षमा लगानी दोब्बर गर्ने होइन । दुर्भाग्य, हामी बीमाको वास्तविक उद्देश्य बताएर बीमा विक्री गर्दैनौं, अनावश्यक प्रलोभन देखाएर पोलिसी विक्री गर्छाैं । बीमा व्यवसायमा व्यावसायिकता कम छ, ढाँटछल र काम चलाउपन बढी छ । व्यापारी वर्गमा बढी जोड दिने तर किसान, मजदूर, ग्रामीण जनतालाई उपेक्षा गर्ने काम भएको छ । एकल महिला, दुर्गम स्थानका महिला, अशिक्षित महिला र आर्थिक उपार्जन नगर्ने तर घरायसी काम गर्ने महिला, गर्भवती महिला, भर्खर बच्चा जन्माएकी महिलालाई अनेक बहाना बनाएर पोलिसी विक्री गर्न बेवास्ता गरिएको छ । बीमा कम्पनीहरू गाउँ जान डराएका छन्, जोखीम लिन हिचकिचाएका छन् । यस्तो सोचले कसरी बीमाको बजार फस्टाउन सक्छ ? केही बीमा कम्पनीले विकसित मुलुकको व्यावसायिक शैलीलाई नेपालमा भिœयाएर नेपालको बीमा उद्योगको विकासमा उल्लेखनीय योगदान गरेका छन् । सीमित कम्पनीहरूले मात्र सूचनाप्रविधिको प्रभावकारी रूपमा प्रयोग गरेका छन् । सरकारीभन्दा निजी कम्पनीको डाटाबेस र सेवाको स्तर राम्रो छ । ग्राहकको जानकारीका लागि वार्षिक प्रतिवेदनमा कम्पनी ऐन र बीमा समितिले तोकिएको सीमित सूचनाबाहेक अन्य आर्थिक तथा गैरआर्थिक सूचनाहरू समावेश गर्नु जरुरी छ । कम्पनीहरूसँग आफ्नो बीमाङ्की छैन, दक्ष र तालीम प्राप्त कर्मचारीको अभाव छ । सेवाको विकेन्द्रीकरण नभएका कारण शाखा कार्यालयहरूबाट दिइने सेवा प्रभावकारी हुन सकेको छैन । विविध समस्या हुँदाहुँदै पनि नेपालमा बीमाको भविष्य प्रचुर मात्रामा छ । यहाँको कुल जनसङ्ख्याको ६ प्रतिशतले मात्र बीमा गरेका छन्, त्यसैले अन्तरराष्ट्रिय बीमा तथा पुनर्बीमा कम्पनीहरूले पनि नेपालको बजारलाई निकै चासोका साथ हेरिरहेका छन् ।
सामान्य लेखपढ मात्र गर्न जान्नेदेखि लिएर विद्यावारिधि गरेकाहरू पनि बीमा एजेण्ट छन् । व्यवस्थित कार्यालय, कर्मचारी र वार्षिक करोडौंको बीमा विक्री गर्ने अभिकर्तादेखि लिएर निष्क्रिय अभिकर्ता पनि छन् । ग्राहकसँग सधैं हार्दिक व्यावसायिक सम्बन्ध राख्ने र निरन्तर सेवा दिनेहरू पनि छन्, क्षणिक लाभ लिएर ग्राहकलाई धोका दिनेहरू पनि छन् । तसर्थ बीमा बजारको मेरूदण्डका रूपमा रहेका अभिकर्ताहरूको व्यावसायिक विकासका लागि बीमा समितिले धेरै काम गर्न बाँकी छ ।
