Saturday, December 5, 2015

जीवन बीमा कम्पनीको नाफा घट्यो

मुना कुँवर

मङ्सिर १९, काठमाडौं । चालू आर्थिक वर्ष २०७२/७३ को पहिलो त्रैमास अवधिमा जीवन बीमा कम्पनीहरूको नाफा औसत ३ प्रतिशतले घटेको छ । बीमा कम्पनीहरूले प्रकाशित गरेको वित्तीय विवरणअनुसार कम्पनीहरूको नाफा औसतमा घटेकोे देखिएको हो । तुलनात्मक रूपमा कम्पनीहरूको व्यापार नै घटेकाले नाफा घटेको हुन सक्ने बीमा समितिको वित्तीय विश्लेषण विभागका उपनिर्देशक दिनेशलाल कुमार कर्णले बताए । उनले भने, ‘गत वैशाख महीनाको गएको भूकम्प तथा जारी मधेशी आन्दोलनले व्यापार प्रभावित भएको छ ।’

चालू आवको पहिलो त्रैमास अवधिमा जीवन बीमा कम्पनीहरूले रू. ११ करोड ७९ लाख नाफा आर्जन गरेका छन् । गत आवको सोही अवधिमा ती कम्पनीहरूले रू. १५ करोड ५६ लाख नाफा आर्जन गरेका थिए । कम्पनीहरूको वित्तीय विवरणअनुसार अधिकांश कम्पनीको नाफा नकारात्मक देखिएको छ । सो अवधिमा लाइफ इन्स्योरेन्स कम्पनी तथा राष्ट्रिय बीमा संस्थाको नाफा उच्च दरले घटेपछि औसत नाफा घटेको देखिएको हो ।
चालू आवमा जीवन बीमा कम्पनीहरूको व्यापार १० प्रतिशतले घटेको समितिका उपनिर्देशक कर्णले बताएका छन् । यसले कम्पनीहरूको नाफामा प्रत्यक्ष असर पारेको छ । उनले भने, ‘जारी मधेशी आन्दोलनका कारण कम्पनीहरूले तराई क्षेत्रमा गर्दै आएको व्यवसाय ८० प्रतिशतले घटेको छ ।’ त्यस्तै यो वर्ष बीमा समितिले जीवन बीमा कम्पनीहरूको व्यवस्थापन खर्चमा समेत कटौती गरेको छ । खर्च कटौतीले नाफा बढ्न सक्ने भए तापनि अभिकर्ताहरूको आम्दानी भने घट्ने भएको छ । फलस्वरूप अभिकर्ताहरूको असन्तुष्टिले पनि व्यापार घटेको हुन सक्ने उनको अनुमान छ ।
चालू आवको पहिलो त्रैमास अवधिमा नेपाल लाइफ इन्स्योरेन्स कर्पोरेशनको नाफा रू. १ करोड ६५ लाख पुगेको छ । यो रकम गत आवको सोही अवधिको तुलनामा ७८ प्रतिशतले बढी हो । उक्त अवधिमा कम्पनीको खर्चभन्दा आम्दानी धेरै देखिएको छ । कम्पनी रू. २ करोड ८० लाख आम्दानी गर्न सफल भएको छ भने कम्पनीको खर्च रू. १ करोड १५ लाख रहेको छ । कम्पनीको खर्च २३ प्रतिशतले वृद्धि भएको छ भने आम्दानी ५० प्रतिशतले बढेको छ ।
त्यस्तै, प्राइम लाइफ इन्स्योरेन्स कम्पनीको नाफा ५६ प्रतिशतले बढेको छ । कम्पनीले रू. २ करोड ६४ लाख नाफा आर्जन गरेको छ । यो रकम गत आवको सोही अवधिको तुलनामा ५६ प्रतिशत बढी हो । त्यस्तै, एशियन लाइफ इन्स्योरेन्स कम्पनीको नाफा गत आवको सोही अवधिको तुलनामा ४१ प्रतिशतले बढेर रू. १ करोड १० लाख पुगेको छ ।
नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको नाफा भने सबैभन्दा धेरै ६४ प्रतिशतले घटेको छ । यो अवधिमा कम्पनीको नाफा रू. १ करोड ६४ लाखमा नै खुम्चिएको छ । कम्पनीले ठूलो रकम सम्पत्ति तथा कर्जामा खर्चिएको छ । त्यस्तै, कम्पनीले खर्चको दर घटाएको छ भने आम्दानीसमेत घटेको छ । त्यसैले पनि नाफा ऋणात्मक देखिएको हो ।

 

No comments:

Post a Comment