Sunday, February 4, 2018

बैंकको ब्याज खाँदै निर्जीवन कम्पनी

कारोबार संवाददाता
आइतवार, माघ २१, २०७४

नेपालका निर्जीवन बिमा कम्पनीहरूको कुल लगानीमध्ये करिब ७५ प्रतिशत रकम वाणिज्य बैंकको मुद्दती खातामा थुप्रिएको छ । बिमा समितिको तथ्यांकअनुसार चालू आर्थिक वर्ष ०७४/७५ को पहिलो त्रैमासिक अवधिमा कम्पनीहरूले मुद्दती खातामा मात्रै २३ अर्ब ६७ करोड रुपैयाँ लगानी गरेका छन् । उक्त अवधिमा नेपालमा पुनर्बिमा कम्पनीसहितले ३१ अर्ब ८५ करोड रुपैयाँ बैंकमा जम्मा गरेका छन् । 

समितिले कम्पनीहरूले लगानीका लागि विभिन्न क्षेत्रहरू तोकेको छ । केही क्षेत्रमा अनिवार्य रूपमा लगानी गर्नुपर्नेछ भने केही क्षेत्रमा स्वैच्छिक रूपमा लगानी गर्न समितिले छुट दिएको छ । जसमध्ये अधिकांश कम्पनीहरूले वाणिज्य बैंकको मुद्दती खातामा नै लगानी गर्दै आएका छन् । लगानीका अन्य सुरक्षित नहुँदा कम्पनीहरू वाणिज्य बैंकमा केन्द्रित हुनु परेको युनाइटेड इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत शेखर बरालले बताए । 
समितिले निर्जीवन बिमा कम्पनीको हकमा नेपाल सरकारको बचतपत्र तथा ऋणपत्र, वाणिज्य बैंकको मुद्दती निक्षेप, विकास बैंकको मुद्दती निक्षेप, नागरिक लगानी कोषमा अनिवार्यमा रूपमा आफ्नो लगानी निश्चित रकम लगानी गर्न निर्देशन दिएको छ । समितिले अनिवार्य गरेको क्षेत्रमा कम्पनीहरूले आफ्नो कुल लगानीको ६५ प्रतिशत लगानी गर्नुपर्ने समितिको प्रावधान छ । त्यस्तै, वाणिज्य बैंकको अग्राधिकार सेयर, वित्त कम्पनीको मुद्दती निक्षेप, अन्य पब्लिक कम्पनीको साधारण सेयर, उत्पादनशील तथा राष्ट्रिय महत्वको क्षेत्रमा स्वैच्छिक रूपमा लगानी गर्न पाउने व्यवस्था गरेको छ । 
वित्तीय क्षेत्रमा ८४ प्रतिशत लगानी
कम्पनीहरूले वित्तीय क्षेत्रमा मात्रै गरेको लगानीलाई हेर्ने हो भने कुल लगानीको करिब ८४ प्रतिशत रहेको छ । अर्थात् कम्पनीहरूले चालू आवको पहिलो तीन महिनाको अवधिमा २६ अर्ब ७४ करोड रुपैयाँ लगानी गरेका छन् । 
समितिको प्रावधानअनुसार कम्पनीहरूले वाणिज्य बैंकको मुद्दती निक्षेप तथा अल्पकालीन लगानीमा आफनो कुल लगानी रकमको ३५ प्रतिशत नघट्ने गरी लगानी गरिएको हुनुपर्ने व्यवस्था गरेको छ । तर, कम्तीमा ५ वर्षदेखि सञ्चालन आई आफ्नो हिसाब किताबको नियमित लेखापरीक्षण गराई घटीमा ३ वर्षसम्म नाफामा रहेको वाणिज्य बैंकमा कुल लगानी रकमको बढीमा १५ सम्म र सञ्चालनमा आएको ५ वर्ष नपुगेका वाणिज्य बैंकको हकमा औचित्यको आधारमा कुल लगानी रकमको बढीमा ५ प्रतिशतसम्म एउटै वाणिज्य बैंकको मुद्दती निक्षेपमा तथा अल्पकाली लगानीमा लगानी गर्न सकिनेछ । 
त्यस्तै, कम्पनीहरूले विकास बैंकको मुद्दती निक्षेपमा भने कुल लगानी रकमको १५ प्रतिशतमा नबढ्ने गरी लगानी गर्न सकिनेछ । तर, कम्तीमा ५ वर्षसम्म सञ्चालनमा आई आफ्नो हिसाब किताबको नियमित लेखापरीक्षण गराई घटीमा ३ वर्षसम्म नाफामा रहेको विकास बैंकमा कुल लगानी रकमको बढीमा ५ प्रतिशतसम्म र सञ्चालनमा आएको पाँच वर्ष नपुगेका विकास बैंकको हकमा औचित्यको आधारमा कुल लगानी रकमको बढीमा २ प्रतिशतसम्म एउटै विकास बैंकको मुद्दती निक्षेपमा लगानी गर्न सकिनेछ ।
वित्त कम्पनीको मुद्दती निक्षेपमा भने कम्पनीहरूले कुल लगानी रकमको १० प्रतिशतमा नबढ्ने गरी वित्त कम्पनीको मुद्दती निक्षेपमा लगानी गर्न सकिनेछ । तर, कम्तीमा ५ वर्षसम्म सञ्चालनमा आई आफ्नो हिसाब किताबको नियमित लेखापरीक्षण भएको वित्त कम्पनीको आर्थिक अवस्था हेरी कुल लगानी रकमको बढीमा ३ प्रतिशतसम्म र सञ्चालनमा आएको र ५ वर्ष नपुगेका वित्त कम्पनीको हकमा औचित्यको आधारमा कुल लगानी रकमको बढीमा १ प्रतिशतसम्म एउटै वित्त कम्पनीको मुद्दती निक्षेपमा लगानी गर्न सकिनेछ । 