बीमा बजारको दिगो वृद्धिको पहिलो शर्त भनेको व्यावसायिक अभिकर्ता नै हो । अभिकर्ताले निःस्वार्थ भावका साथ नियमित रूपमा आफ्ना पोलिसी होल्डरहरूको प्रिमियम तिरिदिने, ऋण झिक्नमा सहयोग गरिदिने, नयाँ पोलिसी बजारमा आउनेबित्तिकै सोको बारेमा जानकारी दिने आदि सेवा प्रदान गर्नुपर्छ । अभिकर्ता जुन क्षेत्रमा स्थायी रूपमा बसोवास गरेको छ सोही क्षेत्रमा पोलिसी विक्री गर्नुपर्छ । पाहुना अभिकर्ता, सिजनल अभिकर्ता वा अस्थायी अभिकर्ता बीमा उद्योगको दिगो विकासका लागि हानिकारक छन् । गत सालको प्रगतिको आधारका मात्र अभिकर्ताको लाइसेन्स नवीकरण हुनुपर्छ । जो सक्रिय छ, उसको बढुवा हुनुपर्छ र सुविधा पनि बढाउनुपर्छ । साथै अभिकर्ताले बीमासम्बन्धी नयाँनयाँ कुराको निरन्तर अध्ययन गर्नु जरुरी छ ।
नेपालको बीमा बजारको ८० प्रतिशत अंश जीवन र २० प्रतिशत अंश निर्जीवन बीमाले ओगटेको छ । जीवन बीमामा संलग्न अभिकर्ताको सङ्ख्या ७० हजार पुगिसकेको छ । बीमाको बजार अभिकर्ताको काँधमा छ । बीमा व्यवसायमा अभिकर्ता र ग्राहकबीचको सम्बन्ध धेरै वर्षको हुनुपर्छ । यो दीर्घकालिक व्यवसाय हो । मिठाइ या चामल व्यवसायजस्तो क्षणिक होइन । तर, हामीकहाँ अभिकर्तालाई जिम्मेवारीपूर्ण पेशाका रूपमा हेरिँदैन । नेपालमा अभिकर्ता हुन एसएलसी पास गरेको हुनुपर्छ र ४ दिनको तालीम लिनु आवश्यक छ । शुरूका दिनहरूमा बीमा समितिले नै ७ दिनको तालीम दिएर अभिकर्ताको लाइसेन्स दिन्थ्यो । हाल बीमा कम्पनीहरूले आफ्ना एजेण्टलाई आफै तालीम दिन थालेका छन् । तालीममा आफ्ना पोलिसीहरूका बारेमा बताइन्छ र प्रिमियम गणना गर्न सिकाइन्छ । तालीमका विषयवस्तुमा कम्पनीहरूबीच एकरूपता पाइन्न । अभिकर्ताको तालीममा पढाइने विषयवस्तु अन्तरराष्ट्रिय स्तरको हुनुपर्छ र अध्यापन गराउने स्रोत व्यक्तिको नाम समितिबाट स्वीकृत हुनु जरुरी छ । बीमा मानिसको व्यक्तिगत वित्तीय योजनाको एक अभिन्न अङ्ग हो । आजको अभिकर्ताले केवल पोलिसी मात्र विक्री गरेर हँुदैन, ग्राहकको आगामी २०, ३० वा ४० वर्षको वित्तीय योजना बनाइदिनु पनि पर्छ । यसका लागि अभिकर्ताका लागि पर्सनल फाइनान्सियल प्लानिङका बारेमा ज्ञान हुनु जरुरी छ । यी कुरा कार्यान्वयन गर्न अभिकर्ताको शैक्षिक योग्यता कम्तीमा उच्च मावि उत्तीर्ण हुनु जरुरी भइसकेको छ ।
अभिकर्ताले आफ्नो सामाजिक प्रतिष्ठा आफै कायम राख्नुपर्छ र अभिकर्ता हुन पाएकोमा गर्व गर्नुपर्छ । अभिकर्ताले निश्चित वित्तीय लाभको आधारमा पोलिसी विक्री गरेको छ भन्दैमा उसलाई विशुद्ध आर्थिक प्राणीका रूपमा लिने र पोलिसी होल्डरले निजहरूलाई उचित सम्मान नदिने नराम्रो परिपाटी हाम्रो समाजमा छ । विदेशमा अभिकर्ताको सामाजिक प्रतिष्ठा राम्रो छ किनकि अभिकर्ताले समाजसेवा पनि गरिरहेको हुन्छ । यसबाट सबैभन्दा बढी फाइदा पोलिसी होल्डरलाई नै पुगेको हुन्छ ।
लेखक पोखरा विश्वविद्यालयमा बीमा विषयको प्राध्यापन गर्छन् ।
No comments:
Post a Comment