Friday, February 16, 2018

ठूला जोखिम हस्तान्तरण गर्न पुनर्बिमा

नयाँ पत्रिका काठमाडौं, ४ फागुन | फागुन ०४, २०७४

पश्चिमा तथा विकसित देशहरूसँग तुलना गर्ने हो भने नेपालमा बिमा व्यवसाय सुरु भएको धेरै भएको छैन । त्यसैले पनि नेपालीमा बिमा गराउनुपर्छ भन्ने चेतना निकै न्यून छ । यद्यपि करिब ३ वर्षअगाडिको विनाशकारी भूकम्पपछि भने बिमा चेतना ह्वात्तै बढेको छ । बिमा चेतनामा भएको वृद्धिले पुनर्बिमा व्यवसाय पनि बढेको छ । नेपालको पुनर्बिमा व्यवसाय र पुनर्बिमाबारे नेपाल पुनर्बिमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतले यसरी बताए:

जोखिम हस्तान्तरण
जोखिम चारैतिर हुन्छ । विकासले मानिसको जीवनशैली जति सहज बनाइदिएको छ, जोखिम पनि त्यत्ति नै बढाइदिएको छ । त्यसैले मानिसहरूमा आफ्नो सम्भावित जोखिमको अनुमान गरी व्यावसायिक रूपमा स्थापना भएको बिमा कम्पनीहरूलाई आफ्नो जोखिम हस्तान्तरण गर्ने चलन बढ्दै गएको छ । यसरी आफ्नो जोखिम कुनै कम्पनी वा संस्थालाई हस्तान्तरण गर्ने प्रक्रिया नै बिमा हो । बिमा कम्पनीहरूले पनि त्यसरी लिएको वा बहन गरेको आफ्नो क्षमताभन्दामाथिको जोखिम अर्को कम्पनीलाई हस्तान्तरण गर्ने गर्छन् । जसलाई पुनर्बिमा भनिन्छ ।

