मुना कुँवर
काठमाडौं । आर्थिक वर्र्ष सकिएसँगै कम्पनीहरूले वार्षिक आर्थिक
प्रतिवेदन प्रकाशित गर्न थालेका छन् । प्रारम्भिक चरणमा प्रकाशित भएका
अधिकांश बैङ्क तथा वित्तीय संस्थाको प्रतिवेदनअनुसार नाफा बढ्ने देखिए
तापनि बीमा कम्पनीहरूको नाफा भने घट्ने देखिएको छ । गत वैशाख १२ गते आएको
भूकम्पको कारण निर्जीवन बीमा कम्पनीहरूको नाफा प्रभावित हुने देखिएको हो ।
कम्पनीहरूले समयमै दाबी भुक्तानी गर्न नसक्दा दायित्व बढ्ने भएकाले चालू
आवमा नाफा घट्ने सम्भावना रहेकोे बीमा समितिका निर्देशक श्रीमान् कार्कीले
बताए । उनका अनुसार नाफा घटे पनि कम्पनीहरूले नोक्सानी बेहोर्नुपर्ने
अवस्था भने आउनेछैन ।
बीमा समितिका अनुसार भूकम्पपछि कम्पनीहरूमा गत सोमवारसम्ममा १६ हजार ४
सय १ बीमा निवेदन परेका छन् । उक्त निवेदनमार्फत नेपालमा सञ्चालित १७ बीमा
कम्पनीमा रू. १८ अर्ब १ करोड २६ लाखबराबरको दाबी परेको छ । तर, कम्पनीहरूले
भने दाबीमध्ये हालसम्म रू.२ अर्ब १० करोड ४४ लाख ६८ हजार मात्रै भुक्तानी
गरेका छन् । समितिको तथ्याङ्कअनुसार यो रकम कुल दाबीको करीब ११ प्रतिशत
मात्रै हो । सो रकममध्ये कम्पनीहरूले रू. १ अर्ब २ करोड २१ लाख पेश्कीबापत
भुक्तानी गरेका छन् भने बाँकी रकम अन्तिम भुक्तानी हो । कम्पनीहरूमा परेको
दाबीको सर्भेयर रिपोर्ट आउन बाँकी रहेकाले कम्पनीहरूले भुक्तानी गर्न
नसकेको निर्देशक कार्कीले बताए । ‘सर्भेयर रिपोर्ट नआएसम्म कम्पनीहरू दाबी
भुक्तानी गर्न सक्दैनन्,’ उनले भने, ‘त्यसैले, चालू आवमा कम्पनीहरूको
दायित्व ह्वात्तै बढ्नेछ ।’ फलस्वरूप, नाफा खुम्चिने उनले बताए ।
बीमा कम्पनीहरूले बीमाङ्क रकमको केही प्रतिशत पुनर्बीमा गर्छन्,
जसअनुसार दाबी परेको रकममध्ये पुनर्बीमा कम्पनीले निश्चित रकम बेहोर्छ ।
तर, कम्पनीहरूले बेहोर्नुपर्ने रकमको १ सय १५ प्रतिशत प्रोभिजन गर्नुपर्ने
समितिको नियममा छ । त्यसैले, कम्पनीहरूले भुक्तानी नभएको रकममध्ये
पुनर्बीमा गरिएको बाहेक बाँकी रकमको १ सय १५ प्रतिशत प्रोभिजन गर्नुपर्नेछ ।
यसले कम्पनीको नाफा घटाउने देखिएको हो ।
नेपालमा आइपरेको महाविपत्तिका कारण पुनर्बीमा कम्पनीहरूले बीमा
कम्पनीलाई पेश्की रकमसमेत उपलब्ध गराइसकेका छन् । तर, बीमा कम्पनीहरूले भने
दाबी गरेका सबै बीमितहरूलाई भुक्तानी गर्न सकेका छैनन् । त्यसैले,
अधिकांश कम्पनीको चालू आवमा नाफा घट्ने सगरमाथा इन्स्योरेन्सका प्रमुख
कार्यकारी अधिकृत कृष्णबहादुर बस्न्यातले बताए । उनले भने, ‘सबैको घट्छ
भन्ने छैन, तर वास्तविक सर्भेयर रिपोर्ट आउन समय लाग्ने भएकाले दायित्व
बढेर नाफा घट्ने सम्भावना बढी छ ।’ तर, धेरैजसो अवस्थामा बीमितले दाबी
गरेको रकमभन्दा सर्भेयरले मूल्याङ्कन गरेको रकम (वास्तविक रकम) कम हुन्छ ।
त्यसकारण, चालू आवमा कम्पनीको नाफा घटे पनि दाबी भुक्तानी फछ्र्योट गरेपछि
भने नाफा बढ्न सक्ने उनले बताए ।
No comments:
Post a Comment