Saturday, February 24, 2018

भौतिक सेयर बिक्री गर्ने व्यवस्था गर्दै बोर्ड

नयाँ पत्रिका काठमाडौं, १२ फागुन 
नेपाल धितोपत्र बोर्डले डिम्याट नभएका सेयर बिक्री गर्न सकिने व्यवस्था गर्ने तयारी गरेको छ । सेयर बजारमा डिम्याट कारोबार अनिवार्य गरे पनि सूचीकृत सबै सेयर डिम्याट नभएपछि बोर्डले यस्तो व्यवस्था गर्ने योजना बनाएको हो । साथमा भौतिक सेयर भए पनि धेरै लगानीकर्ताले हालसम्म डिम्याट गराएका छैनन् ।
यसरी डिम्याट नभएका सेयर बजारमा कारोबार नै नहुने भएपछि बोर्डले विकल्पको खोजी गरेको बोर्डका सहायक प्रवक्ता निरञ्जय घिमिरेले बताए । ‘सेयर बिक्री हुँदा भौतिक रूपमा भए पनि खरिद गर्दा अभौतिक रूपमा रूपान्तरण हुने प्रणालीको हामीले अध्ययन गरिरहेका छौँ,’ उनले भने । तर, कति किस्तासम्म भौतिक सेयर बिक्री गर्न पाउने वा कुन प्रणालीमा बिक्री गर्न सकिने भने विषयमा बोर्डले प्रारम्भिक अध्ययन गरिरहेको उनले बताए । उनका अनुसार बोर्डले यस विषयलाई आफ्नो वार्षिक योजनामा समेत समावेश गरेको छ ।

भौतिक रूपमा भएका सेयर हराउने, च्यातिने, नासिने र चोरिने समस्यालाई समाधान गर्न बोर्डले डिम्याट कारोबारलाई अनिवार्य गरेको हो । लामो प्रयासपछि ०७२ माघदेखि नै बोर्ड अनिवार्य डिम्याट सेयर कारोबार हुने सुरु गरेको हो । तर, हालसम्म पनि सबै सेयर डिम्याट नभएको बोर्डले बताएको छ । कतिपय मानिसले डिम्याट प्रक्रियालाई झन्भटिलो मानेको त कतिपयलाई यससम्बन्धी जानकारी नभएकाले पनि सूचीकृत सेयर डिम्याट हुन नसकेको बोर्डले अनुमान गरेको छ । तर, डिम्याट नभएका सेयर फ्रिज हुने भएपछि यसलाई बजारमा भिœयाउन समितिले बिक्री गर्न सकिने व्यवस्था गर्न लागेको हो ।
७४ प्रतिशत सेयर डिम्याट
नेपाल स्टक एक्सचेन्जमा सूचीकृत भएका कुल सेयर संख्यामध्ये ७४ प्रतिशत सेयर डिम्याट भइसकेको सिडिएस एन्ड क्लियरिङकाका प्रमुख कार्यकारी अधिकृत देवप्रकाश गुप्ताले बताए । डिम्याटमा नहुनेमा अधिकांश संस्थापक सेयरहरू रहेको उनले बताए । कारोबार गर्न नरुचाउने लगानीकर्ताले पनि सेयर डिम्याट नगराएको हुन सक्ने उनको भनाइ छ । ‘सक्रिय र कारोबार गर्न चाहने लगानीकर्ताले सेयर डिम्याट गराइसकेका छन्,’ उनले भने । सिडिएससीका अनुसार हालसम्म ३ अर्ब २१ करोड ७९ लाख ७२ हजार ९ सय ३५ कित्ता सेयर डिम्याट भएको छ । १० लाख ७९ हजार ४ सय २२ जनाले डिम्याट खाता खोलेका छन् । ६५ वटाले निक्षेप सदस्यता लिएका छन् ।
के हो डिम्याट ?
भौतिक रूपमा भएका सेयर प्रमाणपत्रलाई अभौतिक (विद्युतीयकरण) रूपमा रूपान्तरण गर्ने काम नै डिम्याट हो । भौतिक रूपमा रहेका सेयर हराउने, च्यातिने, नासिने प्रबल सम्भावना रहन्छ । साथै भौतिक सेयर कारोबार गर्दा लामो समय अवधि लाग्ने भएकाले विश्वमा नै अहिले कागजविहीन सेयर कारोबारको विकास भइरहेको छ । सेयर डिम्याट गर्नका लागि केन्द्रीय निक्षेप सेवा (सिडिएसी)बाट सदस्यता लिएको निक्षेप सदस्य (डिपोजिटरी पाटिसिपेन्ट) मार्फत खाता खोली भौतिक रूपमा रहेको सेयरलाई विद्युत्ीयकरण
गर्न सकिन्छ ।
डिम्याट खाता कसरी खोल्ने ?
सरल प्रक्रियाबाट डिम्याट खाता खोल्न सकिन्छ । जसरी बैंकमा खाता खोलिन्छ, डिम्याट खाता पनि त्यसरी नै खोल्न सकिन्छ । नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई सिडिएससीको सदस्यता लिएको बैंक वित्तीय संस्था, मर्चेन्ट बैंकर वा दलाल कम्पनीले निश्चित मापदण्ड पूरा गरी निक्षेप सदस्यको काम गर्ने संस्थाले हितग्राही खाता (डिम्याट खाता) खोलिदिन्छ । डिम्याट खोलेपछि आफूसँग भएको वा खरिद गरेको सेयर सोही खातामा जम्मा हुन्छ ।
http://www.enayapatrika.com/2018/02/24/26859/

No comments:

Post a Comment