पुनर्बिमाविना बिमा असम्भव
पुनर्बिमा बिमाको अत्यन्तै महत्वपूर्ण र अनिवार्य पक्ष हो । पुनर्बिमाविना बिमा सम्भव नै छैन । बिमालाई सामूहिक कार्यका रूपमा लिइन्छ । बिमा कम्पनीले धेरै व्यक्तिबाट बिमा शुल्क संकलन गर्छ र जोखिममा परेको व्यक्ति विशेष वा सरोकारवाला पक्षलाई सहयोग गर्छ । तर, कहिलेकाहीँ एकैपटक धेरै व्यक्ति वा सरोकारवाला पक्ष समस्यामा पर्न पनि सक्छन् । भूकम्प, बाढी, पहिरो, महामारीजस्ता प्राकृतिक विपत्तिमा एकैपटकमा धेरैजनाको क्षति पुग्छ । त्यस्तो समयमा परेको दाबी भुक्तानी सहज रूपमा गर्न सकियोस् भनेर पनि बिमा कम्पनीहरूले पुनर्बिमा गरेका हुन्छन् । अधिकांश बिमा कम्पनीले निश्चित दायित्व आफूसँग राखेर अरू दायित्व पुनर्बिमा कम्पनीलाई हस्तान्तरण गरेका हुन्छन् ।
पुनर्बिमा सीधै वा ब्रोकरमार्फत
पुनर्बिमा गर्दा बिमा कम्पनीहरूले सीधै पुनर्बिमा कम्पनीमा गएर गर्न सक्छन् । त्यसैगरी ब्रोकरको माध्यमबाट पनि पुनर्बिमा गर्न सकिन्छ । नेपालमा भने अहिले एउटा मात्रै पुनर्बिमा कम्पनी छ । र, बिमा समितिले नेपाली ब्रोकरको हालसम्म व्यवस्था पनि गरेको छैन । यद्यपि नेपाली कम्पनीहरूले बिदेशी पुनर्बिमा कम्पनीमा पुनर्बिमा गराउँदा विदेशी ब्रोकरमार्फत गराउँदै आएका छन् ।
ऐच्छिक वा सम्झौताबाट पुनर्बिमा
पुनर्बिमा धेरै प्रकारले गरिन्छ । यद्यपि प्रायः पुनर्बिमा ऐच्छिक र सम्झौतामार्फत गरिन्छ । प्रत्येक बिमालेख पिच्छे पुनर्बिमक खोज्दै पुनर्बिमा व्यवस्था मिलान गर्ने पद्धतिलाई ऐच्छिक पुनर्बिमा भनिन्छ । यसका खास विशेषता छन् । यसमा प्रत्येकपटक पुनर्बिमा गर्नुपर्ने हुँदा बिमा कम्पनीले पुनर्बिमा गरिने जोखिमको सम्पूर्ण विवरण पुनर्बिमा कम्पनीलाई बुझाउनुपर्छ । यसबाट पुनर्बिमा कम्पनीले जोखिमको मूल्यांकन गर्ने अवसर पाउँछ । त्यस्तै, पुनर्बिमा गर्दा जोखिम स्वीकार गर्ने–नगर्ने अधिकार पुनर्बिमकमा निहित हुन्छ । बिमालेखको अवधिसँगै पुनर्बिमकको बिमा अवधि सुरु हुने वा समाप्त हुने हुन्छ ।
कम्पनीहरूले सम्झौतामार्फत पनि पुनर्बिमा गर्छन् । यसमा बिमकले बिमाको किसिम र वर्ग पहिचान गर्छ । निश्चित रकमभन्दा बढीको बिमा गर्नुपर्ने भए सम्बन्धित पुनर्बिमा कम्पनीसँग पुनर्बिमा गरिने भनेर सम्झौता गरेको हुन्छ । यस्तो सम्झौता प्रत्येक वर्ष स्वतः नवीकरण हुन्छ । बिमा कम्पनीहरूले पुनर्बिमा नगर्न आवेदन दिए मात्र नवीकरण हुँदैन । यसका पनि आफ्नै विशेषता छन् । यसमा जोखिमपिच्छे पूर्ण विवरण पुनर्बिमकहरूलाई दिइरहनुपर्दैन । सम्झौताको सुरक्षण वार्षिक रूपमा हुने हुँदा कुनै एक बिमालेखको अवधि समाप्त भए पनि सम्झौताको अवधि कायमै रहन्छ र अवधि समाप्त भएको बिमालेख पुनः नवीकरण भए सो स्वतः पुनर्बिमा सम्झौताभित्र समाहित हुन्छ ।
आतंकवादले जन्मायो पुनर्बिमा कम्पनी
११ सेप्टेम्बर २००१ मा अमेरिकाको ट्विन टावरमा आतंककारी हमला भएसँगै विश्व बिमा क्षेत्रमै ठूलो उथलपुथल आयो । तत्पश्चात् विश्वमा आतंकवादबाट हुने सम्भावित जोखिमका लागि छुट्टै सर्त र सुविधासहितका नयाँ बिमा योजना आए । तत्कालीन समयमा नेपालमा पनि सशस्त्र संघर्ष सुरु भएको थियो । तत्कालीन माओवादीले गरेको उक्त संघर्षलाई सरकारले आतंकवादको संज्ञा दियो । सशस्त्र संघर्षका क्रममा ठूलो परिमाणमा धनजनको क्षति हुन थालेपछि नेपालसँग आबद्ध पुनर्बिमा कम्पनीहरूले आतंककारी गतिविधिबाट उत्पन्न हानि–नोक्सानीको जोखिम बहन गर्न अस्वीकार गरे ।
यसले आर्थिक गतिविधिमा समेत ठूलो असर पुग्यो । स्वदेशी पुनर्बिमा कम्पनी नहुँदा उत्पन्न भएको समस्या समाधानका लागि सरकारले निर्जीवन बिमा कम्पनीहरूलाई समेटेर सन् २००४ मा आकस्मिक बिमा कोष स्थापना गरेको थियो । जसमा सरकारले ५ करोड र बिमा कम्पनीहरूले ६ करोड गरेका थिए । पछि सोही कोषलाई नै पुनर्बिमा कम्पनीमा परिणत गरिएको हो । २०१४ नोभेम्बर ७ मा नेपाल पुनर्बिमा कम्पनीको औपचारिक स्थापना भएको हो । जसमा नेपाल सरकारको ४३ दशमलव ५५ प्रतिशत, निर्जीवन बिमा कम्पनीको ३८ दशमलव ३९ प्रतिशत र जीवन बिमा कम्पनी तथा अन्य पब्लिक कम्पनीको १८ दशमलव शून्य ६ प्रतिशत लगानी रहेको छ ।
नेपाली ब्रोकरको व्यवस्था गर्नुपर्छ
नेपालमा स्थानीय ब्रोकर छैनन् । जसका कारण नेपाली बिमा तथा पुनर्बिमा कम्पनीले विदेशी ब्रोकरका माध्यमबाट काम गर्नुपरेको छ । सरकारले पुनर्बिमा कम्पनीलाई मात्रै होइन, बिमा कम्पनीलाई पनि काम गर्ने वातावरण बनाउनु आवश्यक छ । अघिल्लो वर्ष भूकम्प जाँदा मुलुकमा भएको क्षतिको तुलनामा दाबी निकै कम भयो । यसले नेपालमा बिमा भएको सम्पत्तिको हिस्सा निकै कम रहेको देखाउँछ । तसर्थ सरकारले कतिपय बिमालाई अनिवार्य गरेर भए पनि बिमाको वातावरण सिर्जना गर्नुपर्छ । साथै अन्य निकायहरूले सञ्चालन गरेको बिमालाई पनि समितिको दायराभित्र ल्याएर व्यावसायिक बनाउनुपर्छ ।
कहिल्यै नसकिने प्रक्रिया
पुनर्बिमा कहिले पनि नसिकने प्रक्रिया हो । हाम्रोभन्दा सयौँ गुणा क्षमता भएको जिआइसी रीले पनि अन्य कम्पनीसँग पुनर्बिमा गरेका हुन्छन् । त्यसैले नेपालमा पुनर्बिमा कम्पनी स्थापना भयो भन्दैमा पुनर्बिमाबापत बिदेसिने रकमलाई रोक्न सकिँदैन । पुनर्बिमा भनेको जोखिम बाँड्ने प्रक्रिया हो । त्यसैले यसलाई घटाउन सकिन्छ । तर, पूर्ण रूपमा रोक्न भने सकिँदैन ।
तत्काल अर्को रि–इन्स्योरेन्स चाहिँदैन
नेपालमा अहिले एउटा मात्रै पुनर्बिमा कम्पनी छ । अर्को पुनर्बिमा कम्पनी स्थापना गर्ने कुरा पनि उठिरहेको छ । अहिले नै अर्को पुनर्बिमा कम्पनी आवश्यक छ वा छैन भनेर म भन्न सक्दिनँ । तर, हाम्रो बजार सानो छ । त्यसैले यही अवस्थामा अर्को कम्पनी स्थापना गर्नु आवश्यक छ जस्तो लाग्दैन । पहिला यही कम्पनीलाई स्थापित गराउनुपर्छ ।
http://www.enayapatrika.com/2018/02/16/24386/


No comments:

Post a Comment