तर, समितिको तथ्यांकअनुसार कम्पनीहरूले विकास बैंकको मुद्दती खातामा आप्mनो कुल लगानीको करिब ९ प्रतिशत लगानी गरेका छन् । अर्थात् २ अर्ब ७३ करोड लगानी गरेका छन् । वित्त कम्पनीमा भने करिब १ प्रतिशत मात्रै लगानी गरेका छन् । 
सरकारी ऋणपत्रमा
समितिको प्रावधानअनुसार निर्जीवन बिमा कम्पनीहरूले जुनसुकै अवस्थामा पनि कुल लगानी रकमको २० प्रतिशतमा नघट्ने गरी नेपाल सरकार र नेपाल राष्ट्र बैंकको ऋणपत्र वा नेपाल सरकारको जमानत प्राप्त ऋणपत्र÷बचतत्रमा लगानी गर्नुपर्ने व्यवस्था गरेको छ । समितिको तथ्यांकअनुसार कम्पनीहरूले चालू आवको पहिलो तीन महिनाको अवधिमा यस्तो क्षेत्रमा ८० करोड १३ लाख रुपैयाँ लगानी गरेका छन् । यो रकम कुल लगानीको करिब साढे दुई प्रतिशत मात्रै हो । 
अग्राधिकार सेयरमा लगानी
समितिको प्रावधानअनुसार कम्पनीहरूले वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीहरूको अग्राधिकार सेयरमा (साधारण सेयरमा परिणत नहुने), सुरक्षित डिबेन्चर र ऋणपत्रहरूमा लगानी गर्न पाउँछन् । कम्पनीहरूले कुल लगानी रकमको १० प्रतिशतमा नबढ्ने गरी वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीहरूको अग्राधिकार सेयर, सुरक्षित डिबेन्चर र ऋणपत्रहरूमा लगानी गर्न सक्नेछन् ।
तर, यस्तो क्षेत्रमा लगानी गर्दा कुल लगानी रकमको बढीमा ५ प्रतिशतसम्म वा त्यसरी लगानी गरिने बैंक वा वित्त कम्पनीको चुक्ता पुँजीको १० प्रतिशतमध्ये जुन घटी हुन्छ सोभन्दा बढी नहुने गरी लगानी गर्न सकिनेछ ।
समितिको तथ्यांकअनुसार कम्पनीहरूले वाणिज्य बैंकको अग्राधिकार सेयरमा मात्रै लगानी गरेका छन् । सो सेयरमा कम्पनीहरूको लगानी ४९ करोड ५१ लाख रहेको छ । यो रकम कम्पनीहरूको कुल लगानीको करिब साढे १ प्रतिशत हो । 
सेयरमा बजारमा पनि लगानी
निर्जीवन बिमा कम्पनीहरूले पब्लिक लिमिटेड कम्पनीको साधारण सेयरमा पनि लगानी पाउँछन् । समितिको प्रावधानअनुसार कम्पनीहरूले कुल लगानी रकमको १० प्रतिशतमा नबढ्ने गरी पब्लिक कम्पनीको साधारण सेयरमा लगानी गर्न सक्नेछन् । तर, कुनै एउटै कम्पनीको साधारण सेयरमा लगानी गर्दा कुल लगानी रकमको २ प्रतिशतसम्म वा त्यसरी सेयर लगानी गरिने कम्पनीको चुक्ता पुँजीको १० प्रतिशतमध्ये जुन घटी हुन्छ सोभन्दा बढी नहुने गरी लगानी गर्न सक्नेछन् । समितिको तथ्यांकअनुसार चालू आवको पहिलो तीन महिनामा कम्पनीहरूले यस्तो सेयरमा २ अर्ब ८१ करोड लगानी गरेका छन् । यो रकम कुल लगानीको साढे दुई प्रतिशत हो । 
राष्ट्रिय गौरवका क्षेत्रमा २ प्रतिशत लगानी
निर्जीवन बिमा कम्पनीहरूले उत्पादनशिल वा राष्ट्रिय महत्वका क्षेत्रमा पनि लगानी सक्नेछन् । तर, यस्तो क्षेत्रमा भने कम्पनीको आकर्षक कम देखिएको छ । समितिको प्रावधानअनुसार यस्तो क्षेत्रमा (जलविद्युत्, स्वास्थ्य, शिक्षा, पर्यटन र कृषि) कम्पनीहरूले आफनो कुल लगानी रकमको ५ प्रतिशतमा नबढ्ने गरी लगानी गर्न सक्नेछन् । सो कम्पनीहरूले यस्तो क्षेत्रमा जम्मा ७५ करोड ६५ लाख रुपैयाँ मात्र लगानी गरेका छन् । यो रकम कुल लगानी करिब सवा दुई प्रतिशत हुन आउँछ ।

https://www.karobardaily.com/news/insurance/2067

No comments:

Post a Comment